अर्घाखाँचीमा सुविधासम्पन्न अस्पतालको अभाव

news

-सागर महत/ईमे

अर्घाखाँची । अर्घाखाँचीमा एउटा पनि सुविधासम्पन्न अस्पताल नहुँदा जिल्लाबासी समस्यामा परेका छन् ।

तीन दशकअघि स्थापना भएको जिल्ला अस्पतालमा सेवासुविधा थपिन नसक्दा सामान्य बिरामी पर्दा पनि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ ।

अर्घाखाँचीमा पछिल्लो समय भाइरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको छ । जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा कतिपय बिरामीहरु अन्यत्रै जानुपर्ने छ । 

अहिले जिल्ला अस्पतालको ओपिडीमा दैनिक १ सय ५० देखि २ सयभन्दा बढी र इमरजेन्सी कक्षमा ५० देखि एक सय जना बिरामी आउने गरेको जिल्ला अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले जानकारी दिए । 

बिरामीको यो संख्या पहिलेको तुलनामा झण्डै चार गुणाले बढी हो । तर गुणस्तरीय स्वास्थ्य सुविधाबाट सेवाग्राही वञ्जित छन् ।

स्थापना भएको ३० वर्ष बितिसक्दा पनि जिल्ला अस्पतालमा सेवासुविधा थपिन सकेका छैनन् ।

अस्पतालका मेसिन र औजार पनि पुराना र कम गुणस्तरका छन् । सामान्य विरामी हुँदा पनि अस्पतालले रिफर गरिदिने भएकाले अन्यत्रै जानुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।

चुनावको बेला नेताहरुले ५० शैयाको अस्पताल बनाइदिने भने प्रतिबद्धता जनाए पनि अहिलेसम्म यहाँको समस्या सम्बोधन गर्न नसकेको स्थानीय रामचन्द्र पोखरेलको गुनासो छ ।

जिल्लाको सबैभन्दा ठूलो भनिएको अस्पतालमा ब्लड बैक पनि छैन । त्यस्तै एक्सरे मेसिन पनि पुरानो र सादा छ ।

सुविधासम्पन्न अस्पताल नहुँदा बुटवल, पाल्पा, काठमाडौलगायतका स्थानमा गएर उपचार गर्नुपर्ने बाध्यतामा जिल्लाबासी गुज्रिएका छन् ।

५० शैयाको अस्पताल निर्माणका लागि राजनितिक नेतृत्वबाट उचित सहयोग नहुँदा  फाइल मन्त्रालयमै रोकिएकाले काममा अवरोध भएको भनिएको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...