निजामती सेवा दिवसको अवसरमा बिरामीलाई घरमै कोसेली

news

डीबी विष्ट

बझाङ, भदौ २२ । निजामती सेवा दिवसको अवसर पारेर जयपृथ्वी नगरपालिकाका स्वास्थ्य संयोजक जनकबहादुर सिंह बिरामी भएका बुढापाकाहरुलाई फलफुलसँगै औषधि लिएर घर–घरमा भेट्न गएका छन् ।

‘सेवा नै धर्म हो’ भन्दै सिंहले जयपृथ्वी नगरपालिका– ४  का केही बुढापाका बिरामीलाई भेटेर सामान्य औषधि र फलफुल वितरण गरेका छन् । बिरामी भएर घर बाहिरसमेत निस्कन नसक्ने जयपृथ्वी नगरपालिका– ४  का ६३ वर्षीय टिपुरे पाध्या लगायतलाई उनले ओछ्यानमै भेटेर फलफुल वितरण गर्नुका साथै सामान्य तया ज्वरो र दमको औषधिसमेत दिएका छन् ।

घरमै फलफुल र औषधि पाएपछि खुशी हुदै खत्रीले स्वास्थ्य संयोजक सिंहलाई धन्यवाद दिएका छन् ।

संयोजक सिंहले नगरपालिकाभित्र रहेका केही स्वास्थ्य चौकीको समेत निरीक्षण गरेका छन् । आफुलाई केही सेवाग्राहीले फोन गरेपछि विभिन्न स्वास्थ्य चौकीको समेत निरीक्षण गरेको संयोजक सिंहले बताए ।

बिहान ११ बज्दासमेत स्वास्थ्य चौकीमा कर्मचारीको उपस्थिति नभएको गुनासो आएपछि आफु स्वास्थ्य चौकीमा पुगेर कर्मचारीहरुलाई फोन गरेर बोलाएको उनले बताए । उनले कार्यालय समयमा अनुपस्थित केही कर्मचारीहरुलाई स्पष्टिकरणका लागि जयपृथ्वी नगरपालिकामा बोलाइने बताए ।

वडा नम्बर ५ मा रहेको लुयाँटा स्वास्थ्य चौकी बन्द भएको आफूले फेला पारेको बताउँदै उनले त्यहाँका कर्मचारीहरुलाई स्पष्टिकरणका लागि जयपृथ्वी नगरपालिकामा बोलाइने जानकारी दिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...