जन जागरणले नयाँ तरङ्ग पैदा गर्नसक्ला ?

news

-हरिविनोद अधिकारी

जसरी अहिलेको मोबाइललाई चार्ज गरिरहनु पर्छ, जसरी विद्युतीय उर्जाले वा तेलले चल्ने मोटरलाई चार्ज गर्नुपर्छ , ठीक त्यही तरिकाले जनताको भावनामा पनि प्रजातन्त्रप्रतिको आस्थालाई जागरणमार्फत् थप उर्जावान गराउने ध्येयले प्रजातन्त्रको पर्याय बनेको नेपाली काँग्रेसले आफ्ना सँस्थापक तथा वैचारिक नेता बीपी कोइरालाको १०६औँ जन्मजयन्तीदेखि नेपालीहरुलाई वैचारिक जागरणको अभियान सुरु गरेको छ । यसलाई नेपाली काँग्रेसले राष्ट्रिय जागरणका रुपमा मानेको छ ।

प्रजातान्त्रिक सिद्धान्तमा चट्टानी अडान भए पनि बेलामौकामा राज्य सञ्चालन र जन परिचालनका क्रममा नेपाली काँग्रेसले गर्दै आएको झन्डै सिद्धान्त परिवर्तन जस्ता कामहरुका कारणले २०७४ को आम निर्वाचनमा आफूलाई कम्युनिस्ट मान्ने दलहरुसँग नराम्रोसँग पछारिनु परेकै हो र मुलुकमा विद्यमान प्रादेशिक तथा संघीय सँसदहरुमा कमजोर उपस्थिति रहेकै हो । जनताका दैनिक सरोकारका विषयमा समेत मौन जस्तो देखिएकै हो । सायद त्यसैले पनि सरकारको काम कार्बाहीले प्रजातन्त्रप्रति नै वितृष्णा फैलिएको मानेर प्रजातन्त्र सुरक्षार्थ जागरण अभियानको थालनी भएको हुुनुपर्छ ।

बीपी, गणेशमानजी, किसुनजी, गिरिजाबाबु, सुवर्णजी, सुशील कोइराला लगायतको सत्प्रयास र क्षमताले धानेको नेपाली काँग्रेसप्रति यता केही समयदेखि देखिएको वितृष्णाको मूल विषय पत्ता लगाई जागरणमार्फत् जनतालाई आश्वस्त पार्नका लागि सुरु गरिएको जागरण अभियानको आवरण पक्ष त चहकिलो देखिन्छ तर त्यसको कालो पक्षचाहिँ कता कता किन जागरण अभियान चलाएको भन्नेमा केही केही नेताहरु नै जनसमक्ष जाँदा रनभुल्लमा परेको आभास पाइयो , जुन आफैँमा एउटा धब्बा हो चरित्रमा । सल्लाह र तयारीसाथ जानु पथ्र्यो । सायद अहिलको दोस्रो पटकमा पक्कै नै ती कमीकमजोरी नरहलान् भन्ने मानौँ ।

नेपाली काँग्रेसमा जन्मदेखि नै सदैव गुट उपगुटको उपस्थिति देखिन्छ जुन त्यो दलको लागि एउटा क्यान्सर नै हो । र पनि पहिले त्यही गुट उपगुटले विचारको प्रतिनिधित्व गथ्र्यो र दललाई अन्तक्र्रियात्मक बनाएर जीवित राखेको थियो । तै पनि गुटलाई मलजल गर्ने र बाहिरका लागि समेत दलको क्षिद्र दिनेहरुका कारणले नै मुलुक प्रजातन्त्रविहीन अवस्थामा रह्यो । मुलुकलाई ३० वर्षको पन्चायती कालरात्रिमा धकेलेको थियो । २०४७ सालपछिको अवधिमा पनि काँग्रेसकै गुट उपगुटका कारणले मुलुक विकासको नवपथमा, राजपथमा हिँडिरहेकै बेलामा उग्र वामपन्थले क्षतविक्षत बनायो । यो कुरा सबै काँग्रेसीजनलाई थाहा छ र सबै नै गुट उपगुटको विरुद्धमा देखिन्छन् तर कुनै न कुनै गुटको आवरणसँगै ।

सर्वप्रथम नेपाली काँग्रेससँग सम्बद्ध सबै नेता तथा कार्यकर्तालाई के थाहा हुनुपर्छ भने नेपाली काँग्रेसले प्रजातन्त्रको झन्डा बोकेन भने र प्रजातन्त्रको रक्षा गरेन भने नेपालमा प्रजातन्त्र रहँदैन । त्यसैले पनि नेपाली काँग्रेसको संगठन पनि प्रजातान्त्रिक हुनुप¥यो, नेपाली काँग्रेससँग सम्बद्ध सबै नै प्रजातन्त्रका मूल्य मान्यतासँग साक्षात्कारी हुनसक्नु पर्छ । प्रजातन्त्र ल्याउन आन्दोलनमा सहभागिता र ज्यानको बाजीले पनि हुन्छ तर प्रजातन्त्रलाई प्रजातन्त्रकै रुपमा जोगाउने काम साह्रै नै गाह्रो हुन्छ । प्रजातन्त्र भनेको सँस्कार हो , उदारमना सँस्कृति हो र विरोधका स्वरहरुलाई पनि आत्मसात् गर्दै राज्यलाई परिवारको रुपमा सम्झँदै सदैव सबैको भलो गर्नैपनै नीति हो । अत्यन्त गतिशील राज्यनीतिले मात्र प्रजातन्त्रलाई जोगाउन सक्छ र प्रगतिशील सोचाइले मात्र प्रजातान्त्रिक आचरणको जगेर्ना हुनसक्छ ।

धेरै लामो समयदेखि काँग्रेसको राजनीतिक प्रतिस्पर्धा नीति नै नभएको जमातसँग भइरहेको छ । दुर्भाग्यवश, नीतिविहीन समूहसँगको राजनीतिक प्रतिस्पर्धामा पनि काँग्रेसको राजनीतिले जनताको मत बटुल्न सकेको पाइएन । सायद जनजागरणको एउटा आधार यही हो ।

संसारमा कहाँ छ कम्युनिस्ट शासन ? कार्लमाक्र्सले सुविचारित निःस्वार्थ समानताको राजनीति कहाँ छ ? जब कुने कम्युनिस्ट हुँ भन्नेलाई सोधिन्छ, कहाँ छ आदर्श कम्युनिस्ट शासन जहाँ सबै जनताले आफूलाई सुरक्षित ठानोस् कि मेरोलागि यो व्यवस्थाले सबैकुरा दिएको छ । एउटा १५० वर्षदेखिको धारणा छ समानताको नाराको तर कहिल्यै जनताको पक्षमा नउभिएको शासन तर भनियो जनताको शासन । निर्वाचनले कहिल्यै पनि जनादेश प्राप्त गर्नु नपर्ने शासन तर भनियो वैज्ञानिक समाजवादको शासन । नेपालमा पनि त्यही नारा र विचारले कसरी प्रजातन्त्रका विपक्षमा जनतालाई उराल्न सक्यो भनेर बोल्सेभिक–मिन्सेभिक कथा, कोमेन्ताङ् र कम्युनिस्ट माओको कथा पढे पनि हुने थियो ।

लाग्छ, अब नेपाली काँग्रेसले निर्मम तरिकाले विश्वमा देखिएको कम्युनिस्टको शासन प्रणालीका वारेमा जनतालाई जानकारी दिनेछ । हिजोका कम्युनिस्टको समानता र वैज्ञानिक समाजवादको व्याख्याता ं डाक्टर बाबुराम भट्टराईमा आएको परिवर्तन र उहाँका अनमोल बाणीहरुलाई सम्झाए पनि जागरणको अभियानले एउटा सार्थकता पाउँथ्यो कि ? नेपालमा कम्युनिज्मको अवस्थालाई बढीभन्दाबढी खुलासा गर्न सके पनि जागरणले नयाँ आयाम दिन्थ्यो कि ? जागरणले स्वार्थहीनतालाई प्रश्रय दिनुपर्छ । नेपाली जनतामा देखिएको वितृष्णालाई नगदीकरण गर्दै अराजकताको राज्य संवरण गर्न चाहनेहरुका लागि यो जागरण अभियानले नयाँ राजपथ तयार गर्नसक्नुपर्छ ।

जागरण गर्न हिँडेका जागृत जमातमा जागरण आउनु पहिलो आवश्यकता हो । निर्मम तरिकाले प्रजातन्त्रविरोधीहरुको खोल खोल्नु जरुरी छ । बीपी भन्नुहुन्थ्यो-प्रजातन्त्र विरोधीहरु प्रजातन्त्रवादीभन्दा ठूला प्रजातन्त्रवादी हुनसक्छन्,तिनको नकाब उतार्न सकेमात्र प्रजातन्त्र जोगिन सक्छ । अहिले के जागरण गर्न हिँडेका जागरणका नायकहरुको आकृतिले अप्रजातन्त्रको नकाब उतार्न सक्ला ? त्यसोभए पात्रता पनि प्रजातन्त्रप्रतिको प्रतिबद्ध आवश्यक छ । बेला ठीक छ । बेला यही हो, प्रजातन्त्रका पक्षमा बोल्ने र काम गर्ने तर प्रजातन्त्रका पक्षमा बोल्ने र व्याख्या गर्नेमा पनि प्रजातान्त्रिक आचरण आवश्यक छ भन्ने कुरा फेरि भनिरहनु नपर्ला । बीपीको दलमा प्रजातन्त्र र समाजवादको व्याख्या भन्दा पनि कार्यक्रमिक बाध्यता देखियोस् ताकि जनजागरणले साँच्चै जागरण ल्याउन र प्रजातन्त्रका पक्षमा नयाँ तरङ्ग पैदा गर्न सकोस् । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...