डेंगी संक्रमणबारे जानकारी गराउन सभामुखको ‘रुलिङ’, स्वास्थ्यमन्त्रीको राजीनामा मागियो

news

काठमाडौं, भदौ २६ । सभामुख कृष्णबहादुर महराले डेंगीको संक्रमणका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले डेंगीको महामारी फैलिँदासमेत सरकारले नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै यस सम्बन्धमा सरकारको धारणा माग गरेपछि सभामुखले रुलिङ गरेका हुन् ।

उनले डेंगी संक्रमणका विषयमा संसदमा पटक–पटक आवाज उठेको भन्दै यस विषयमा संसदमा जानकारी गराउन स्वास्थ्यमन्त्री र सरकारलाई निर्देशन दिएका हुन् ।

तर, सभामुखको रुलिङपछि पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भने स्वास्थ्यमन्त्रीको राजीनामा मागेका छन् ।

रुलिङ गरेर झारा टार्ने भन्दै उनले स्वास्थ्य संकटकाल घोषणा गरेर नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरे ।

केही दिनदेखि सांसदहरुले संसदमा निरन्तर डेंगीका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

विशेष समयः ‘विदेशमन्त्रीलाई विभेद’

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद पम्फा भुसालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ विदेशमन्त्री वाङ यीको भेटमा भएको कुराकानीको विषयलाई लिएर अमेरिकी दूतावासले नेपाल सरकारको आधिकारिक धारणा मागेकोबारे सरकारको जवाफ माग गरिन् ।

सांसद भुसालले असंलग्न परराष्ट्र नीतिविपरीत ‘इन्डो प्यासिफिक’ रणनीतिअन्तर्गत्को कुनैपनि संयुक्त अभ्यासमा संलग्न नहुन सरकारसँग माग गरिन् ।

यस्तै, कांग्रेसका सांसद अमरेशकुमार सिंहले दुई छिमेकी मुलुक भारत र चीनका विदेशमन्त्रीको नेपाल भ्रमणकाक्रममा विभेद गरिएको भन्दै आपत्ति जनाए ।

सांसद सिंहले भारतका विदेशमन्त्रीको स्वागतको स्तर, प्रधानमन्त्रीसँग भेटको व्यवस्थापन र सत्तारुढ दलका अध्यक्षले गरेको भेटमा विभेद गरेको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद सरिताकुमारी गिरीले कोसी बाँधले डुबानमा परेका किसानलाई ६५ वर्षसम्म पनि भारतले क्षतिपूर्ति र मुआब्जा नदिएको भन्दै पहल गर्न सरकारसँग माग गरिन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...