कर्मचारी कुटपिट गर्ने नगर प्रमुखमाथि कारवाहीको माग गर्दै चक्काजाम

news

लहान । कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारीलाई कुटपिट गरेको भनी विरोधस्वरुप स्थानीयवासीले आइतबार बिहान पूर्वपश्चिम राजमार्गस्थित सिरहा बस्तीपुरमा चक्काजाम गरेका छन् ।

नगर प्रमुख पासवानलाई जबर्जस्ती काम गर्न दबाब दिँदै नगरपालिकाका कर्मचारी बलिराम यादवमाथि कुटपिट तथा दुव्र्यवहार गरेको आरोप लागेको छ ।

स्थानीयवासीले बिहान ८ बजेदेखि आधा घण्टा चक्काजाम गरेका हुन् । चक्काजामका कारण पूर्व र पश्चिमबाट आएका सवारी साधन बाटामै रोकिएका थिए ।

स्थानीयवासीले चक्काजाम गरेपछि इलाका प्रहरी कार्यालय मिर्चैया र कर्जन्हाबाट खटिएको प्रहरी टोलीले हस्तक्षेप गरी बाटो खोलाएको थियो ।

नगरपालिकाले खरिद गरेको माटो खन्ने जेसिबी गाडीको भ्याट बिलविना नै भुक्तानीका लागि कागजपत्र तयार पार्न भनेको र नमानेका कारण आफूमाथि नगर प्रमुखले कुटपिट गरेको नगरपालिकाका जिन्सी तथा प्रशासन शाखा प्रमुख यादवले आरोप लगाए ।

नगर प्रमुख पासवानलाई कारवाही गर्नुपर्ने मागसहित आफूहरुले चक्काजाम गरेको स्थानीयवासी तथा नयाँ शक्ति पार्टीका नेता प्रभात महतोले जानकारी दिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...