महाकाली अस्पतालमा डेंगी परीक्षण गर्ने किटको अभाव

news

कन्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा डेंगीको परीक्षण गर्ने किटको अभाव देखिएको छ । स्वास्थ्य विभागले समयमै किट नपठाएकाले अभाव भएको हो ।

ज्वरो आएका बिरामीको रगत परीक्षण गर्ने आडिटी किट नहुँदा डेंगी परीक्षणमा समस्या भएको महाकाली अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार गत वर्ष १४ जना डेंगीका बिरामीको उपचार भएकोमा यस वर्ष किटको अभावमा हालसम्म एकजना बिरामीको मात्रै उपचार भएको छ ।

अस्पतालमा ज्वरोका बिरामीको चाप बढेपनि किटको अभावमा डेंगीको परीक्षण गर्न नसकिएको महाकाली अस्पतालका सूचना अधिकारी केशव अवस्थीले जानकारी दिए ।  अस्पतालमा दैनिक २ सयभन्दा बढी बिरामी आउने गरेका छन् ।

जसमध्ये ७० प्रतिशत बढी ज्वरोका बिरामी छन् । ज्वरो आएका बिरामीको रगत किटबाट परीक्षण गरेपछि मात्रै डेंगी लागे नलागेको पहिचान हुने बताउँदै पहिलो चरणमै लक्षणबाट पहिचान गर्न नसकिने अवस्थीले बताए ।

उनले भारतसँग सीमा जोडिएको र दैनिक आवातजावत भइरहने भएकाले कञ्चनपुरमा पनि डेंगीको जोखिम रहेको बताए ।

सामान्यतया ज्वरो आएका बिरामीको सेतो रक्तकोष जाँच गर्दा ४ हजारभन्दा कम र रगत जम्ने पदार्थ प्लेटलेट एक लाख भन्दा कम भएमा त्यस्ता व्यक्तिमा डेंगी हुने सम्भावना रहने स्वास्थ्यकर्मीको भनाई छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...