डेंगी रोग नियन्त्रणबाहिर छैन : सरकार

news
तस्वीरः नारायण ढुंगाना/रासस ।

काठमाडौं, भदौ २६ । सरकारले डेंगी रोग नियन्त्रणभन्दा बाहिर नरहेको स्पस्ट पारेको छ ।

सामाजिक सन्जालमा डेंगी रोग नियन्त्रण हुन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता, सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रोग नियन्त्रणको प्रयास जारी रहेको र यसप्रति सरकार सचेत रहेको बताए ।

मन्त्री बाँस्कोटाले बिहीबार सिंहदरबारमा भएको नियमित पत्रकार भेटघाटकाक्रममा भने–‘नागरिक, स्वास्थ्य क्षेत्र, मन्त्रालय र अरु संघ–संस्थाबाट नियन्त्रणको प्रयास हुँदै आएको छ । रोग फैलँदै गएको भएपनि नियन्त्रणबाहिर भने छैन । तर, यसले दुःख भने दिएको छ । सबै मिलेर समाधान गर्नुपर्छ ।’

उनले रोग नियन्त्रणप्रति सरकार सचेत रहेको उल्लेख गर्दै नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक काम गरिरहेको जानकारी दिए ।

पछिल्लो प्रतिवेदनले विश्वमा झन्डै ४० करोड मानिस यो रोगबाट प्रभावित भएको र तीन अर्ब मानिस संक्रमणको जाखिममा रहेको तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको भन्दै उनले नेपालमा बिरामीको उपचारमा स्रोत–साधनको व्यवस्था मिलाउने र जनचेतना फैलाउने काम सरकारले गरिरहेको बताए ।

एक्लो सरकारी प्रयासलेमात्रै नियन्त्रण सम्भव नहुने भनाइ मन्त्री बाँस्कोटाको थियो ।

६ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गएको वैशाखदेखि फैलिएको सो रोग देशका ४८ जिल्लामा देखापरेको छ ।

वैशाख महिनायता करिब ७० हजारले रोगकाबारेमा स्वास्थ्य परीक्षण गराएकामा झन्डै ६ हजार रोगको संक्रमणबाट प्रभावित हुन पुगेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार बुधबारसम्म सो रोगका कारण सिन्धुपाल्चोकमा एक, सुनसरीमा एक, चितवनमा एक, काठमाडौंमा दुई र डोटीमा एक गरी ६ को मृत्यु भएको छ ।

बच्ने उपाय

एडिस एजेप्टाइ जातको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगी रोग सर्छ । रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेसी बेस्सरी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुन्छ ।

मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु नै रोगबाट बच्ने प्रमुख उपाय हो ।

पूरा शरीर ढाकिने गरी कपडा लगाउने, घर वरपर सफा राख्ने, पानी जम्न नदिने, पानी राख्ने भाँडा (पानीट्यांकी, ग्रागी, बाल्टिन, ड्रम, बट्टा आदि) सधैं छोपेर राख्नुपर्ने चिकित्सकको सुझाव छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...