नयाँ धरहरा बनाएर इतिहास नमेट्न चेतावनी

news

काठमाडौं, साउन २९ । विनाशकारी ‘गोरखा भूकम्प’ले ढालेको भीमसेन धरहराको पुनःनिर्माण गर्नुको सट्टा नयाँ धरहरा बनाएर इतिहास मेट्न खोजेको भन्दै ‘सम्पदा बचाऊ’ अभियन्ताहरुले बुधबार सुन्धारामा प्रदर्शन गरेका छन् ।

नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले बनाएको धरहराको पुनःनिर्माण नगरी फरक ठाउँमा २२ तल्ले ‘झिल्के टावर’ बनाउन लागिएको सम्पदा पक्षधरको आरोप रहेको छ ।

नयाँ धरहरा बनाएर इतिहास नमेट्न चेतावनी दिँदै प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो ।

प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमासमेत लिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष इच्छामा भूकम्पले ढालेको धरहरालाई त्यत्तिकै राखेर केही पर नयाँ धरहरा निर्माण गरिँदैछ ।

सम्पदाप्रेमीहरुले भने भीमसेन धरहरा मासेर प्रधानमन्त्री ओलीले आफ्नो नाम रहनेगरी नयाँ धरहरा बनाउन लागेको आरोपसमेत लगाएका छन् ।

उनीहरुले भीमसेन धरहरा रहेकै स्थानमा पुरानै शैलीमा भूकम्पप्रतिरोधी धरहरा बनाउनुपर्ने माग गरेका छन् ।

साथै, सोही स्थानमा भूकम्प स्मारक बनाउनुपर्ने मागसमेत सम्पदाप्रेमीहरुको रहेको छ ।

व्यापारिक प्रयोजनका लागि २२ तल्ले टावर निर्माणबाट काठमाडौंका मौलिक र परम्परागत् सम्पदाहरुको पहिचानमा आँच पुग्ने दाबी पनि स्थानीयको रहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...