प्रदेश नं. ५ : नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल बम प्रहार

news

बुटवल, साउन ३१ । प्रदेश नं. ५ प्रदेशसभाका नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको बुटवलस्थित घरमा गएराति पेट्रोल बम प्रहार भएको छ ।

ढकालको घरमा तीनवटा पेट्रोल बम प्रहार हुँदा एउटा गाडीमा क्षति पुगेको बताइएको छ । सैनामैना–८ रामापुर कलौनीमा रहेको घरमा ढकालकी श्रीमती, बुवा र आमा थिए । प्रमुख सचेतक ढकाल भने घरमा थिएनन् ।

केही दिन यता बिरामी भएका ढकाल काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचाररत छन् ।

ढकाल सुत्ने कोठासम्मै बम प्रहार भएको प्रहरीले जनाएको छ । विष्फोटबाट मानवीय क्षति भने भएको छैन ।

पाँचवटा बम प्रहार भएकोमा दुईवटा बम नपड्किएको प्रहरीले जनाएको छ । गाडीमा भने पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ ।

मोटरसाइकलमा आएका तीन जनाले बम हानेर भागेको प्रहरीले जनाएको छ । छिमेकीहरु जुटेर तत्काल आगो निभाएका थिए । जिल्ला प्रहरी प्रमुख एसपी हृदय थापासहितको प्रहरीको टोलीले राति नै घटनास्थल पुगेर निरीक्षण गरेको थियो ।

त्यसक्रममा पेट्रोल र मट्टीतेल भरिएका बम फालेका र विस्फोट नभएका अवस्थामा बोतल फेला परेका थिए । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...