विकास र वातावरण सन्तुलनमा दत्तचित्त छ नर्वे

news

-हरिविनोद अधिकारी

साठीको दशकसम्म खासै चर्चामा नरहेको देश नर्वे आज विकसितमात्र होइन, धनी देशको रुपमा मात्र होइन ,वातावरणमैत्री देशको रुपमा पनि परिचित छ । मानिसले गरे के पो हुँदैन भन्ने उदाहरण दिन नर्वे सफल छ । उत्तरी ध्रुवको देश, वर्षको करिब ७ महिना हिमाच्छादित प्रदेशहरु लिएर पनि वातावरणमैत्री देशको रुपमा आफूलाई उभ्याएको छ । 

खासगरी मार्च लागेपछि घाम देख्न पाइने नर्वेको राजधानी ओस्लोमा सार्वजनिक यातायातको सुव्यवस्था छ जसले सार्वजनिक जीवनलाई अत्यन्त ध्यान दिएको छ । रेल पनि विद्युतद्वारा चलाइन्छ । ट्रिक भनिन्छ रेलजस्तै लिगमा दौडने साधनलाई, जसलाई हामी ट्रामको रुपमा चिन्छौँ । त्यो पनि विद्युतद्वारा नै सञ्चालित छ । हाम्रो देशमा पनि  विद्युतीयद्वारा चल्ने बस थियो २०३२ सालदेखि तर त्यो अब सम्झनामा मात्र रह्यो तर युरोपभरि नै त्यस्ता ट्रली या ट्रिक वा ट्राम वा बसहरुले वातावरणलाई जनमुखी बनाएका रहेछन् । नर्वे त विश्वमा नै हरित सहरका रुपमा पुरस्कृत भएको रहेछ । त्यहाँ गाडीहरुमा पेट्रोल र डिजलको प्रयोग त छ तर युरो ५ मापनमा चलाउनु पर्छ । कुनै पनि गाडीेले धुवाँ छोडेको देख्न पाइँदैन ।

त्यहाँका मानिसहरुले घाम देख्ने भनेको वसन्त ऋतुमा हो । त्यहाँ घाम लाग्ने मौसममा पनि प्रायशः  पानी पर्ने हुनाले वर्षा ऋतु छैन भन्दा पनि हुन्छ । वसन्तबाट सुरु भएको मौसम गृष्म अनि शरदमा गएर हिउँद सुरु हुन्छ । हिउँद पनि मज्जाले हिउँ पर्न थालेर सुरु हुने गर्छ ।

संसारको उत्तरी भेगभित्रै पर्ने नर्वे अनि नर्वेको पनि उत्तरी भेग छ जहाँ हिउँ सधैँ पर्छ । त्यही उत्तरी भेगमा नै हो रातको १२ बजे पनि घाम लाग्ने भनेको । करिब २ महिना त त्यो उत्तरी भेगमा रात नै पर्दैन भन्दा पनि हुन्छ । त्यो उत्तरायणमा मात्र हो । दक्षिणायनमा त त्यहाँ घाम कहाँ पो देखिनु र ? जुनको तेस्रो हप्तादेखि चौथो हप्तासम्म साँच्चै रात परेको देखिँदैन । अझ त्यो रात जुनेली पनि छ भने त कतिबेर पो रात पर्नु र ? जुन २१ तारिख स्वाभाविकरुपमा नै उत्तरायणमा उत्तरी गोलाद्र्धमा सबैभन्दा लामो दिन यसै पनि हो जस्तो कि दक्षिणी गोलाद्र्धमा त्यो दिन सबैभन्दा छोटो हुन्छ ।

नर्वेका वारेमा जब हामी खोजीनिती गर्न थाल्छौँ, शान्त देश , वर्षमा करिब ६ महिना हिउँले छोप्ने ठाउँलाई पनि चौतर्फी विकास गरिएको छ । बाटोको सञ्जालले देशलाई राम्रोसँग जोडिएको छ । जहाँ सडक पुग्न सक्दैन, त्यहाँ हवाइजहाज र पानी  जहाजबाट जोडिएको छ । देशको सबैभागमा पहुँच छ । यसरी सडक र यातायातको पहुँचको बेलामा वातावरणीय अवस्थालाई कुनै पनि हालतमा सम्झौता गरिएको देखिँदैन । ओस्लो सहर मार्चदेखि अक्टुबरको मध्यसम्म हरियाली हुन्छ । बाटाबाटामा फूल लगाएर ,पाइलैपिच्छेजस्तो पार्कहरु बनाएर हरियालीलाई व्यवस्थित गरिएको छ ।

ओस्लो सहरको बीचबाट बग्ने अकरस्लाभ नदीमा कलकल पानी शुद्ध बगेको छ । त्यो नदीलाई बहुआयामिक तरिकाले प्रयोग गरिएको छ । आवश्यकताअनुसार त्यहाँबाट बिजुली निकालिन्छ, खाने पानीको व्यवस्था गर्न सकिन्छ । अलि अग्लो ठाउँबाट ओस्लो सहरलाई हेरेमा सहर जङ्गलभित्र छ जस्तो लाग्छ । सहरको बीचैमा जस्तो ओस्लो विश्वविद्यालयको बोटानिकल गार्डेन छ, जहाँ हजारौँ प्रजातिका विरुवाहरु पनि संग्रहित छन् । हाम्रो देशको राष्ट्रिय फूल गुराँस पनि त्यो गार्डेनमा पाइन्छ । तर त्यो गार्डेनमा रातो गुराँस त देखिएन तर बैजिनी,सेतो र अन्य रङ्गका भने देखियो ।

त्यहाँका भुक्तभोगी नेपालीहरुले भनेअनुसार जब दक्षिणायनको मध्य सुरु हुन्छ, सूर्यको किरणले नर्वेलाई छुन छोड्छ । धुम्म परेको कालो हिउँद उराठलाग्दो हुन्छ । अनि हिउँ पर्न थाल्छ । घाम त देखिँदैन तर हिउँले सबैतिर सेतो देखिन्छ । परबाट गाडी आएको देखिन्छ । गारो छ गाडी चलाउन पनि । तर डोजरले हिउँ सोहोरेर र नुनको व्यवस्थाले भने पनि दैनिकीमा असर पर्न दिइँदैन । अहिले संसारमा नै वातावरणीय सन्तुलनका लागि नर्वे उदाहरणीय छ । विकासका लागि उदाहरणीय छ । प्रतिव्यक्ति आय करिब ७०हजार अमेरिकी डलर बराबरी छ । सरकार मिलीजुली चले पनि विवाद देखिँदैन । जुन सरकार आए पनि जनताका आधारभूत आवश्यकताका लागि कुनै गुनासो छैन । श्रमिकका लागि नर्वेलाई स्वर्ग भन्दारहेछन् । शिक्षा शिशु विद्यालयदेखि विश्वविद्यालयसम्म निःशुल्क छ । संसारमा नै वातावरण , द्वन्द्व व्यवस्थापनको अध्ययन र अध्यापनका लागि नर्वेका विश्वविद्यालयहरुलाई अग्रणी मानिँदो रहेछ ।

वातावरणको लागि ओस्लो कतिसम्म संवेदनशील रहेछ भने विद्युतबाट चल्ने मोटरहरुका लागि बाटाबाटामा, विद्यालयहरुमा, विश्वविद्यालयहरुमा चार्जिङ् स्टेसन राखिएको छ, सित्तै चार्ज गर्न पाइन्छ । गाडीहरु पार्किङ्मा समस्या छ, शुल्क पनि लाग्छ तर विद्युतीय गाडीहरुलाई जहाँ पार्किङ् गरे पनि छुट छ, शुल्क लिइँदैन र चार्जिङ् गर्दा पनि शुल्क लाग्दैन । एउटा अनुमान के गरिएको रहेछ भने अब पाँच वर्षभित्रमा ओस्लोमा चल्ने गाडीहरु सबै विद्युतीय उर्जाले चल्नेछन् ।

करिब ३ हजारजति नेपालीहरु नर्वेमा छरिएर बसेका रहेछन् । हालैमात्र गैर आवासीय नेपाली संघको निर्वाचन पनि भएको छ । नेपालीहरुले दर्ता गरेका संस्थाहरु पनि कार्यरत छन् । कतिपय नेपालीहरु उद्यमशील पनि छन् । धेरैजसो त त्यहाँ काम गरेर बसेका छन् । कति विद्यार्थीहरु उच्च शिक्षाका लागि गएका छन् । कति फर्किए त कति त्यहीँ आफ्नो क्षमता देखाएर बसेका पनि छन् । 

नेपालीहरु विश्व विद्यालयमा प्राध्यापन गर्नुहुन्छ, चिकित्सक हुनुहुन्छ, विद्यालयमा अध्यापन गर्नुहुन्छ कतिले सरकारी सेवामा काम गरिरहनु भएको छ त कति अन्य पेसा र उद्यम गरेर बस्नु भएको छ । झन्डै दुई दर्जनजति रेस्टुराँहरु खोलेर नेपालीहरुले सेवा गरिरहनु भएको पाइन्छ । त्यहाँका विश्व प्रसिद्ध विश्वविद्यालयहरुमा नेपालीहरु पनि प्राध्यापन गर्नुहुन्छ भन्दा, कुनै पनि नेपालीलाई गर्व लाग्नु स्वाभाविकै हो । झन वातावरण वैज्ञानिकका रुपमा, विश्व विद्यालयको वरिष्ठ चिकित्सकका रुपमा सेवा दिनु हुने नेपालीहरु पनि त्यहाँ हुनुहुन्छ ।

उहाँहरुमध्ये एकजना प्रतिष्ठित विद्वान, नेपाली आमाका सुपुत्र हुनुहुन्छ प्राध्यापक डाक्टर विशालकुमार सिटौला । उहाँले नर्वेको प्रतिष्ठित विश्व विद्यालय नर्वेजियन युनिभर्सिटी अब लाइफ साइन्स , ओसमा प्राध्यापन गर्नुहुन्छ । नर्वे जाने विद्यार्थीहरु तथा नेपालीहरुका लागि अभिभावकका रुपमा रहनु भएका मिलनसार तथा आध्यात्मिक व्यक्तित्वसँग मैले ओस्लोमा नै गरको कुराकानी यहाँ प्रस्तुत गरेको छु । हुन त उहाँ दक्षिण एसिया, एसियाका कतिपय राष्ट्रहरु, अफ्रिका र ल्याटिन अमेरिकामा वातावरण, द्वन्द्व व्यवस्थापन र कृषि विकासका लागि विज्ञका रुपमा काम गरिरहनु भएको छ ।

उहाँको एउटा भनाइ छ ब्रेन ड्रेनको बारेमा—नेपाली जहाँ भए पनि ब्रेनको प्रयोग गरिरहेको हुन्छ , ब्रेन सेयरिङ् महत्वपूर्ण कुरा हो । जहाँ रहे पनि मातृभूमिप्रतिको माया त आमाको माया जस्तै त हो ।  सुनौँ प्राध्यापक डाक्टर विशालकुमार सिटौलाको विचार उहाँकै आवाजमा ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...