नैतिकताको कसीमा माधव नेपालको घटुवा

news

-सन्जिव कार्की 

कुनै समय बैंकको सामान्य खजान्ची माधव नेपाल समयक्रममा यो देशको सर्वोच्च र कार्यकारी पद प्रधानमन्त्रीमा बिराजमान हुनपुगे । प्रधानमन्त्रीमा चिट्ठा परेर या कसैको निगाहमा पुगेका हैनन भलै निगाह ,टीका बक्सीमा पनि प्रधानमन्त्री पद पाँउ भनेर दरबारको दैलोमा तत्कालीन राजा ज्ञानेन्द्र सामु बिन्तिपत्र माधव कमरेडको नामबाट नखसेको भने होईन । तर उनी जतिबेला प्रधानमन्त्री बने त्यो उनको स्वआर्जन हो ।

बर्षौ वर्षको त्याग, तपस्या ,वलिदान, समर्पण र निरन्तरताको फल प्राप्ती हो । प्रश्न यो हो प्रधानमन्त्री बन्नु इतिहासमा नाम प्रधानमन्त्री भएको थियो भनेर लेखाउनका लागि मात्रै थियो कि प्रधानमन्त्री बनेर गरेको अविस्मरणीय कामको रूपमा जन जनमा चिनिनु पनि हो ? औसत प्रधानमन्त्री झैं माधव नेपाल पनि प्रधानमन्त्रीसम्म भएका हुन इतिहास प्रभावित पार्ने कुनै जोग संजोगपूर्ण कार्य गरेर नाम स्वर्ण अक्षरमा लेखाउन सकेनन् । मदन भण्डारीको असामयिक देहावसान पछिको नेकपा एमालेको शक्तिशाली महासचिव बन्नु चै यिनका लागि चिट्ठा समान नै हो भन्दा अतिशयोक्ती मानिदैन सायद । मदन भण्डारीको जीप दुर्घटनामा दुःखद निधन भएको सिधा र प्रत्यक्ष फाइदा यिनकै पोल्टामा पर्‍यो तसर्थ नेकपा एमालेको शक्तिशाली महासचिवको रूपमा १५ वर्ष यिनले पार्टी सत्ता र राज्य सत्ताको बागडोर हातमा लिन पाए ।

माधव नेपाल त्यस्ता भाग्यमानी पात्र हुन जसले दुई दुई ठाँउबाट चुनाव हारेर पनि, आफ्नो पार्टीको प्रमुख नेता नभएर पनि, पार्टी तेस्रो  र खुम्चिएको अवस्थामा पनि संसदमा प्रत्यक्ष चुनाव नजितेर, मनोनित हुँदै, मनोनीत पनि आफ्नो पार्टीको जोड बलमा होईन विपक्षी प्रचण्ड र गिरिजाको गठजोडमा भएर, आफुलाइ मनोनित गर्ने प्रमुख पात्रलाई नै अपदस्तको शैलीमा प्रधानमन्त्री पद पनि आफ्नो पार्टीको भित्री सहयोग र समर्थनमा नभएर दिबंगत गिरिजाप्रसादको दाहिने हात भएर हत्याउने दुर्लभ नेता हुन ।

नेपाल प्रधानमन्त्री बन्दा ओली, झलनाथ होइन गिरिजाप्रसाद र माधवको आंत मिलेको थियो । धेरै किसिममा संजोग अपवाद र उदाहरण बोकेर नेपाली राजनीतिमा माधव नेपाल छन् । अरुण तेतेस्रो  बन्न नदिने खलनायकको रुपमा पनि तत्कालीन महासचिवको हैसियतले माधव नेपालले विश्व बैंकलाई लेखेको चिट्ठी भनेर राजनीतिमा लागेको एक खतरनाक आरोप हो । अलि पहिल्यै रौतहटको उपचुनाव जहाँ नेपाल विजयी भएरपछि त्यो स्थान रिक्त गराएर उपचुनाव भएको थियो त्यहाँ नेपाली काङ्ग्रेसको उम्मेद्बारको रूपमा प्रत्यासी वीपी पुत्र प्रकाशलाई भोट माग्न पुगेकी चर्चित अभिनेत्री मनिषा कोइरालालाई गरेको अति छुद्र लान्छना र टिप्पणी पनि माधव नेपालको संकीर्ण पाटो बुझ्ने एक घटनाको रूपमा त्यतिबेला चर्चित थियो । आफ्नो पदीय हैसियत र मर्यादा भन्दा तल झरेर बोल्ने ब्यक्तिको चिनारी यिनको बनेको थियो । एक नेपाली चेली जसले कला क्षेत्रमा भारतमा धमका मच्चाएकी थिइन उनको अपराध आफ्ना बाबुको लागि भोट माग्न माधव नेपालको निर्वाचन क्षेत्र रौतहट जानु थियो । त्यतिबेला आज जस्तो शसक्त महिला अधिकार र स्वतन्त्रताको बारेमा बोल्ने मान्छे कमै थिए । नत्र महिलाको अपमान र कलाकारिताको मान मर्दनको मुद्दा नेपालको लागि लगाउन प्रशस्त आधार र सबुत थियो ।

भलै त्यतातिर कसैको ध्यान गएन मनिषा कोइरालाले सहजै पचाइदिइन तर माधवको तल्लो स्तरको छुद्रता वुद्दिजिवी राजनीतिक विश्लेषकहरुले नोटिस गरेको विषय आज पर्यन्त उचालिन्छ समय समयमा । आफ्ना अर्का सहकर्मी र आन्तरिक प्रतिस्पर्धी झलनाथ खनालको अर्को ब्यक्तिगत आरोप र लान्छना पनि माधवको परिचयको अर्को पक्ष हो । कमरेड झलनाथले नेपालको नाममा खरिद गरेको हालको कोटेश्वर नेपाल निवासमा आफ्नो पनि हकदावी र लगानी रहेको तर माधवले विश्वासघात गरेको र एकलौटी पारेको कारण आफू अन्यायमा परेको आर्थिक भ्रष्टाचार गरेको आरोप पनि पत्र पत्रिकामार्फत सार्वजनिक भएको तथ्य हो । नेपाल सानो चित्त र संकुचित सोच भएका नेताको रूपमा कार्यकर्ता माझ परिचय बनाएका लघुचित्ते पात्र हुन ।

आफूले पार्टी महासचिवको पद लिंदा उदाउँदो शक्तिशाली एमालेलाई २०५१ सालको मध्यावधि निर्वाचनमा पहिलो पार्टी , बिभाजनको संगिन आरोप र दोषको भागीदार पनि नेपालको भागमा छ । पार्टी पुनः एकीकरण र २०६४ सालको संबिधान सभाको चुनावमा आफू दुई दुई ठाँउबाट पराजित र पार्टी सर्मानक हारको नैतिक जिम्मेवारी पनि उनको जीवनको आरोह अवरोह हो ।

निर्लज्ज पराजयको दोष आफुले लिएर महासचिवको जिम्मेवारीबाट हट्ने उनको निर्णय र सुझवुझलाई तत्कालीन परिस्थितिमा नैतिकताको उदाहरण भनेर चर्चा समेत नभएको र प्रशंसा समेत नगरिएको होइन । यद्यपि चुनाव उनको पार्टी उनले मात्रै हारेका होइनन् सधैं प्रथम हुने काङ्ग्रेसको पनि हविगत उस्तै थियो । तत्कालीन माओवादी दवदवा सामु काङ्ग्रेस–एमाले निरीह थिए । रुझेको मुसो झै बनेका थिए । श्रीहिन अनुहार लिएर बाँचेका थिए । माधव नेपालले नैतिकता देखाए त्यो प्रसंसाको सन्दर्भ थियो । नैतिक उचाईमा पुगेका नेपाल प्रधानमन्त्री हुँदा प्रधानमन्त्री बन्न जसरी पुगे त्यसपछि यिनको नैतिकता ओरालो लाग्यो । जनमत र प्रजातान्त्रिक पद्धतिको उपहास गर्दै मनोनीत भएर संसदमा जान लजाएनन् । त्यत्रो अनुभव भएको एक परिपक्व नेताले त्यो पद लोलूपता नदेखाउनु पर्दथ्यो । संसद हुने त्यो नै अन्तिम र पहिलो अवसर र मौका थिएन । प्रतीक्षा गरेपछि पार्टी जीवनमा अरु पनि चान्सहरु आउछन् , आउथे ।

जुन चुनावमा दुई ठाँउबाट जनताले अस्विकार गरेर मुल ढोकाबाट संसद छिर्न जनताले छेके तर अर्को बाटो अर्थात जस्केलो प्रयोग गरेर उनी संसद पसे । आग्रह अनुरोध जसको भए पनि उही कार्याकालको लागि जनानुमोदन नपाएका माधव नेपाल नेता अनुमोदन पाएर नैतिकता खुइल्याएर संसद गए र प्रधानमन्त्री समेत बने त्यो उनको संजोग र भाग्य थियो जनताको थिएन । देश हितमा भएन । पद्धति र रिति निर्माण मा आएको अवरुद्धता र विकृति थियो । समानुपातिक कोटाको दुरुपयोग नमुना र आरम्भका जिवन्त पात्र हुन कमरेड नेपाल । त्यसैले समानुपातिक निर्वाचन प्रणाली र कोटा बदनाम छ । यसको बद्नामीको श्रेय माधवको थाप्लोले पनि बोक्नुपर्छ ।

आज पनि समानुपातिक र समावेशी कोटा बदनाम यसकारण पनि छ । समावेशीमा कसैले सम्धी सम्धिनी भेटको सौगात पाएका छन् । छोरी बुहारीलाई दाइजो पेवा र कोसेली हालिदिएका छन् । प्रेमिकाको लागि सर्प्राइज गिफ्ट दिएका छन । अनि समावेशी बनाउने नाउँमा योग्यता र क्षमतालाई पन्छाएर लिङ्ग ,रङ्ग , जात ,भूगोल अनि शारीरिक दुर्वलता , न्यायिक निष्ठा भन्दा पार्टी निष्ठालाई शहानुभूतिपुर्ण नजर राख्ने मात्रै विषय विज्ञ बन्न पाएका छन् । न्यायाधीश बन्ने योग्यता राख्छ्न । जुन सरासर समावेशीताको नाममा लूट भएको छ । जसको मतियार प्रमुख राजनीतिक दल र तिनका प्रमुख लिडरहरु हुन ।

नेपाल पार्टी प्रमुख हुँदा विपक्षीको आरोप नारा र तारो यस्तो थियो ‘नेकपा एमाले, न पोथी न भाले’ माधव कमरेडले नेतृत्व गरेको एमालेको ढुलमुले नीति, चरित्र र  अवसरवादी रणनीतिको कारण यो आरोप लागेको हो । माधव नेपाल प्रमुख भएकै बेलामा राजा ज्ञानेन्द्रको शाही कदमलाई पहिलोपटक खुलेर प्रतिगमन भन्न एमालेले सकेन, प्रतिगमन भन्न ढिला ग¥यो तर राजाले फालेको हरियो घाँसको लोभमा प्रतिगमन आधा सच्चियो भन्दै प्रतिगमनकारी सत्ताको अंशियार भएर आन्दोलनरत सहयात्री राजनीतिक दलहरूलाई सडकमै छोडेर उ सत्ता सयर गर्न गयो जसको दोष माधवकुमार नेपालको पक्षमा नजाने कुरै हुँदैन ।

नेपाल अहिले लामो समय देखि पार्टीको हालीमुहाली गर्ने मुख्य ठाउँमा छैनन् , केवल बार्गेनिङ गर्ने भाग खोज्ने स्थानमा छन त्यसैले बेला–बेला बिरक्ती देखाउँछ्न । उदासिन बन्छ्न र संसदमै हारगुहार गरेर विपक्षी भन्दा चर्को स्वरले सरकारको आलोचना गर्छन र देश डुब्न लाग्यो कोही त बचाइ देउ भनेर गीत सुनाउँछ्न । रुवावासी गर्छन । जुन सँधै पायस खाने ब्राह्मण सुख्खा रोटी खान विवश हुँदाको जस्तो स्थिति हो । सत्ताको चमकधमक भन्दा पर बस्नु पर्दाको छटपटी र विद्रोह हो । नेपालले यतिबेला नैतिकताको कुरा गर्न किन पनि सुहाउँदैन भने दुई दुई ठाँउबाट चुनाव हार्दा पनि मनोनित हुन र प्रधानमन्त्री बन्न कुन उच्च नैतिकताले दियो होला माधव नेपाल ज्यू भनेर उनकै कार्यकर्ताले प्रश्न गर्छन । नेपालीहरुको  चेतनाको स्तरले आज नैतिकताको सबाल तपाईंले  अरुलाई पढाउन थालेको निको मानेनन् । पार्टीलाई तेश्रो बनाएर खुम्च्याएर अब सक्तिन भन्दै राजीनामा दिएर पार्टी प्रमुखबाट आफैं बाहिरिने अनि पार्टीलाई दुई तिहाई जितको नजिक पु¥याउने ओलीको सबलता यतिबेला तपाईंसंग दाज्न सुहाउला ? भनेर प्रश्न नै प्रश्नको झटारो माधवको सम्मुखमा छ ।

माधव ओलीको तिक्तता र कटुता यति तल्लो स्तरमा झरेर वाद्प्रतिवादमा सतहमा आउनु निश्चय नै हाम्रो मानवीयपनको स्खलन हो । जुन अत्यन्त अस्वाभाविक र अनैतिक हो । कमरेडहरुको आपसी अविश्वास र अमेलको ज्वलन्त उदगार हो । स्वास्थ्य अत्यन्तै संवेदनशील भएको बेला मलाई मरोस भनेर भन्ने तपाईंको शुभकामना चाहिंदैन भन्ने प्रधानमन्त्रीको भनाइमा दुई कमरेड बिचको झगडाको निकृस्ट रुप अविश्वासको खाडल र सोचाइको दरिद्रता प्रकट भएको छ ।

यो हदको निचता र विवाद पक्कै पनि त्यति ठूला नेताहरु देशको प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री अनि एकै पार्टीका नेताको लागि त्यो गरिमा र त्यो उचाइको लागि लज्जास्पद छ । घृणित छ । बिरामी भएर बाहिर जान लाग्दा शुभकामना चाहिंदैन भन्ने प्रधानमन्त्री र म तपाईं जस्तो निकृस्ट सोच भएको आपराधिक प्रवृतिको मान्छे होइन भन्ने पूर्व उपप्रधानमन्त्रीको आक्रोशले भरिएको प्रतिउत्तरले हाम्रा ठालूहरुको मानसिकता , दरिद्र अवस्था चित्रण गर्दैन र ? सभ्यता र संस्कृतिका धनी हामी किन यति पाखन्ड बोकेर वाच्न विवस छौ ? खै कता हरायो हाम्रो मानवीय संवेदनशीलता र करुणा ?

बरियतामा हेरफेर हुँदा नेपाल घटुवामा पर्नुको अर्थ दुई वरिष्ठ बीचको महाभारत र माथापच्छी भनेर अब नबुझ्ने कसले ? जुँगाको लडाइँले यति तल झर्न र सोच्न आरोप र प्रतिवाद गर्न बाध्य पार्नु दुर्भाग्य हो । दुई नेताको झगडाले पार्टी मात्रै होइन देश नै अपसकुनको फसेको भाँन भैरहेछ । गलत सन्देश र संस्कृति बसेको पतित हुँदैछ । अनर्थको संकेत र छनक पैदा भएको छ । अनर्थ बाटो बिराउने बाटो छेक्ने हदमा नपुगोस । यतिबेला नैतिकता ओरालो लाग्ने क्रममा भए पनि नेपाल भन्दा ओली पार्टी राजनीतिको हकमा, पार्टीको यत्रो सफलताको लागि अझै जसको भीषण भारी र गरुङो ओजन बोकेर बसेका छन ।

र अन्त्यमा, यद्यपि राजनीतिको नागबेली बांकटे खेल जे जस्तो भए पनि माओवादीलाई शान्ति पूर्ण बाटोमा हिंडाउन कमरेड माधव नेपालको भुमिका र मेहनतलाई कम आकियो भने सत्यप्रति अन्याय हुनेछ । इतिहास प्रति बेइमानी ठहर्ने छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...