चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणबारे सदनलाई जानकारी दिन माग

news
राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै सांसद राधेश्याम अधिकारी ।

काठमाडौं, भदौ २६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हालै सम्पन्न चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे सदनलाई जानकारी दिन माग गरेको छ ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा बोल्दै कांग्रेसका सांसद राधेश्याम अधिकारीले चीनका विदेशमन्त्रीको हालै सम्पन्न नेपाल भ्रमणबारे परराष्ट्रमन्त्रीले सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

उनले नेपाल एसिया प्यासिफिक बैठकमा भाग लिन्छ कि लिँदैन भन्ने विषयमा सरकारको धारणा माग गरे ।

सत्तारुढ दल नेकपाका सांसद रामनारायण बिंडारीले हरेक क्षेत्रमा मिसावट हुँदा यसको असर सर्वसाधारण जनताको स्वास्थ्यमा परिरहेको भन्दै ‘मिसावट नियन्त्रण गर्न कदम नचालेर सरकार के हेरेर बसिरहेको छ ?’ भन्दै प्रश्न गरे ।

सत्तारुढ दलका अर्का सांसद बलराम बाँस्कोटाले समानताका लागि भूमिसुधार आवश्यक पर्ने भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सार्थक बनाउन समानतामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद मुक्ताकुमारी यादवले पानी नपरेका कारण तराई–मधेसका जिल्लामा धानबाली सुकेको भन्दै सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरिन् ।

सांसद चक्रप्रसाद स्नेहीले सदनमा सांसदले उठान गरेको विषयमा सरकारले ध्यान नदिएको भन्दै आपत्ति जनाए ।

सांसद रामप्रित पासवानले २०८७ सालसम्ममा साक्षर नेपाल बनाउने अभियान पूरा हुन नसक्ने अवस्थामा रहेको भन्दै दलित र मुस्लिम समुदायमा विशेष साक्षर अभियान सन्चालन गर्न आग्रह गरे ।

सांसद धनकुमारी खतिवडाले मेलम्चीको मुहान भएको स्थानमा भइरहेको आन्दोलनमा सरकारले श्रमिकमाथि दमन गरेको भन्दै विरोध गरिन् ।

सांसद रामलखन चमारले नवलपरासी जिल्लामा बन्द भएका सुविधा भन्सार कार्यालय पुनः सन्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...