महराको राजनीतिक यात्रा र पतन

news
फाइल तस्वीर ।

किशोरजंग थापा (इमेज)

काठमाडौं, असोज २० । बलात्कार प्रयासको आरोपपछि पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा वाम राजनीतिमा निकै छिटो छलाङ मार्दै अगाडि बढे ।

रोल्पा जिल्ला सेक्रेटरीबाट राजनीति गरेका महरा सभामुखजस्तो महत्वपूर्ण र गरिमामय पदमा पुगेपछि नैतिक विचलनका कारण यौन दुर्व्यवहारको आरोप खेपिरहेका छन् ।

वि.सं. २०३६ सालदेखि वाम राजनीतिमा होमिएका कृष्णबहादुर महरा कम्युनिस्ट राजनीतिमा लागेको करिब चार दशक भएको छ ।

राजनीतिभन्दा अगाडि रोल्पामा १२ वर्ष शिक्षण पेसा अंगालेका महरालाई अहिले पनि पार्टी तथा जिल्लामा धेरै कार्यकर्ताले ‘महरा सर’ भनेर नै चिन्दछन् ।

महरा २०४८ सालमा नेकपा (मशाल)को रोल्पा जिल्ला सेक्रेटरी बन्दै केन्द्रीय राजनीतिमा पाइला चालेका थिए । त्यही वर्ष उनी तत्कालीन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

संयुक्त जनमोर्चा बनेपछि महरा २०५० सालमा संसदीय दलको नेता बन्न सफल भए । तर, जनमोर्चा विभाजित भएपछि उनी सशस्त्र विद्रोहको नीति लिएको नेकपा माओवादीमा लागे ।

२०५२ सालमा सशस्त्र विद्रोहको घोषणा गरेको तत्कालीन नेकपा माओवादीमा उनी २०५३ सालमा केन्द्रीय सदस्य बने । उनी पार्टीमा अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतृत्वका विश्वसापात्र थिए ।

यही कारण उनी तत्कालीन माओवादीका तर्फबाट सरकारसँगको पहिलो वार्ता टोलीको संयोजक बने । उनको संयोजकत्वमा रहेको वार्ता समिति र सरकारबीच कुरा नमिलेर वार्ता भंग भएपनि महरा पार्टी प्रवक्ताकारुपमा केन्द्रीय राजनीतिमा रहिरहे ।

माओवादी शान्ति–प्रक्रियामा आएपछि अन्तरिम व्यवस्थापिका संसदमा सहभागिता जनाउँदा महरा संसदीय दलको नेता बन्न सफल भए ।

यसपछि कहिल्यै पदभन्दा बाहिर नरहेका महरा विगत १० वर्षमा पाँचपटक मन्त्री बन्दै उपप्रधानमन्त्रीसमेत बन्न सफल भएका थिए ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघि उनी माओवादीको महासचिव थिए ।

२०७४ सालको चुनावपछि उनी प्रतिनिधिसभाको सभामुख बन्दै मर्यादाक्रमको हिसाबले मुलुकको पाचौं शक्तिशाली पदमा पुगे ।

तर, यही शक्तिशाली पदको गरिमा र व्यक्तिगत आचरण ख्याल नगर्दा उनी यौनकान्डमा मुछिएका छन् ।

यौनकान्डमा मुछिएपछि महरा असोज १६ गते सभामुख पदबाट राजीनामा दिन बाध्य भए । उनको राजीनामापछि मोड्न खोजिएको यौनकान्डमा चरम दबाबपछि प्रहरीले छानबिन अगाडि बढाएको छ । यसैक्रममा महरा आइतबार पक्राउ परेका छन् ।

राजनीतिको शिखर चढ्दै गरेका ६० वर्षीय महराको राजनीतिक भविश्य के होला ? उनीमाथि लागेको नैतिक पतन देखिने फौजदारी आरोपबाट मुक्ति पाउलान् ? वा यही प्रकरणले उनको सम्पूर्ण राजनीतिक जीवन समाप्त होला ? त्यो त भविश्यले नै बताउनेछ ।

तर, इतिहासमै उपल्लो पदको व्यक्तिलाई नैतिक पतन देखिन गम्भीर फौजदारी आरोप लागेका व्यक्ति उनी नै भएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...