एनआरएनए बलियो बनाउने मेरो ‘मन्त्र’

news

-डा. हेमराज शर्मा

विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको हो । हाम्रा अग्रजहरुको अथक प्रयास र समर्पणले गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्रको रुपमा स्थापित भैसकेको छ । स्थापना भएको १६ वर्षको अवधिमा ८१ देशमा औपचारिक संजालको विस्तार गरेर बाहिर प्रवासमा बस्ने नेपाली समुदायलाई एउटै मालामा जोड्न सफल भएको छ । गैरआवासीय नेपाली सम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकता, आप्रवासी कामदारहरुसँग जोडिएका ऐन कानून आदिमार्फत गैरआवासीय नेपालीहरुका हक हितको सम्बोधन भएका छन् । यस्ता कानुनी व्यवस्थाले हामीमा मातृभूमी प्रतिको दायित्व झन् थपिएको छ ।

सन् २००३ मा संघको स्थापनाको समय भन्दा हामी अहिले एउटा छुट्टै ‘इरा’मा आइपुगेका छौं । यस अवधिमा धेरै प्रविधिले फड्को मारेको छ । देशको राजनीति स्थिति र अन्तर्राष्ट्रिय आर्थिक धरातलमा व्यापक परिवर्तन आएको छ । बाहिर बस्ने नेपालीहरुको संख्यात्मक र गुणात्मक बढोत्तरी हुनुका साथै उनीहरुको आर्थिक तथा पेसागत अवस्था सवल बन्दै गएको छ । दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरु (विदेशमा जन्मे हुर्केको पुस्ता) को  संख्या क्रमशःबढ्दो छ । संघका संस्थापकहरु यतिखेर संघको सकृय नेतृत्वमा हुनुहुन्न । बदलिएको यस परिस्थितिमा गैरआवासीय नेपाली संघलाई समय सापेक्ष विकास गर्ने र सुदूर भविष्यको रोडम्याप तयार गर्ने अवसर यसपछिको पुस्तालाई आएको छ । यस ऐतिहासिक घडीमा म पनि यो प्रक्रियाको एक हिस्सा बन्न सक्छु भन्ने आत्मविश्वास छ ।

म लगातार १४ वर्षदेखि गैरआवासीय नेपाली संघमा सक्रिय रहेर यस अभियानमा निरन्तर लागिरहेको छु । गैरआवासीय नेपाली संघ जापानको महासचिव, दुई कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, आईसिसि प्रवक्ता हुँदै विगत तीन कार्यकाल संघको सल्लाहकार छु । विधान समितिको सदस्यबाट शुरु गरेर पछिल्लो तीनकार्यकाल यस समितिको संयोजकको भूमिका निर्वाह गरिसकेको छु ।

यस समितिमा रहेर संघको नयाँ विधान(२००७ मा परिमार्जित) को खाका कोर्नेदेखि संघका अधिकांश नियमावलीहरु निर्माण गर्ने सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छु । यो बीचमा सन् २०१८ को एनआरएन प्रथम विश्व विज्ञ सम्मेलनको संयोजन गर्ने अवसर पनि मिल्यो । कार्यकारी पदमा नरहँदा पनि संघले आयोजना गरेका सबै विश्व सम्मेलन, क्षेत्रीय सम्मेलन र महत्वपूर्ण बैठक गोष्ठीमा भागलिँदै आएको छु । हालसम्मका पाँचवटै अध्यक्षहरु (उपेन्द्र महतो, देवमान हिराचन, जीबा लामिछाने, शेष घले र भवन भट्ट) को विभिन्न समितिमा रही प्रत्यक्ष सम्पर्कमा रहेर काम गरेको अनुभव छ । गैरआवासीय नेपालीहरुको नागरिकता तथा मतदान अधिकारलगायतका आप्रवासी हक हितका विषयमा राष्ट्रिय मिडियाहरुमा कलमचलाउँदै संघको वास्तविकता सुसुचित गराउँदै आएको छु ।

संघको ऐतिहासिक दस्ताबेजको संकलन, प्रकाशन, तथा संघ र यसका अभियानसम्बन्धी लेख तथा रचना प्रकाशन गरी जनमानसमा पुर्याएको छु । संघभित्रका यी अनुभव साथै मैले बेलायतको एक प्रतिष्ठित विश्वविद्यालय, जापान सरकारको राष्ट्रिय प्रयोगशालामा अध्यापन र अनुसन्धानबाट आर्जन गरेको अनुभवबाट पनि गैरआवासीय नेपाली संघ लाभान्वित हुनेछ भन्ने विश्वास छ । यसर्थ म महासचिवमा निर्वाचित हुँदा गैरआवासीय नेपाली संघमा प्राज्ञिक वर्गको प्रतिनिधित्व हुनुका साथै संघमा यो वर्गको सहभागितालाई उत्साहित गर्नेछ । जसले गर्दा ज्ञान, सीप र प्रविधि नेपालमा भित्र्याउने संघको योजनामा टेवा मिल्ने विश्वास छ ।

यतिबेला स्पष्ट दृष्टिकोण, कार्ययोजना र प्रतिबद्धताका साथ अघि बढेको छु । संघ बलियो भयो भने मात्र मातृभूमीका लागि केही गर्न सकिन्छ भन्ने विश्वासका साथ संघलाई संस्थागत रुपमा बलियो बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ । संघलाई बलियो बनाउने सात निर्देशक सिद्दान्त (मन्त्र)लाई आत्मसात् गर्दै महासचिवको हैसियतमा काम गर्ने प्रतिबद्दता जाहेर गर्दछु ।

-सबैको एनआरएनए

-सवल र जीवन्त एनआरएनए 

-स्मार्ट एनआरएनए

-परिणाममुखी एनआरएनए 

-दीगो एनआरएनए

-सीप, ज्ञान र नवप्रवर्धनका लागि एनआरएनए

-उत्तरदायी र पारदर्शी एनआरएनए

सबैको एनआरएनए : अहिले संघमा अत्यन्तन्यून संख्यामा गैरआवासीय नेपाली आवद्ध छन् । महिला, युवा, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुको सहभागिता अत्यन्त न्यून वा शून्य छ । आम गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली संघ मेरो पनि हो भन्ने अपनत्व महसुस गराउन संस्थागत संरचना आवश्यक रहेकोले परिवर्तन गरिनेछ ।

–भिजन २०२० एण्ड बियोण्डको मर्म अनुरुप युवा, महिला, वैदेशिक रोजगार, लगानी, मानवकल्याण, प्राज्ञिक विभाग गरी ६ विभागको गठन गर्ने गरी संस्थागत संरचनामा परिवर्तन गरिनेछ । विभागको नेतृत्व ६ जना उपाध्यक्षहरुले गर्नेछन । सम्वन्धित क्षेत्रमा दक्षता हाँसिल गरेको व्यक्ति नेतृत्वमा चुनिने सुनिश्चित हुनेगरी विधानमा परिवर्तन गरिनेछ । अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यहरु आफ्नो दक्षता अनुसारको विभागको सदस्य रहनेछन् । हालका समितिहरुले यी विभागहरु अन्तरगत कार्य गर्नेछन् । विभागहरुको कार्य सम्पादन गर्न सचिवालयमा आवश्यक कर्मचारी छुट्याइनेछ ।

–दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई संघ र नेपालसँगको सामीप्यता कायम गर्न हरेक राष्ट्रिय परिषदमा एउटा छुट्टै निकायको व्यवस्था गरिनेछ । नेपालका विश्वविद्यालय, शैक्षिक तथा व्यवसायिक संस्थाहरुमा इन्टर्नसिप गर्न सक्ने व्यवस्था मिलाइनेछ । दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई नेपालको राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिन प्रेरित गरिनेछ ।

–वैदेशिक रोजगारीका समस्या र सम्भावानाकाबारे एक श्वेतपत्रतयार गरिनेछ ।  यसका लागि यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुसँग सहकार्य गरिनेछ । प्रस्तावित ‘वैदेशिक रोजगार कोष’का लागि पञ्जीकृत सदस्य शुल्कबाट एक डलर छुट्टाउन विधानमा व्यवस्था गरिनेछ ।

–प्रस्तावित रु १० अर्बको संयुक्त लगानी कोषममा आईपीओमार्फत थोरै आम्दानी हुने नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिने छ । 

संघको उद्देश्य र कार्यक्रमहरु बारे आम गैरआवासीय नेपालीहरुलाई सुसूचित गरिनेछ । यसका लागि सामाजिक सञ्जाल, विद्युतीय सन्चार माध्यम, विभिन्न प्रशिक्षण सामाग्री (डकुमेन्ट्री, न्यूजलेटर आदि) को प्रयोग गर्नुका साथै विदेशस्थित नेपाली संघ संस्थाहरुसँग सहकार्य गरिनेछ । संघले अहिले सञ्चालन गरेको ‘मेम्बरसिप बेनिफीट’ कार्यक्रमलाई व्यापक बनाइनेछ ।

सबल र जीवन्त एनआरएनए:  गैरआवासीय नेपाली संघलाई अन्तर्राष्ट्रिय स्तरको नमूना संस्थामा विकास गरी संघलाई रिब्रान्डिङ गरिनेछ । 

–संघको काठमाडौंस्थित सचिवालयलाई अझ बढी व्यवस्थित गरिनेछ । कर्मचारीहरुको दक्षतालाई अभिवृद्धी गर्नुका साथै सचिवालयलाई प्रविधियुक्त बनाईनेछ । 

–नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग प्रभावकारी संवाद र सहकार्य गर्न एक विशेष संयन्त्रतयार गरिने छ ।

–नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायबीच समन्वय गर्न पुलको रुपमा काम गरिनेछ । गैरआवासीय नेपालीहरुलाई आफू बसेको देशका स्थानीय समुदायसँग ‘इन्ट्रीगेसन’ गर्न तथा स्थानीय सरकारसँग सहकार्य गर्न राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुको क्षमता वृद्धि गरिनेछ ।     

–एनसीसीहरुको स्वायत्ततालाई आत्मसात् गर्दै संघमा अनुशासन कायम गर्न विधि, विधान र नियमावलीलाई अक्षरस पालना गरिने छ ।

–आइसीसी र यो सँग आवद्ध निकायहरु (एनसीसी, समिति, टाक्सफोर्स, क्षेत्रीय संयोजक) बिच प्रवाभकारी संवाद र समन्वय गरिनेछ ।

–संघसँग आवद्द पदाधिकारीहरुलाई प्रशिक्षणको व्यवस्था गरिनेछ ।

स्मार्ट एनआरएनए : गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाइनेछ ।

–संघका सम्पूर्ण गतिविधिलाई समावेश गरी एउटा ‘एनआरएनए एप्स’को विकास गरिनेछ । 

–संघका प्रत्येक सदस्यलाई ’बारकोड’ सहितको एक डिजिटल परिचयपत्रको व्यवस्था गरिनेछ, ताकि हरेक सदस्यले परिचय पत्र आफु अनुकूल हुने डिभाइसमा डाउनलोड गर्न र उपयोग गर्न सकून् । यस्तो डिजिटल परिचयपत्रको व्यवस्थाले भौतिक परिचयपत्र छाप्ने र वितरण गर्ने लाखौं रुपैयाँको बचत हुनेछ । सो परिचयपत्रमा स्थायी सदस्यता नम्बर कायम गरिने छ ।

–संघका सम्पूर्ण सदस्यको इलेक्ट्रोनिक डाटाबेस तयार गरिनेछ । डाटावेसको माध्यमबाट ईलेक्ट्रोनिक प्रविधीलाई प्रयोग गरी संघ र पञ्जीकृत सदस्यहरु बीच सिधा संवादको व्यवस्था गरिने छ । संघले हालप्रयोग गर्दै आएको एमआईएस सिष्टमलाई सरल र सुरक्षित बनाइने छ । सदस्यहरुको व्यक्तिगत विवरण र कागजात एनसीसीको मातहतमा जनरल डाटा प्रोटेक्सन रेगुलेसनको पालना गर्दै सुरक्षित राखिनेछ । 

–आइसिसिका बैठक सञ्चालन, मिटिङ माईनटको रेकर्ड, मतदान, उपस्थितिको रेकर्ड राख्न एउटा छुट्टै ईप्रोग्राम तयार गरिनेछ ।

–भविष्यमा अनलाइन भोटिङको व्यवस्था गर्न ब्लकचेन, ईलेक्सन रनर जस्ता भरपर्दा प्रविधिवा सेवा प्रदायकको प्रयोगबारे अध्ययन गरिनेछ ।

–संघसँग सम्वन्धित दस्ताबेजहरुलाई ईलेक्ट्रोनिक रुपमा परिणत गरी सहज उपलव्ध हुने व्यवस्था गरिनेछ । 

–एनसीसी तथा आइसीसीका पदाधिकारीहरुले कार्य सम्पादन गर्दा संघको आधिकारिक ईमेल प्रयोग गर्न निर्देशित एवं व्यवस्थित गरिने छ ।  

परिणाममुखी एनआरएनए : गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गरिने छ । 

–संघको दुईवर्षे कार्ययोजना सहभागीमूलक तरिकाले निर्धारण गरी कार्यक्रमको क्यालेण्डर तयार गरिनेछ । आइसीसी र एनसीसीका गतिविधि यिनै कार्ययोजनामा केन्द्रित हुनेछन् ।

–परियोजना छनोट सम्बन्धी नीति बनाइने छ । एनआरएनएको क्षमताले भ्याउने मात्र योजनाहरु छनोट गरिनेछ । योजनाको छनोट, पुनरावलोकन र मूल्याङ्कन गर्न विज्ञहरुको समिति बनाइनेछ । 

–हाल आयोजना हुँदै आएका क्षेत्रीय बैठकको सट्टा निश्चित योजनामा आधारित केन्द्रित विषयगत कार्यशाला र गोष्ठीहरुको आयोजना गरिनेछ । यस्ता कार्यक्रमहरुलाई प्रभावकारी र मितव्ययी बनाइने छ । 

–नेपालमा सञ्चालन गरिने ‘एक एनसीसी एक परियोजना’ जस्ता कार्यक्रममा एनसीसीहरु बीच सहकार्य गर्ने वातावरण तयार गरिनेछ । नेपालभित्र गरिने परियोजनाहरु नेपालका स्थानीय र संघीय सरकारसँग समन्वय र सहकार्यमा परिचालन गरिनेछ ।

–संघले नेपालमा गर्ने गतिविधी र कार्यक्रमहरु काठमाडौं बाहिर बिस्तार गरिनेछ ।

दीगो एनआरएनए : सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नुपर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतहरुको खोजी गरिनेछ । 

–भिजनः२०२० अनुसार विधानमा व्यवस्था भएको एनआरएनए फाउण्डेसन स्थापना गर्न सचिवालयमा छुट्टै कर्माचारी छुट्टयाइने छ । एनआरएनए फाउण्डेसन सञ्चालन सम्बन्धी विनियम तयार गरिनेछ । यस फाउण्डेसन मार्फत संसारभरी रहेका गैरआवासीय नेपालीले आफ्नो इच्छा अनुसारको रकम सहयोग गर्न सक्ने छन् भने समाज कल्याणका सबै कार्यक्रम एनआरएनए फाउण्डेसन मार्फत गरिनेछ ।

–गैरआवासीय नेपाली संघको सञ्जाल प्रयोग गरी सञ्चालनमा आएका वा सञ्चालन गर्न चाहने व्यवसायबाट लाभांशको न्युनतम् प्रतिशत एनआरएनका लागि छुट्याउनु पर्ने व्यवस्था गरिनेछ ।

–संसारभरि छरिएर रहेका एनआरएनएका सदस्यहरुसमक्ष (इलेक्ट्रोनिक डेटाबेस प्रयोग गरेर) आफ्नो उत्पादनको  विज्ञापन पुर्याउन चाहने व्यवसायिक संस्थाहरुबाट शुल्क लिइनेछ ।

–कल्याणकारी र अध्ययनतथा अनुसन्धान परियोजनाका लागि अन्तर्राष्ट्रिय दातृ निकायहरुबाट आर्थिक सहयोग लिन विज्ञहरुको एक समिति गठन गरिनेछ ।

ज्ञान, सीप र नवप्रवर्धनका लागि एनआरएनए : गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र प्रविधि भित्र्याउने वातावरण तयार गर्न एउटा छुट्टै विभागको गठन गरिनेछ । 

–अहिले सञ्चालनमा रहेका ‘एनआरएनए एकेडेमी’, ‘नेपाल पोलेसी फोरम’, ‘एनआरएन साइन्स फाउन्डेसन’, ‘स्कील नलेज एन्ड इनोभेसन कमिटि’ र प्राविधिक समितिबीच समन्वय गर्नका लागि यी सबै निकायहरुलाई एउटै विभाग अन्तर्गत ल्याइनेछ ।

–फस्ट एनआरएन ग्लोबल नलेज कन्भेसनले सिफारिस गरेका सुझावहरुको कार्यान्वयन गराउन पहल गर्ने तथा यस्तो सम्मेलनलाई निरन्तरता एवं आवश्यकता अनसार विस्तार दिइने छ । नेपाल सरकार, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाली विश्वविद्यालयहरु, साथै नेपालभित्र र बाहिर रहेका पेसागत संस्थाहरुसँग सहकार्य गर्दै यस सम्मेलनको क्षेत्रलाई अझ बढी व्यापक बनाइनेछ ।

–सम्मेलनलाई ज्ञान, सीप र प्रविधिको आदान(प्रदान गर्ने थलोका रुपमाविकसित गरिनेछ । यस्ता कार्यक्रमहरु मार्फत  नेपालमा ज्ञान  र सीपमा आधारित अर्थतन्त्र(नलेज बस इकोनमी) को विकासको लागि  गैरआवासीय नेपालीहरुलाई उत्प्रेरित गरिनेछ ।

–नेपाल सरकारको नीति तथा योजना निर्माण तहमा गैरआवासीय नेपालीहरुलाई प्रतिनिधित्व गराउन लबिङ गरिनेछ ।

–नेपाल सरकारले सुरु गरेको ‘ब्रेन गेन सेन्टर’ तयार गर्न सहकार्य गरी बढी भन्दा बढी गैरआवासीय नेपाली दक्ष र विज्ञको विवरण तयार गर्न सहयोग गरिनेछ ।

उत्तरदायी र पारदर्शी एनआरएनए:  गैरआवासीय नेपाली संघका पदाधिकारीहरुलाई संघका सदस्यप्रति उत्तरदायी बनाउन वैधानिक व्यवस्था गरिने, निर्वाचनलाई मर्यादित र मितव्ययी बनाईने साथै आर्थिक पारदर्शिता कायम राख्न सचिवालयमा एक संयन्त्रको स्थापना गरिनेछ ।  

–आम गैरआवासीय नेपाली र एनसिसिका आवाज सुन्ने र सम्बोधन गर्ने व्यवस्था गरिनेछ । एनआरएनए र आम गैरआवासीय नेपालीबीच सिधा सम्पर्क गर्नका लागि विद्युतीय माध्यमबाट ‘गैरआवासीय नेपालीसँग सिधा संवाद’ कार्यक्रम सञ्चालन गरिनेछ । यस्ता कार्यक्रममा गैरआवासीय नेपालीका चासोका विषय (वैदेशिक रोजगार, मतदानको अधिकार, नागरिकता, सम्पत्तिको अधिकार) बारे  पदाधिकारीहरुसँग प्रत्यक्ष संवाद गर्न सकिनेछ । 

–पदाधिकारी संघका सदस्यप्रति उत्तरदायी रहने, र उच्च आचरण कायम राख्नुपर्ने साथै संघलाई बिशुद्ध गैर(राजनीतिक सामाजिक संस्थाको रुपमा कायम राख्ने वैधानिक व्यवस्था गरिनेछ । एनसिसि र आइसिसिका निर्वाचनलाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाइने छ । 

–एनआरएनएका महत्वपूर्ण सूचना प्रवाह गर्न एकल आधिकारिक संयन्त्र प्रयोगमा ल्याइनेछ । संघका दीर्घकालिन असर गर्ने र अन्य महत्वपूर्ण निर्णयहरु गर्दा विधानसम्मत संघका सदस्यहरु, एनसिसि र आइसिसिका पदाधिकारीहरुसँग परामर्श गरिनेछ ।  

–एनआरएनको आर्थिक विवरण प्रत्येक तीन महिनामा वेबसाइटमार्फत सार्वजनिक गरिनेछ ।

यी प्रतिवद्धताहरु मेरो व्यक्तिगतअनुभवको आधारमा प्रस्ताव गरेको हुँ । यी अपूर्ण हुन सक्छन । यसका लागि सबैको उपयुक्त सल्लाह र सुझावहरुलाई पनि आत्मसात गर्दै मेरो कार्ययोजनामा राख्नेछु । विगतमा विधि विधान र संघको हितलाई केन्द्रमा राखेर निर्णय गर्दा कहिलेकाहीं अग्रज र साथीहरुको चित्त दुखेको भए क्षमादिनु हुनेछ भन्ने विश्वास गर्दै सबैले सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ । एनआरएन सबल मबनाउने मेरो ‘मन्त्र’मा सबैको साथ र सहयोग जरुरी रहनेछ । लेखक : एनआरएनएको आगामी कार्यकाल (सन्२०१९–२०२१) का लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसि)को महासचिव पदका उम्मेदवार हुन्) hem_raj_sharma@hotmail.com

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...