चार वर्षमा पनि निर्माण सम्पन्न भएन चाबहिल–साँखु सडक, एकार्कालाई दोषारोपण

news

काठमाडौं, भदौ ७ । मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छाउने, ढल व्यवस्थापन एवं सडक विस्तार गर्ने नाममा लामो समयसम्म निर्माण सम्पन्न नभएको सडकखन्डमध्ये एक हो, चाबहिल–साँखु सडकखन्ड ।

साढे १२ किलोमिटरको यो सडकखन्डको दूरावस्था भएको वर्षौं भयो ।

विभिन्न समयमा मन्त्री, सचिवसहित उच्च अधिकारीहरुले अनुगमन गरिरहे । निर्माण सम्पन्न गर्ने आश्वासन स्थानीयलाई दिँदै आए । तर, अवस्था ज्यूँका त्यूँ नै छ ।

स्थानीयले धेरैपटक सरकारको ध्यानाकर्षण गराए । धुलो र हिलोका कारण आजित सर्वसाधारणले विरोध गर्न बाध्य भए । तर, समाधान हालसम्म पनि भएको छैन ।

स्थानीयको अवरोध र विरोधपछि केही समयअघि बौद्धसम्म बाटो त बन्यो तर वर्षायाम सुरु भएलगत्तै गरिएको ‘पिच’ केही समयमै चिरा–चिरा भए ।

यो सडकको अवस्था पुरानै अवस्थामा फर्किएको छ भने स्थानीयको सास्ती पनि पहिलेकै अवस्थामा पुगेको छ ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले यो सडकखन्डको अनुगमन गर्दा स्थानीयको माग पहिलेकोजस्तै रह्यो, ‘सडक छिटो बनाइदिनुपर्‍यो । हामी आजित भयौं ।’

सडक अनुगमन र स्थानीयसँगको छलफलपछि समिति सभापति कल्याणी खड्काले सो सडकखन्डका आयोजना प्रमुख र ठेकेदारलाई स्थानीयको माग बुझेर तत्काल समस्या समाधान गर्न निर्देशन दिइन् ।

यो सडकखन्डमा भएका विद्युत्का पोलको व्यवस्थापन तथा खानेपानीका लागि खनिएका खाल्डाहरु तत्काल पुर्न उनले निर्देशन दिइन् ।

यो सडकखन्डलाई विभिन्न पाँच खन्डमा विभाजन गरी छुट्टाछुट्टै निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको छ ।

चाबहिलदेखि बौद्धसम्म सडक बनाएपनि पानी निकासको कुनैपनि व्यवस्था गरिएको छैन ।

यस्तै, बौद्धदेखि जोरपाटीको क्षेत्रमा विभिन्न घरको मुआब्जा नमिलेका कारण सडक विस्तारको काम रोकिएको छ । ढल व्यवस्थापनका लागि भनेर खनिएका ठूला खाल्डाहरु छन् ।

साँखु शंकरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले सडक निर्माणको काम समयमै सम्पन्न गर्न एकीकृतरुपमा काम गर्नुपर्ने बताए ।

सो क्षेत्रमा स्थानीय तहलाई नै अधिकार दिए आफूहरुले नै समस्या समाधानको उपाय खोज्ने उनले बताए ।

सडक विस्तार आयोजना प्रमुख अर्जुन अर्यालले भने स्थानीयको अवरोधले समयमै काम सन्पन्न हुन नसकेको दाबी गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...