महराको नर्भिकमा स्वास्थ्य परीक्षण

news
कृष्णबहादुर महरा । फाइल तस्वीर ।

काठमाडौं, असोज २३ । प्रहरी हिरासतमा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महराको बिहीबार थापाथलीस्थित नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेलले महरा छारेरोगपीडित भएको र स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको जानकारी दिए ।

महराले स्वास्थ्य परीक्षणका लागि अस्पताल जान नमानेको तर स्वास्थ्यमा समस्या देखिएकाले प्रहरीले नै उनलाई अस्पताल लगिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

संघीय संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निर्वतमान सभामुख महरा उच्च रक्तचाप र मधुमेह रोगबाट पनि पीडित छन् ।

यही असोज १९ गते महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाट प्रक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो ।

पक्राउ परेकै दिन वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएका महराको रक्तचाप र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

हिरासतमै रहँदा समस्या आएपछि प्रहरीले अक्सिजनको व्यवस्था गरेको थियो । तर, समस्या थप बढेपछि परीक्षणका लागि अस्पताल पुर्‍याउनुपरेको प्रहरीले जनाएको छ ।

नर्भिक अस्पतालले महराको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक गरेको छैन ।

महराले आफूमाथि जबर्जस्ती करणीको प्रयास गरेको भन्दै गएको शुक्रबार पीडित भनिएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरीपछि प्रहरीले जिल्ला अदालत काठमाडौंको आदेश लिएर महरालाई नियन्त्रणमा लिएको थियो ।

यही असोज १२ गते आइतबार राति महराले आफूमाथि आफ्नै कोठामा आएर जबर्जस्ती बलात्कारको प्रयास गरेको भन्दै रोशनीले असोज १३ गते मिडियामार्फत् घटना सार्वजनिक गरेकी थिइन् । त्यसपछि असोज १४ गते महराले सभामुखबाट राजीनामा दिएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...