निक्षेपकर्ताको भावना सम्बोधन गर्न खोजेका हौं : गभर्नर नेपाल

news
तस्वीरः रोशन सापकोटा/रासस ।

काठमाडौं, साउन २९ । नेपाल राष्ट्र बैंकले जनताको निक्षेप सुरक्षित गर्न र विभिन्न कोणबाट आएका प्रश्नलाई सम्बोधन गर्नेक्रममा ऐनको परिधिभित्र रहेर बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी प्रमुखको उमेरहदसम्बन्धी विषय अघि सारिएको जानकारी दिएको छ ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिमा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले ९२ प्रतिशत निक्षेपकर्ताको भावनालाई सम्बोधन गर्न बैंक तथा वित्तीय संस्थाका सन्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको योग्यता र सेवा अवधिकाबारे निर्णय लिएको जानकारी दिए ।

राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको शैक्षिक योग्यतालगायत आधार तोक्ने, नियमन र सुपरिवेक्षण अधिकार रहेको बताउँदै उनले निजामती, स्वास्थ्य, न्याय, संवैधानिक आयोगको पदाधिकारीको सेवा अवधि र उमेरका आधारमा निकै लामो छलफलपछिमात्र बैंकको अध्यक्षको ७० र प्रमुख कार्यकारी अधिकृतको ६५ कायम गर्ने निर्णय भएको बताए ।

मुलुकका बैंकमा अहिले रु ३२ खर्ब ३५ अर्ब जनताको निक्षेप रहेको जानकारी दिँदै उनले ‘त्यसमध्ये केवल ८.६ प्रतिशतमात्र सेयर बैंक सन्चालक सदस्यको रहेको छ’–भने ।

सन्चालक समितिका पदाधिकारी निकै वृद्ध र कार्यकारी अधिकृतको बढी कार्यकाल हुँदा आउनसक्ने जोखिम र अपचलनको पाटोलाई हेक्का राखेर परिचयपत्र गर्ने कार्यअघि बढाइएको सो अवसरमा जानकारी दिइयो ।

गभर्नर नेपालले भने–‘अहिले हामीले सुनिरहेको आवाज ८ प्रतिशतकोमात्रै हो । विगतमा १६ ओटा संस्था समस्याग्रस्त हुँदा अध्यक्ष र कार्यकारी अधिकृतको गलत क्रियाकलापका कारण रु १७ अर्ब अपचलन भएर समस्या खेप्नुपरेको घटनालाई आधार बनाएर निक्षेपकर्ताको पैसा सुरक्षित राख्न यो निर्णय लिएका हौं ।’

धितोपत्र कारोबार सन्चालन गर्न राष्ट्र बैंकसँग १९ ओटा बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी सन्चालन गर्न स्वीकृति लिइसकेको जानकारी दिँदै उनले भने–‘७५३ स्थानीय तहमध्ये ७३५ स्थानमा बैंक तथा वित्तीय संस्था पुगिसकेको हुँदा ती स्थानमा धितोपत्र कारोबार गर्नसक्ने संस्था र व्यक्तिलाई सहायक कम्पनी खोल्न दिँदा सेयर मार्केट विस्तार हुँदै जान्छ भन्ने हाम्रो सोच हो ।’

अर्थ मन्त्रालयका सचिव राजन खनालले ‘दैनिक कारोबार, सूचीकृत संख्यालाई विश्लेषण गर्दा पुँजीबजार क्षेत्रले स्थायित्व कायम गरिरहेको प्रस्ट झल्कन्छ’–भने ।

धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पछिल्लो समय धितोपत्र बजार क्षेत्रमा सुधारमात्र होइन, निकै ठूलो परिवर्तन आएको बताए ।

अहिले धितोपत्र बजारमा लगानीकर्ताको संख्या झन्डै १६ लाखको हाराहारीमा पुगेको जानकारी दिँदै उनले बैंकले आकर्षक ब्याज प्रदान गरेका कारण सेयरबजार क्षेत्रमा जोखिम मोलेर लगानी गर्न डराएका कारण सेयरबजार प्रभावित भएपनि धेरै उतार–चढाव नभएको बताए ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले गत आर्थिक वर्ष २०७५/७६ मा दैनिक ४४ करोड ७४ लाख बराबरको सेयर कारोबार भएको, बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब पुगेको तथा बजारमा सूचीकृत भएका कम्पनीको संख्या २१५ पुगेको जानकारी दिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...