प्रधानमन्त्री ओलीसित भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

news

काठमाडौं, भदौ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीसित भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन् ।

बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भेटमा दुई देशबीचको फराकिलो सम्बन्धलाई थप उचाइमा लैजानुपर्नेमा जोड दिइएको जानकारी दिए ।

राजनीतिक स्थायित्वसँगै नीतिगत स्थायित्वमा जोड दिइएको डा. भट्टराईले बताए ।

भेटमा भारतीय विदेशमन्त्री जयशंकरले दुई देशबीच राजनीतिक तहमा विश्वासको वातावरण मजबुत् बनाउनुपर्नेमा जोड दिएका थिए ।

उनले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध रहेको र यसलाई नयाँ उचाइमा लिएर जाने जनाएको डा. भट्टराईले बताए ।

जवाफमा प्रधानमन्त्री ओलीले पारस्परिक विश्वासको वातावरण बनेको तथा नेपालको विकास प्रयासलाई केन्द्रमा राखेर आफूले देशलाई समृद्धिको मार्गमा उन्मुख गराइरहेको बताएका थिए ।

भारतीय विदेशमन्त्री जयशंकर दुईदिने औपचारिक भ्रमणकाक्रममा बुधबारै काठमाडौं आइपुगेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन उनी बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएका हुन् ।

सो बैठक बिहीबारसम्म चल्नेछ ।

भारतमा नयाँ सरकार गठन भएपछि भारतीय विदेशमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसित भारतीय विदेशमन्त्री जयशंकरले बिहीबार बिहान शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...