यस पालिको तीजमा ,धमलाको हमला बीच्च–बीच्चमा..

news

-संजिव कार्की 

यो पटकको तीजभरी ‘हामी पनि नाच्ने हो बीच्च–बीच्चमा’ भन्ने दुर्गेस थापाको गीतले हंगामा मच्चायो । तीजको गीतको ट्रेन्ड मा नै अर्को हमला गर्‍यो । समाजले रुचायो, बिरोध पनि गर्‍यो । समाज परिवर्तनको दिशामा रहेको संकेत पनि हो । जब तीज सकिने दिन आयो तब सेलिब्रेटी र चर्चित पत्रकार ऋषि धमला दम्पत्तीको फोटोले सामाजिक संजालमा आफ्नो आधिपत्य जमायो । त्यसैले यो आलेखको नाम पनि चर्चित गीतको प्रसंग जोडेर राखियो सामयिक बनाउन धमलाको हमला बीच बिचमा ।

परम्परा धार्मिक आस्था र रितीरिवाजको निरन्तरताको अनुसरण गर्दै धमला पत्नीले आफ्नो व्रत समापन गर्न आफ्ना पतिदेवको खुट्टा ढोगेर पानी खाँदै गरेको नितान्त व्यक्तिगत फोटो पोस्ट गरिन । तब काम नपाएका बेरोजगार हामी नेपालीलाई काम मिल्यो, रोजगारी प्राप्त भयो । ठुलै मसाला र खजाना मिल्यो । पक्ष विपक्षमा तर्क ,बहस, समर्थन र बिरोधको मत अभिमत कतै शालीन, कतै अभद्र, कतै अशिस्ट भएर वर्षिन थाले ।

धमला हुन उनलाई यस्ता हमालले छुने र दुख्ने कुरै भएन । किनकी उनी पहिल्यै देखि सार्वजनिक आलोचना खेपेर चर्चामा रहेका, बिभिन्न बिम्ब, उखान टुक्का र जोक्स बनाईएका नेपाली पत्रकारिता जगतका सर्बाधिक चर्चित र बिबादित पात्र र प्रवृति हुन् । अरुलाई जसरी धमला हमला गर्छन अरुले पनि बिभिन्न माध्यमबाट उनीमाथि हमलाको  तिर सोझ्याउने गर्छन उसैगरी । जस्तै घोचपेच ,छेडखानी र व्यंग्यले छुँदैन गैंडाको भन्दा बाक्लो छाला भएको छ राजनीतिक मान्छेहरुको जस्तै । आलोचनाले नछुने, निन्दाले नगल्ने, दुर्दशाले नपोल्ने ।

नेपाली पत्रकारिता क्षेत्रका जबर्जस्त पात्र हुन् उनलाई मन नपराउँदा नपराउँदै पनि स्पेस दिनुपर्ने र उनको योगदान भुल्न नमिल्ने व्यक्ति हुन् । धेरैले अयोग्य पात्र भन्दाभन्दै पनि आफ्नो स्थान र मूल्य स्थापित गर्न अहोरात्र खट्ने र मेहनत गर्न जुनसुकै समय र अवस्थामा पनि नचुक्ने झन्डै झन्डै अजिब अर्थात अलि अनौठा, अलि बेग्लै र भीडमा आफ्नो उपस्थिति जोरजबर्जस्त मन्चन गर्ने पात्र हुन् धमला । धमलाको बारेमा बन्ने गसिप र जोक्स बन्न अरु मसला बन्यो आफ्नी जीवन संगिनीले आस्थावस परम्पराको निरन्तरता पालना गर्दै खुट्टा ढोग्नु र खुट्टाको पानी खाएर व्रत समापन गरेको फोटो सार्वजनिक प्रदर्शनीमा राख्नुले ।

आस्था र विश्वास भए पनि नितान्त व्यक्तिगत कुरालाई निजी मामलालाई पब्लिकमा नपुर्‍याएको भए बुद्धीमानी हुन्थ्यो । सार्वजनिक भित्तोमा त्यो फोटो मन्चन गर्नु उनको योग्यता हो कि यो मेरो बुझाई हो । तर पब्लिकमा आएपछि पब्लिकले दिने क्रिया प्रतिक्रिया सुन्न चाहेर, देख्न चाहेर नचाहेर पनि सुन्नु र देख्नुपर्छ । परम्परालाई मान्ने र परम्परा जस्तो भए पनि नमान्ने दुई ध्रुवमा विभक्त समाजमा चल्ने स्वस्थ बहसले कतिपय रितिरिवाज र परम्पराको पुनरावलोकन गर्न उत्प्रेरित गर्छ भने कतिपय चलन र प्रथा कायम नै राखेर विज्ञान सम्मत मान्यता दिन मंजूरी जनाउछ ।

हाम्रा परम्परा, रितिरिवाज चालचलन सबै बिज्ञान सम्मत छैनन् सर्व ग्राह्य पनि हुदैनन् तर आस्था र परम्परा नमास्ने बहानामा कतिपय चलन ज्यादतीपूर्ण भए पनि चल्दै र मानिदै आएका छन् । कुनैबेला संस्कार लाग्ने कुरा कुनैबेला कुसंस्कार र बर्जित विषय बन्न पुग्छ । मानव चेतनाको उन्नति हुदै जाँदा सस्कारहरु असान्दर्भिक र अवैज्ञानिक भएर पाखा पर्ने स्थिति उत्पन्न हुन्छ । असी वर्षीया आमाले निराहार तीजको व्रत बस्नुलाई ढोंग र पाखण्ड अनि कुरीति भन्न सकिन्न तर बीस बाईसकी दिदी र बैनीलाई यो ढोंग हो पाखण्ड नगर भन्न सकिने स्थिति हुन्छ त्यो अस्वाभाविक ठहर्दैन । रिति र  कुरीति छुट्याएर बुझ्न एकै घट्ना र अवस्थितिमा पात्र अनुसार, समाजले बिकास गरेको मनोविज्ञान अनुसार फरक बनिदिन्छ काहिलेकाही ज्यादती पूर्ण चलन भने छोड्नै पर्छ तर ज्यादती नहुने केवल आस्था र विश्वासको आधारमा प्रचलित परम्परा स्वेच्छामा छोड्दा त्यसको असर र प्रभावको नतिजा हेरेर छोडने र अपनाउने हुन् सक्छ । धर्म संस्कृति, परम्परा रितिरिवाज चालचलन व्यक्तिको वैयक्तिक स्वतन्त्रता र आस्थाको कुरा हो । कुनै पनि परम्पराको अनुशरण गर्न व्यक्तिलाई छुट रहन्छ तर त्यो धार्मिक आस्था विश्वास र श्रद्धाले समाजमा विकृति थाम्ने र विकृति शुरुवात गर्न भने मिल्दैन । हुँदैन । कुनैपनि सचेत नेपालीले विसंगतिको पृष्ठपोषण गर्न मिल्दैन । राजनीतिले विभाजित समाजमा कुनै पनि कुरालाई सबैको एकै आखाले हेरिन्न । धर्म संस्कृति र परम्परालाई हेर्ने दृष्टिकोण पनि व्यक्तिले आफुले अंगालेको सिद्दान्तको आधारमा पारख गरेको हुन्छ ।

प्रगतिशील र क्रान्तिकारी भएको देखाउन धार्मिक आस्था र विश्वासलाई ,अन्धविश्वास भनेर बुझ्ने जमात पनि छ अनि परम्पराको नाममा हिजो जे थियो आज सो हुबहु मान्नुपर्छ परम्परा रितिरिवाज जोगाउनुपर्छ भन्ने कठोर परम्परावादी मत र अभ्यास पनि छन् । यी दुवै अतिवादको पछि नलागेर रितिरिवाज परम्परा सामयिक र विज्ञान सम्मत हुनुपर्छ भन्ने सन्तुलनवादी, समन्वयावादी समय सापेक्ष मत पनि छ जुन तार्किक र समाजको अपेक्षा मुताबिक हुन्छ । बलात र हठात कुनै पनि कुराको परिवर्तन सम्भव हुदैन । समाजमा गहिरोसँग जरा गाडेको कुरीति छोडन ,तोडन पनि समाजको मनोविज्ञानले भूमिका खेल्छ । समाज मनोविज्ञान तयार नगरी आस्थामा बलात हठ स्वीकार गर्दैन समाजको चेतना । सत्तरी वर्षको हजुरबा हजुरआमाको पुस्ता, ५० बर्षको  काका काकीको पुस्ता र आजको १८–२० बर्षका युवायुवतीका पुस्ताले समाजलाई हेर्ने छुने र विचरण गर्ने दृष्टिकोणमा फराकिलो अन्तर छ ।

तसर्थ यी तिनै पुस्तालाई एकै ठाउँमा ल्याउन मज्जाले बालुवा पेल्नुपर्ने हुन्छ एकै मनोविज्ञानको ट्रीट सबैको लागि उस्तै र प्रभावकारी नहुन सक्छ फरक फरक पुस्ता, फरक फरक मनोविज्ञान र दृष्टिकोणलाई समाज सुधारको लागि गरिने उपचार पद्दतिमा व्यापक परिवर्तन आवश्यक हुन्छ । समग्र चेतनालाई एकै आँखाले हेर्नाले समाजमा आज पनि विगत देखि चली आएका जातीय छुवाछुत, रजस्वला हुँदाको भेद अनि अरु कतिपय रिती र परम्परामा चाहेर पनि परिवर्तन हुन् सकेको छैन । जति परिवर्तन भएको छ त्यो अत्यन्त न्यून र धिमा गतिको परिवर्तन हो । परिवर्तनको गति नछुने नभेटने परिवर्तन हो । हाम्रा रिति परम्परा ऐच्छिक र बाध्यकारी दुवै छन् । कतिपय ऐच्छिक विषय र व्यक्तिको निजी चासो, चेतना र मान्यता भनेर बुझ्न सकिन्छ जस्तो तीजको व्रत बस्ने र श्रीमानको खुट्टा ढोग्ने अनि खुट्टाको पानी खाने परम्परा जसले अरुलाई असर गर्दैन । आफ्नो श्रीमान श्रीमती र घर परिवारको आफ्नो मान्यता र परम्परा हो । आस्था विश्वास र श्रद्दा साथ बुहारीले सासुको खुट्टा ढोग्ने कुरा ऐच्छिक मान्यता र रीतिको कुरा हो जहाँ करकाप बाध्यता त्रास र डर ,भय हुन्न त्यहाँ बुहारीले सासुको गोडामा तेल लगाउने, गोडा मिच्ने कार्य गर्दा पनि त्यो आपत्तीको कुरा रहन्न ।

कुनै सामन्ती चिन्तन र परिपाटी भनेर बुहारीले सासूलाई गर्ने रेस्पेक्टलाई हेरियो भने त्यो ब्यबहारत गलत हुनपुग्छ । जब रीतिमा परम्परामा बाध्यता र अत्याचार हुन्छ त्यहाँ बन्देज र विद्रोह देखिन्छ भएको पनि छ तर व्यक्तिको स्वेच्छिक सेवा समर्पण र श्रद्दालाई क्रान्तकारी बन्ने बहानामा बिरोध जायज होइन । परम्परा जसले समाजको बेहित गर्दैन भने त्यसलाई जोगाइ राखेर आफ्नो पहिचानको रुपमा सुरक्षित नै राख्नुपर्छ जो हाम्रो सम्पदा र निधिको रुपमा जुगौजुग कालान्तर रहिरहोस ।

ज्यादती, लोग्नेले स्वास्नीलाई, स्वास्नीले लोग्नेलाई, आमाले छोरालाई बाबुले छोरीलाई, छोराछोरीले बाबुआमालाई एवं रितले परिवारका जोकसैले जोकसैलाई गरे पनि त्यो सहन गर्न सकिन्न र हुन्न पनि । कानुनत अत्याचार बर्जित र प्रतिबन्धित कुरा हो । लाठी देखाएर, सिस्नुपानी लगाएर अन्याय पूर्वक अपमान गर्दै ऋषि धमलाले श्रीमतीलाई परमपरागत मान्यता कायम राख्न लगाएको भए त्यो मूलतः अपराध कै सुचिमा हुन्थ्यो तर गर्व साथ म मेरो श्रीमानलाई श्रद्दा गर्छु , मेरो परम्परा मान्छु, हातको पानी खाए पनि खुट्टाको पानी खाए पनि मेरो खुसी, मेरो मर्जी भनेर भन्ने धमला पत्नीको आस्थालाई किन ललकार्नु पर्‍यो र ? परम्परागत आस्थालाई कसैले नैतिक बन्धन र अनुसाशनको कोटीमा राख्छ भने त्यो व्यक्तिको स्वतन्त्रता र स्वच्छताको विषय भयो ।

आस्था र विश्वासको सबैभन्दा ठूलो प्रमाण विश्वास नै हो अरु हुन्न त्यो आस्था र विश्वासले समाजमा कुनै पनि उत्तेजना र दुर्भावना अनि दुर्घट्ना निम्त्याउदैन, कुनै अलग समुदायप्रति वैरभाव राख्दैन भने त्यसले समाजमा के नै बिगार्छ र ?  व्यक्तिको आस्थाप्रति हाम्रो टाउको दुखाई किन आवश्यक हुन्छ र ? समानुभुति अनुभव गर्न पत्नीप्रति श्रद्दा प्रकट गर्न म मेरी श्रीमतीको खुट्टा ढोग्न थालेको छु अचेल, भनेर साझा विवेकशील पार्टीका मुखिया रवीन्द्र मिश्रको स्टाटस आउँदा कुन नैतिक मूल्यमा ह्रास आउछ र ? समाजको कुन सामाजिक बन्धनको धागो चुडिन्छ ? कस–कसको सु–सम्बन्धमा खलल पुग्छ र ?  बरु सामाजिक पारिवारिक सम्बन्ध झन् सुदृढ सबल र भरोसायुक्त अनि कसिलो बन्छ । सम्बन्धमा नयाँ आयामको विस्तार हुन्छ । श्रीमतीको खुट्टा ढोग्दा उनको उचाई कहाँ घट्यो र ? रितिरिवाज कतिपय बनाउने हो कतिपय छोडने हो ? पुर्खाले मान्दै आएको चलनलाई निरन्तरता दिनु नै परम्परा भनिन्छ ।

मान्छेले जसरी परम्परालाई निरन्तरता दिएको छ र त्यहि निरन्तरताको क्रममा बनेका नियमलाई चलन या रितिरिवाज पनि भनिन्छ । श्रीमतीलाई खुट्टा ढोगाउनुको सट्टा आफूले पनि श्रीमतीको खुट्टा ढोग्ने चलन चलाउँदा भोली त्यो परम्परा बस्न र बन्न सक्छ आजको पुस्ता भोलिको पुस्ताले भन्ने अग्रज र पुर्खा नै बन्ने हो पुकारिने हो । तर आजकल बनेका परम्परा विगतका जस्ता बाध्यकारी हुदैनन् । बाध्यकारी परम्परा रित र चलन बनाउनु पनि श्रेयस्कर हुन्न ।  यो युग समय सापेक्ष युग हो अब यतिबेला केही बाध्यकारी र उल्लङघनीय केही हुन्छ र बन्छ भने त्यो राज्यको संबिधान , नियम एन र कानुन हुन्छ । परम्परा र रितिरिवाज स्वेच्छाले मान्न र छोडन व्यक्ति स्वतन्त्र छ तर राज्यको नियम कानुन म मान्दिन भन्न मिल्दैन र पाउदैन । राज्यको नियम भन्दा बाहिर कोही हुन्छ ,रहन्छ भने त्यहा अराजकता हावी हुन्छ ।  अराजकता भित्र राजकता मौलाउन सक्दैन ।

हाम्रो बहस छलफल, निस्कर्ष निचोड सकारात्मक उर्जा ग्रहण गर्नको खातिर हुनुपर्छ । नकारात्मक उर्जा लिनको लागि होइन । नकारात्मक उर्जा फैलाउन र फुलाउन नैतिक बन्धनले स्वीकार गरिनु हुन्न । नैतिकताको कसीमा कमजोर नदेखिने सबै हाम्रा पुराना संस्कार र चलन, रितिरिवाज र परम्परा जोगाउँदा नै हाम्रो स्वत्व रहन्छ । आफ्नोपन बच्छ । मौलिकता जोगिन्छ । चलन चल्तीका आस्था र विश्वासले अवैज्ञानिक नै रहे भए पनि समन्धमा दरार पैदा गर्दैन भने त्यो संरक्षण गर्दै जानु असामाजिक हुनेछैन । त्यसैले ऋषि दम्पत्ती माथिको हमला संस्कृति माथिको मन्दविष पनि हो । जडसूत्रवादी परम्परावादी नै सहि अहित नगर्ने परम्परा माथिको बीच्च बीच्चको हमला नाजायज हो । 

 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...