‘जलस्रोतमा कब्जा जमाउने भारतको रणनीति’

news

काठमाडौं, भदौ २ । विभिन्न क्षेत्रका व्यक्तिहरुले नेपालमा भारतको मुख्य चाहना जलस्रोतमाथि कब्जा जमाउनु भएको आरोप लगाएका छन् ।

सोमबार राजधानीमा पुष्पलाल मित्रता केन्द्रले गरेको एक कार्यक्रममा उनीहरुले भारत नेपालको जलविद्युत्मा निर्भर नरहेको र यहाँको जलविद्युत्को विकास उसको प्राथमिकता नभएको भन्दै जलस्रोतमा कब्जा जमाउने रणनीति भारतको रहेको बताए ।

वक्ताहरुले दुईतिहाइको वर्तमान सरकारले राष्ट्रहितविपरीतका जलविद्युत् सम्झौताहरु खारेज गर्नुपर्नेमा ‘भारतीयबाटै चुनाव खर्च लिएर नुनको सोझो गर्नेहरुको सरकारमा हालीमुहाली’ रहेको आरोप पनि लगाए ।

जलस्रोतविद् डा. द्वारिकानाथ ढुंगेलले नेपालको जलस्रोत र सुरक्षामाथि कब्जा गर्नेबाहेक भारतको अरु स्वार्थ नरहेको जिकिर गरे ।

सत्तारुढ दल नेकपाका नेता भीम रावलले सिंगो राज्य प्रणाली नै अहिले विदेशी कम्पनीले चलाएको भन्दै ‘जुम्लाजस्तो ठाउँमा प्रतियुनिट बिजुलीको १०० रुपैयाँ पर्ने डिजेल प्लान्ट राखेर समाजवाद आउँदैन’–भने ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने ‘महाकाली सन्धि’को बचाउ गर्दै राष्ट्रिय हितको ध्यान दिँदै जलविद्युत् परियोजनाहरु ल्याउनुपर्नेमा जोड दिए ।

यस्तै, क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले माथिल्लो कर्णाली जलविद्युत् परियोजना टाट पल्टेको ‘जीएमआर’लाई दिएको भन्दै अब फेरि उक्त कम्पनीको म्याद थपिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...