हिराकाजी अर्थात गणेशमान साँच्चै राजनीतिका अमूल्य हिरा

news

-संजिव कार्की 

गणेशमान नामै काफी छ । नेपाली राजनीतिमा गणेशमान चिनाई रहनुपर्ने नाम होइन । यद्यपी,  उनको स्मृति दिवसमा कतिपय प्रसंग र घटना अनि उनको राजनीतिक मुल्य पुनः स्मरण गर्न सकिएन भने स्मृति विस्मृतिको गर्तमा पुग्ने खतरा रहन्छ । गणेशमान राजनीतिमा सधै सम्झनुपर्छ ताकी बर्तमान पुस्ताले मात्रै होइन भावी पुस्ता राजनीतिका पात्रहरुले पनि उनको जीवनीबाट सिक्ने कुरा धेरै छन । धेरै सिक्न सकेनन भने पनि थोरै मात्र अनुसरण पनि यथेष्ट हुन्छ, पर्याप्त हुन्छ, नैतिकता र इमान खडेरी लागेको राजनीतिमा ।  उनका कमी र कमजोरीलाई विश्लेषण गरेर अपूर्णतामा पूर्णता प्राप्त गरुन । निष्ठा ,त्याग ,बलिदान ,समर्पण र अडानको राजनीति बारे सबैलाई ज्ञान र प्रेरणा मिलोस । ती माहान मुक्ति योद्दा जसको २२औं स्मृति दिवसको यो साप्ताहमा हार्दिक श्रद्दान्जली । श्रद्दा सुमन अर्पण गर्न पाउदा गर्वानुभूति गर्दछु ।  मुक्ति योद्दा गणेशमान सिंहको फराकिलो छाती र कठोर अडान नेपाली राजनीतिक परिदृश्यको अद्दितिय घटना, पात्र र प्रवृति हो । राजनीतिमा इमान निष्ठाको प्रेरणा पुन्ज हुन् गणेशमान । 

गणेशमान नेता मात्रै होइनन ,राजनेता हुन् । प्रधानमन्त्री, राष्ट्रपति होइनन, बनेनन् तर उनको राजनीतिक उचाई कुनै राजकीय पदसँग दाँजेर जोखेर राख्न सकिन्न । राजनीतिमा बेग्लै र आफ्नै, छुट्टै उचाई उक्ले गणेशमान । उनको उचाई कुनै राजकीय पदको उचाई होइन राजकीय पदमा नपुगे पनि जनजनको , मनको श्रद्दा र इज्जतको उचाई उक्लन सकिन्छ भन्ने बिरलै पाइने उदाहरणको नाम हो गणेशमान सिंह । राजनीतिको अत्यन्त कठिन दुरुह मार्गमा अनवरत हिड्ने , कहिल्यै नथाक्ने, नडराउने, सिद्दान्तनिस्ठ आदर्श र अथक मेहनतका प्रतिमूर्ति हुन् गणेशमान । राणासंग लडे, पंचायत संग भिडे । अनेकौ यातना सहे तर आफुले हिंडेको प्रजातन्त्रको बाटोबाट कहिल्यै विचलित बनेनन् । बाटो मोड्ने मनस्थितिमा पनि कहिल्यै पुगेनन । पंचायतले दिएको लोभको गुलियोमा फसेनन ।

व्यक्तिगत रुपमा उनको जिन्दगी सुगम थियो तर राजनीतिको अक्करे भीरमा हिंडेर सुगमता भुले, जनताको न्यानो साथ र माया रोजे । प्रजातान्त्रिक आन्दोलनमा नै आफ्ना सबै समय र सामर्थ्य खर्च गरे । देशलाई सकेको दिए लिएनन् । आफ्नै पार्टी भित्रको असंगतिसंग अपमान तिरस्कार र तिकडम झेल्दै अनवरत चिच्याए , कराए, सम्झाए बुझाए अन्ततः कांग्रेस बाटो बिराउँदै गयो । गणेशमान आफ्नै पार्टी भित्रको विसंगति हेरेर बस्न सकेनन । पार्टी परित्याग गरे तर कसैसंग झुक्न गएनन् , कसैसंग हार्न जानेनन् । व्यक्तिगत रुपमा मानवीय कमजोरीको कारण कतै थोरै र नगन्य मात्रामा चुके होलान तर पार्टी र देशलाई चुक्न दिएनन हराउन दिएनन, जतिबेलासम्म पार्टीमा उनको बोली बिक्यो । रैतीबाट नागरिक बन्ने र बनाउने अभियानमा कहिल्यै विश्राम लिएनन् जीवन पर्यन्त ।

नागरिक हक अधिकारको लागि आफ्नै पार्टीसंग पनि जुधिरहे , लडिरहे । असल सिस्टम बनाउन गनगन गरिरहे ,खबरदारीको लौरो उज्याइरहे । राजनीतिको लामो दौडमा जति कुदे पनि आफ्नो व्यक्तिगत अभिष्ट र चाहाना भन्दा पर रहेर जनाधिकारको वकालत गरिरहे । शान्ति र विकासको पक्षमा नारा लगाइरहे । राजनीतिक परिवर्तनपछि आर्थिक र सांस्कृतिक क्रान्ति मार्फत देशलाई समुन्नत राष्ट्र बनाउने उनको सपना थियो तर उनको पार्टीले राजनीतिक क्रान्तिपछि सोचे जसरी जनअपेक्षाअनुरूप सामाजिक र आर्थिक क्रान्तिको छलांङ मार्न सकेन । जसको फलस्वरूप जनतामा नैराश्यता पलायो र जनताको त्यो नैराश्यतामा माओवादीहरुले राजतन्त्र समेत फाल्ने सपना देखाएर हिंसात्मक विद्रोह र व्यक्तिहत्याको राजनीति मार्फत देशलाई राजनीतिको नयाँ कोर्ष दिन बाध्य बनाए ।

यदि गणेशमानले देखेको आर्थिक क्रान्तिको सपनाले मुर्त रुप लिन पाएको भए त्यो हिंसात्मक विद्रोह, त्यतिका मान्छेको जीवन र रगत खेर जान पाउदैन थ्यो कि ? जनअपेक्षा जसले पुरा गरे पनि पुरा गर्नु थियो । जुनसुकै ब्यबस्था पनि साधन हो साध्य होइन ब्यबस्था आफैंले केहि गर्ने होइन ब्यबस्था मार्फत अवस्था फेर्न सहजता खोजिने हो । ब्यबस्था फेरिए पनि प्रवृति र नीति उस्तै भएपछि आज पनि जनजीवनमा सकरात्मक परिवर्तन भएको छैन । दृढ अठोट र उच्च नैतिक चरित्र र आदर्शको नेता नभएसम्म ब्यबस्था आफैंले केही दिन सक्तैन भन्ने उदाहरण अहिले देशको छ । तसर्थ गणेशमानहरुको त्याग र बलिदान अनि उनले स्थापना गरेका मुल्य र मान्यता संधै सम्झने श्रद्दा गर्ने र अनुशरण गर्ने राजनीतिका घटना र परिवेशहरु हुन ।

बर्तमान नेपाली राजनीतिमा जुन जातीय, क्षेत्रीय कुरा लिएर एक अर्का जाति, जनजातिप्रति अविश्वास संसय र साँघुरो दृष्टि राखिन्छ ।  घृणा र लान्छना लगाइन्छ । सत्ता र शक्ति आर्जनको लागि जुनसुकै मुल्य चुकाएर सम्झौता गरिन्छ ।  यस्तो बेला गणेशमानको फराकिलो छाती र ठुलो मुटुको सम्झना गरेर उहाँले देखाएको राजनीतिको फराकिलो राजमार्गको चर्चा सान्दर्भिक र प्रेरणादायी बन्ला । वि.स.२०४६ सालको परिवर्तनको कुशल कमान्डर सर्वोच्च नेता गणेशमान सिंह जसलाई जनान्दोलनको सफलतापछि तत्कालिन राजा बिरेन्द्रले प्रधानमन्त्री बनेर राज्यको ब्यबस्थापकीय भूमिकाको नेतृत्व लिन अफर गरे । गणेशमानको प्रधानमन्त्री पद पाउने अवसर कुनै पार्टीको अब्जेक्सनको विषय पनि थिएन तर आफ्नो कमजोर स्वास्थ्य भएको कारण आफुले प्रधानमन्त्री नबन्ने तर आफ्ना अनन्य मित्र नेपाली कांग्रेसका कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराईको लागि भनिदिए । यसबाट थाहा लाग्छ गणेशमानको राजनीतिमा उचाई सानो मुटु र संकुचित छातीको कारण बनेको होइन । आफु जनजाती समुदायको , पार्टी र सबैले मानेको सर्वसम्मत नेता त्यो सिनियारिटि बिर्सेर गणेशमानले उच्च ब्राम्हण कुलका कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा सिफारिस गरेर राजनीति जातभातमा अल्झने होइन । ब्यवहारिक र सैद्धान्तिक प्रयोग देखाएर त्यागको अनुपम उदाहरण र मानक बनाए । दुनियालाई आश्चर्य चकित हुने गरि नवीन आदर्शको नमुना प्रदर्शन गरे । गणेशमानको त्यो दुर दुष्टी र चौडा छाती सँधै बन्दनीय र उदाहरणीय छ विश्वकै लागि ।

त्यसैले मैले आफुले धेरै ठाउँमा उल्लेख गर्ने यो भनाइ पुनः यहाँ पनि राखेर सान्दार्भिकता पुष्टी गर्न चहान्छु । जात योग्यता र अयोग्यता दुवै होइन, हुनु हुँदैन, बनाईनु घातक छ । गणेशमान जात धर्म र लिंगमा होइन क्षमता र दक्षतामा विश्वास गर्थे । पदको लागि जेसुकै गर्न चाहने र सँधै पदमा नै बसिरहनुलाई जिन्दगीको अभिस्ट ठान्नेहरुको लागि गणेशमान अजिवका लाग्दा हुन । अरु पार्टी र नेतालाई त्यो अस्वाभाविक लागे पनि गणेशमान कै स्कुलिङमा हुर्केका, राजनीतिको क्यारिएर बनाएका कांग्रेस पार्टीका नेताहरु र स्वयं शेरबहादुर देउबालाई अझै ज्योतिषले सात पटकसम्म प्रधानमन्त्री हुन्छ भनेको छ भनेर कुदाकुद गरेको दृश्य देख्दा जनता अचम्मित र भ्रमित नबन्नु कसरी ? गणेशमानलाई नसम्झनु कसरी ? गणेशमानले जसलाई प्रधानमन्त्री बनाउन स्पेस छोडिदिए उनले पनि प्रधानमन्त्रीको कुर्सी छोड्दा आफ्नो इमान छोडेनन् । एउटा ट्यांका छाता र सुराही लिएर पसेका भट्टराई निस्कदा पनि जे लिएर गएका थिए त्यहि लिएर निस्के । नैतिकता र आदर्श च्युत बनेनन् । सत्ता छोड्दा राष्ट्रिय कलंक नबोकी आए ।  आज सत्तामा जानेहरु सत्तामा पुग्नुअघि बनेको भएको नैतिकता, इमान र निष्ठा छोडेर नग्न भएर निस्कन्छन । वर्षौ जेल बसेर त्याग तपस्या गरेर बनेको छबी धुलो माटोमा फालेर बस्छन, पस्छन, निस्कन्छन । यस्तो बेला निष्ठाका लौहपुरुष गणेशमान सम्झनु श्रेयस्कर छ । नेपाली कांग्रेसको राजनीतिमा वीपी कोइरालाको निर्णायक खुबी र गणेशमानको अडानको कारण नै संकट बिचमा पनि कांग्रेसरुपी डुंगा निर्बाध चलिरह्यो । कठोर, दमन, मृत्युदण्ड, जेल, कारावास, प्रवास सबै खेपेर कांग्रेस बाँचिरहनुमा गणेशमानको निष्ठा, अडान र साहस पनि कांग्रेसको एक दरिलो खम्बा थियो ।

गणेशमान पनि मान्छे हुन् उनका पनि केहि कमजोरी सतहमा आएका थिए । उनका त्याग संघर्ष बलिदानको प्रसंसा मात्रै गरियो भने इतिहास अधुरो र अपूर्ण हुन् सक्छ । मेरो विश्लेषण र बुझाई उनको बारेमा कमै होला तथापि मेरो ब्रम्हले देखेको कमजोरीको पाटो पनि उल्लेख गर्ने दुस्साहस गरेको छु । आफुले प्रधानमन्त्री पद त्यागेको मान्छे २०४८ को चुनावमा श्रीमती मंगलादेवी र छोरा प्रकाशमान दुवै जनालाई संसद उमेदवार बनाउने लालच नराखेको भए गज्जब हुन्थ्यो । अझ जनताले पराजित गरेपछि ‘काठमाडौंका जनता भेडा’ भनेर पराजयको पिडा आक्रोश रुपान्तरण गरेर जनताको अपमान नगरेको भए पनि हुन्थ्यो । सामान्य बिदेशी पुरस्कार अस्विकार गर्नु पर्थ्यो भनेर विश्लेषण पनि भएको पाइन्छ ।

बाल्यकालका हिराकाजी साँच्चिकै नेपाली राजनीतिका अमुल्य हिरा थिए । एउटा इतिहास थिए, जेलको ढलबाट राणाकालमै भाग्ने साहसी बिद्रोही थिए । त्याग र बलिदान अनि आदर्शका अनुपम योद्दा थिए । गणेशमानले छोडेको राजनीतिको त्यो बिरासत सबै नेपाली राजनितिज्ञको लागि अनुशरण गर्ने नैतिक आचरण र आदर्श राजनीतिको पैंचो लिने बिषय हो । आफु जित्ने र आजीवन संसद हुने मोह त्यागेर अर्को पुस्ता अर्थात प्रेम सुवाललाई संसदको ढोका खोलिदिनु नारायणमान बिजुक्छे रोहितको उदारता गणेशमानको छायाँ छवि हो । ५५ वर्षपछि राजनीतिमा नरहने गगन थापाको घोषणा अनि उज्जल थापाको आगामी अधिवेशनमा दलको नेतृत्व दावी नगर्ने वचनवद्धता अनि घनश्याम भुषालको यथार्थ कथन नेपाली राजनीतिमा देखिएका आशाका किरण र अध्यारो बाटोका जुनकिरी उज्याला हुन् । विराट गणेशमानबाट थोरै र केहि अंश लिएर राजनीतिको गल्लिमा हिड्ने कोही कोही मात्र हुदाँ पनि जनता राजनीतिबाट बिच्कने थिएनन ।

लौहपुरुष, प्रजातन्त्रका पिता, मुक्ति योद्दा, सर्वोच कमान्डर बरिष्ठ राजनीतिज्ञ आदि जस्ता जनसम्मान जनपदक, नेपाली जनताले आफ्ना प्यारा नेताको लागि दिएको जनस्तरको सबैभन्दा ठूलो र महत्वपूर्ण पदक तक्मा र मान सम्मान हुन । जनताको दिलमा बस्न कुनै सरकारी उच्च ओहोदा, प्रधानमन्त्री राष्ट्रपति नभए पनि फरक पर्दैन भन्ने उदाहरण भारतमा गान्धी र नेपालमा गणेशमानले प्रस्तुत गरेर विश्व कै ध्यान एशिया महादेशका यी दुई राष्ट्रले तान्नु चानचुने कुरा होइन । विश्वमा नेपालको चिनारी थप्ने होचा कदका अग्ला व्यक्ति गणेशमान सिंहलाई उनको महाप्रस्थानको २२औ स्मृति दिवसको पुनित अबसरमा नमन गर्दै यो आलेखको बिट मार्दछु ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...