अवैधरुपमा राखिएका ९ बालबालिकाको उद्धार, यौनशोषणसमेत हुने गरेको खुलासा (भिडियो)

news

गृष्मा राजभण्डारी र राजेन्द्र नापित (इमेज)

काठमाडौं, भदौ ४ । नेपालमा सन्चालित बालगृहहरुमा बारम्बार सम्बन्धित निकायहरुले छापा मार्ने र उद्धार गर्ने गरेका छन् ।

तर, मापदन्डअनुरुप बालगृहहरु खोल्ने तथा मापदन्ड अनुगमन गर्ने काम अझै हुन सकेको छैन ।

जसका कारण बालबालिका पढाइका नाममा दुर्व्यवहार र यौनशोषणको शिकार हुने गरेका छन् ।

काठमाडौंको बाफलस्थित नागर्जुन नगरपालिका वडा नम्बर–४ मा रहेको एक घरबाट अनाधिकृतरुपमा राखिएका ९ जना बालबालिकालाई उद्धार गरिएको छ ।

नेपाल बालकल्याण समिति र बालबालिका खोजतलास समन्वय केन्द्रको रोहबरमा प्रहरीले उनीहरुको उद्धार गरेको हो ।

नमुना प्रगतिशील महिला समाजको बोर्ड राखी पाँच बालिका र चार बालकलाई गत फागुनदेखि यस घरमा राखिएको थियो ।

सानो कोठा, कोठाभित्र बालबालिकाहरुको सुत्ने एउटै खाट अनि अस्तव्यस्त सामान । खानपानका लागि न कुनै व्यवस्था ।

त्यतिमात्र होइन, यहाँ रहेका बालबालिकामाथि यौनशोषणसमेत हुने गरेको नेपाल बालकल्याण समितिका संरक्षण अधिकृत सुनिता शाह बताउँछिन् ।

सुरुमा सडक बालबालिका राख्न केन्द्रीय बालकल्याण समितिबाट स्वीकृति लिइ सन्चालन गरिएको यो संस्थाले आर्थिक अभावका कारण बन्द गरिएको जानकारी समितिलाई गराएको थियो ।

सोही संस्थामा कोपिला कुँवर नामकी महिलाले दुर्गम जिल्ला कालीकोट, जुम्ला र बर्दियाबाट बालबालिका ल्याइ अनाधिकृतरुपमा राखेको पाइएको छ ।

यो बालगृहका सन्चालक प्रताप रानामगर रहेका छन् । बालिकाहरुले सन्चालक मगरले यौनशोषणसमेत गर्ने गरेको बताएका छन् ।

सन्चालक मगर भने आफूमाथिको आरोप निराधार रहेको बताउँछन् ।

विस्तृत अनुसन्धान गरी सन्चालकमाथि हदैसम्मको कारबाही गरिने बालबालिका खोजतलास समन्वय केन्द्रका प्रमुख प्रहरी निरीक्षक मोहनविक्रम दाहालले बताए ।

उद्धार गरिएका बालबालिकालाई विभिन्न संघ–संस्थामा राखिने नेपाल बाल कल्याण समितिले जनाएको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...