‘पैदलयात्री र साइकलयात्रीकाबारेमा विधेयकले बोल्नुपर्छ कि पर्दैन ?’

news

काठमाडौं, साउन २९ । राष्ट्रियसभाको बैठकले ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्था) प्राधिकरण विधेयक २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बुधबारको बैठकमा प्रस्तुत गरेका थिए ।

यसअघि, बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं उपत्यकाभित्रका सार्वजनिक यातायातलाई व्यवस्थित एवं थप सुधार गर्न ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्था) प्राधिकरण विधेयक २०७६’ ल्याइएको स्पस्ट पारेका थिए ।

सो विधेयकको सैद्धान्तिक छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले प्रस्तावित प्राधिकरणको प्रमुख राजनीति नियुक्ति नहुने स्पस्ट पारे ।

यस प्रकारका विधेयक पोखरा, विराटनगर, भरतपुर र वीरगन्ज महानगरपालिकाभित्रका सार्वजनिक यातायातलाई व्यवस्थित गर्न आउने जानकारी मन्त्री महासेठले दिए ।

‘वातावरणमैत्री ३०० बस उपत्यकाभित्र आउन लागेको छ । बस अपांग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुनेछ’–उनले भने ।

विधेयकको सैद्धान्तिक छलफलमा सांसद राधेश्याम अधिकारीले काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्था) प्राधिकरण विधेयक अधुरो र अपूरो भएकाले फिर्ता लिन सरकारसित आग्रह गर्दै विधेयकले सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न नसक्ने बताए ।

सांसद बद्री पाण्डले विधेयक निर्माणमा सरकारको कौशलता नदेखिएको, राष्ट्रिय यातायात नीति नआइ विधेयक आउँदा कार्यान्वयनमा समस्या आउने चर्चा गर्दै विधेयक सच्याएर ल्याउन माग गरे ।

सांसद रामनारायण बिडारीले पैदलयात्री र साइकलयात्रीकाबारेमा विधेयकले बोल्नुपर्छ कि पर्दैन ? भन्ने प्रश्न गर्दै विधेयक आउनु सकारात्मक रहेको टिप्पणी गरे ।

सांसद उदया शर्मा पौडेलले देशभरका सार्वजानिक यातायात व्यवस्थापन गर्नुपर्ने खाँचो औंल्याउँदै विधेयकको कार्यक्षेत्र सीमित भएकामा विचार गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद कोमल ओलीले सार्वजनिक यातायात निजी क्षेत्रको पहुँचमा भएको हुँदा सरकारले नियमन र अनुगमनमात्र गर्नुपर्ने बताइन् ।

सांसद प्रकाश पन्तले विधेयक विधेयकजस्तो नभइ कार्यविधिकारुपमा आएको चर्चा गर्दै प्रदेश र स्थानीय निकायबीचमा विधेयकले समन्वय गर्न नसक्ने बताए ।

सांसद जितेन्द्रनारायण देवले विधेयक संविधानविपरीत भएको हुँदा फिर्ता लिन सरकारसित माग गरे ।

सांसद डा. विमला राई पौडेलले विधेयकको भावना राम्रो भएपनि धेरै परिमार्जन आवश्यक रहेको सुझाव दिइन् ।

सांसद कालीबहादुर मल्लले सार्वजनिक यातायातमा हवाई उड्डयनमाजस्तै विशिष्ट व्यक्तित्वलाई सिट छुट्याउन माग गरे ।

राष्ट्रियसभाको अर्को बैठक आगामी भदौ ४ गते बुधबार बिहान ११ः०० बजे बस्नेछ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...