कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

news

बिराज रोस्यारा (इमेज)

कैलाली, भदौ २५ । रकम संकलन गरेको ८ वर्षसम्म बिजुली नबलेपछि बुधबार कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

स्थानीयले घोडाघोडी ग्रामीण विद्युत् सहकारी संस्थामा तालाबन्दी गर्दै अहिले राजमार्ग अवरुद्ध पारेका हुन् ।

घोडाघोडी नगरपालिका वडा नम्बर–४ र ५ का स्थानीय बासिन्दाले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।

घोडाघोडी नगरपालिकाका चारओटा वडा, गौरीगंगा नगरपालिकाको एउटा र कैलारी गाउँपालिकाको एउटा वडाका बासिन्दाले रकम संकलन गरेर बुझाएको ८ वर्षसम्म पनि बिजुली बाल्न पाएका छैनन् ।

बिजुली बल्ने सपना देखाउँदै २०६८ र २०६९ सालमा घोडाघोडी विद्युत् सहकारीले स्थानीयबाट रकम संकलन गरेको थियो । तर, अहिलेसम्म विद्युतीकरणको कार्यसमेत सकिएको छैन ।

विद्युतीकरणमा भएको ढिलाइका कारण घोडाघोडी नगरपालिकाका वडा नम्बर–४, ५, ७ र ९, गौरीगंगा नगरपालिकाको ११ नम्बर वडा र कैलारी गाउँपालिकाको ८ नम्बर वडाका बासिन्दाहरु अझै अन्धकारमा छन् ।

२०६९ सालमा प्रतिपरिवार एक हजार ५०० रुपैयाँका दरले रकम उठाइएको थियो । विद्युतीकरणका लागि पनि ठेक्का सम्झौता भएको पाँच वर्ष भएको छ । तर, काम पूर्ण भएको छैन ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...