‘प्रहरी हौं’ भन्दै तीन युवकले गरे १६ वर्षीया किशोरीको अपहरण

news

बिराज रोस्यारा (इमेज)

कैलाली, भदौ २४ । एकजना किशोरीको अपहरण आरोपमा तीनजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१६ का २१ वर्षीय अनिल राना, २२ वर्षीय सन्दीप राना र २९ वर्षीय लोकेन्द्र खडायतलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए ।

तीनैजनाले गएको शनिबार धनगढीकी १६ वर्षीया एक किशोरीलाई आफूहरू प्रहरी भएको बताउँदै अपहरण गरेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

यही भदौ २१ गते (शनिबार) मध्यराति १२ बजेतिर धनगढी–८, जाखोर तालनजिककी ती किशोरीलाई उनीहरुले आफूहरु प्रहरी भएको भन्दै लगेका थिए ।

एउटा घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली लैजानुपर्ने भन्दै तीनैजनाले किशोरीलाई अपहरण गरेका थिए ।

२२ गते राति प्रहरीले उनीहरुलाई धनगढी–१६ बाट पक्राउ गरी किशोरीको उद्धार गरेको थियो ।

किशोरीको स्वास्थ्य परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले मंगलबार जनाएको छ ।

पक्राउ परेका तीनजनाविरुद्ध अपहरण, शरीर बन्धक र जबर्जस्ती करणीमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...