विपद्, शिक्षा र बालबालिकाको सिकाइ • Image Khabar Image Khabar


विपद्, शिक्षा र बालबालिकाको सिकाइ


डा. कृष्णप्रसाद पौडेल
२६ जेष्ठ २०७८, बुधबार १८:२९

विपद्, शिक्षा र बालबालिकाको सिकाइ

डा. कृष्णप्रसाद पौडेल
कोभिडको नयाँ भेरियन्टको कारण शैक्षिक क्षेत्र यसको मारमा छ र सबैभन्दा बढी असर बालबालिकाको पढाइमा परिरहेको छ । अहिले विद्यालय (वाल कक्षादेखि कक्षा १२ सम्म) जाने बालबालिकाको संख्या करिव ७५,००,००० (पचहत्तर लाख) र उच्च शिक्षा तहमा करिव (प्राविधिक र व्यवसायिक सहित) ५,००,०० (पाँच लाख) गरी करिव ८०,००,००० (असी लाख) विद्यार्थीहरूको दैनिक पठनपाठनमा ठूलो असर पारिरहेको छ । कोभिड एक प्रकारको विपद् नै भएकोले विपद्को समयमा पढाइ भन्दा पनि अरु कुराले महत्व पाउँदछन् । यसो भन्दा भन्दै पनि विपद्को समयमा विशेष प्रकारको सिकाइ अत्यावश्यक रहन्छ । विपद्ले सबैभन्दा पहिला सिकाइको वातावरणलाई असर पार्ने भएकोले यो आलेख विपदको समयमा आफू र आफ्नो परिवारलाई जोखिमबाट बाहिर राख्दै दैनिक रूपमा हुने सिकाइलाई निरन्तरता दिन सरकारले गर्नुपर्ने व्यवस्थापकीय कार्यको बारेमा विश्लेषणात्मक रूपमा प्रस्तुत गरिएको छ ।

विपद्को समयमा दैनिक रूपमा पढाइने कुराभन्दा पहिले समग्र नागरिकको सुरक्षा, स्वास्थ्य, खाद्यान्न जस्ता विषयवस्तुले प्राथमिकता पाउँछन् । तलको चित्रमा विपदको समयमा मुख्यतयाः ४ प्रकारका सिकाइ वा शिक्षा महत्वपूर्ण रहेको हुन्छ । जसले सुरक्षा, स्वास्थ्य, खाद्य र सामाजिक शिक्षालाई प्राथमिकतमा राखेको छ । यसको अतिरिक्त विपद्को समयमा सरकारद्वारा वालबालिकाको सिकाइलाई निरन्तरता दिन सकिन्छ सो को बारेमा अवधारणा प्रस्तुत गरिएको छ । सर्वप्रथम विपद्को समयमा सिकाउनै पर्ने कुरालाई प्रस्तुत गरिएको छ ।

सुरक्षा शिक्षाः विपद्को समयमा कसरी बच्ने भन्ने कुरा सुरक्षा शिक्षाले दिन्छ । प्राकृतिक प्रकोपद्वारा हुने विपद्को समयमा जस्तैः भूकम्प, आधीबेहरी, बाढी-पहिरो लगायत र मानव जाति मार्फत निम्त्याइएका प्रकोप जस्तै कोभिड, बर्डफ्लू, इबोला आदिमा स्वयं आफू, आफ्नो परिवार र आफ्नो समुदायमा बस्ने आम मानिसहरू लगायत सम्पूर्ण पशुपंक्षी, वनस्पतिलाई कसरी सुरक्षित राख्ने भन्ने कुरा सुरक्षा शिक्षाले प्रदान गर्दछ । हामीले विद्यालय तहबाट नै यस्ता कुराहरू पढाउनु जरुरी छ ।

स्वास्थ्य शिक्षाः विपद्को समयमा सुरक्षा शिक्षा जस्तै स्वास्थ्य शिक्षामा पनि अति ख्याल गर्नु आवश्यक छ । यस्तो समयमा विशेषत विपद्द्वारा हुने वालमनोविज्ञानलाई अति महत्वकासाथ हेरिनु पर्दछ । यस्तो समयमा बालबालिकालाई बढी मनोरन्जन हुने वातावरण मिलाउनु आवश्यक हुन्छ । यसका अलवा दैनिक रूपमा हुने साधारण स्वास्थ्य समस्यहरूलाई पनि ख्याल गर्नुपर्दछ । यस्तो समयमा विशेषतः बालहिंसाबाट बालबालिकालाई जोगाउनु आवश्यक छ ।

खाद्य शिक्षाः खाद्यान्न नै जिवन हो भन्ने कुरा विपद्को समयमा अलि बढी चरितार्थ हुन्छ । विभिन्न प्रकारको विपद्को समयाम के-कस्तो खाद्यान्न खाने, पानी के-कति पिउने, सन्तुलित रूपमा कसरी खाने लगायतका खाद्य शिक्षाको बारेमा समयमा नै जानकारी र सचेत बनाउनु जरुरी छ ।

विपद्, शिक्षा र बालबालिकाको सिकाइ

सामाजिक शिक्षाः यो समाज र जगत मानव जातिको लागि मात्र नभएर समग्र प्राणीजातीहरूको पनि हो भन्ने कुरा बालमस्तिष्क बाट नै सिकाउनु जरुरी छ जसले गर्दा भोलिको दिनमा आइपर्ने प्राकृतिक र मानविय क्षतिलाई कम गर्न सकिन्छ ।

अतः सुरक्षा, स्वास्थ्य, खाद्य र सामाजिक शिक्षाको वारेमा बालबालिकलाई मात्र नभएर उनिहरूका अभिभावकलाई पनि “अभिभावकिय शिक्षा” को रूपमा सिकाउनु आवश्यक छ जसले गर्दा विपद्को समयमा हुने मानविय क्षतिलाई कम गर्न सकिन्छ ।

सिकाइ जीवनभर चलिरहने प्रक्रिया हो । मानव जातिले जुनसुकै समयमा पनि केहि न केहि सिकिरहेको हुन्छ । अब छलफल गरौं विपद्को समयम बालबालिकालाई  कसरी उनीहरूको सिकाइ प्रक्रियालाई निरन्तरता दिने भन्ने सम्बन्धमा । विभिन्न देशहरूले महामारीको समयमा विद्यालय गइ प्रत्यक्ष रूपमा वा सामाजिक दूरीको माध्ययमबाट पठनपाठन गराउन नसक्ने अवस्था आएमा भर्चुअल माध्ययमबाट सिकाइ प्रक्रियालाई अघि बढाएका छन् । विद्यालयहरू भौतिक रूपमा बन्द भइरहेको यस सन्दर्भमा बालबालिकामा आउन सक्ने सम्भावित नकारात्मक परिणामहरू न्यूनीकरण र कम गर्नको लागि बालमनोविज्ञानलाई मध्यनजर गर्दै पढाइलाई निरन्तरता दिनु अति आवश्यक छ । विपद्को समयमा तल चित्रमा प्रस्तुत गरिएझैँ विभिन्न प्रकारका माध्ययमबाट “अनलाइन शिक्षा र आपतकालीन दूर शिक्षा” मार्फत सिकाइलाई निरन्तरता दिन सकिन्छ । आजको २१ औं शताव्दिमा ठाउँ र परिस्थिति हेरेर तल भनिए झैँ कुनै एक  एकभन्दा बढी माध्ययमको प्रयोग गरी बालबालिकाको सिकाइ मात्र नभइ उनीहरूको मूल्याङ्कनको प्रबन्धसमेत गर्न सकिन्छ । विपद्को समयमा आपतकालीन रिमोट टिचिङ्ग (Emergency Remote Teaching) को माध्ययमद्वारा पढाइ तथा सिकाइ गराइनु आवश्यक छ ।

स्मार्ट फोनः स्मार्ट फोनको माध्यमबाट बालबालिकालाई दैनिक रूपमा पठन-पाठनमा संलग्न गराउन सकिन्छ । विभिन्न प्रकारका e-Learning का Application हरू फोन (मोबाइल) मा Download गरी सोको माध्ययमबाट दैनिक रूपमा पढाइलाई निरन्तर दिनु आवश्यक छ । बालबालिकाको उमेर र समूह हेरिकन उनीहरूले पढेको विषयवस्तुमा गृहकार्य, मूल्याङ्कन लगायतका कार्य गर्न सकिन्छ । पूर्णरूपमा इन्टरनेटको सुविधा नभएको समयमा पनि यो माध्ययम प्रयोग गर्न सकिन्छ ।

विपद्, शिक्षा र बालबालिकाको सिकाइ

ल्यापटपः ल्यापट वा डेस्कटप कम्प्युटरमा विभिन्न प्रकारका e-Learning Application हरू डाउनलोड गरेर विद्यालय र उच्च शिक्षामा अध्ययनरत विद्यार्थिहरूले आफ्नो पढाइलाई निरन्तरता दिन सक्छन् । उनीहरूले गर्नुपर्ने सम्पूर्ण गृहकार्य, Project Work लगायतका अन्य कार्यहरू समेत गरी सम्बन्धित बिषयका विषय शिक्षकलाई उनिहरुको इमेल वा सम्बन्धित विद्यालय वा शिक्षालयको Application मा पठाउन सक्छन् ।

इन्टरनेटः एकातिर पठन-पाठनका कति सामग्री यस्ता हुन्छन् जुन इन्टरनेटबाट मात्रै पढाउन सकिन्छ भने अर्कोतिर पढाइएका विषयवस्तु अपलोड गर्न र Assignment पठाउनको लागि इन्टरनेटको आवश्यकता पर्दछ । २१ औं शताव्दिको सूचना प्रविधिको युगमा इन्टरनेटमार्फत भौतिक रूपमा गर्नुपर्ने प्राविधिक बाहेक अन्य सम्पूर्ण कुराहरू सिक्न र सिकाउन सकिन्छ ।

टेलिभिजनः जुन ठाउँमा इन्टरनेटको सेवा सुविधा पुगेको छैन त्यस्तो ठाउँमा टेलिभिजन मार्फत पढाइनु आवश्यक छ । टेलिभिजन मार्फत प्रयोगात्मक लगायतका विषयलाई पनि सिकाउन सकिन्छ । टेलिभिजन मार्फत शिक्षण सिकाइ गर्दा विषयगत गृहकार्यको छुट्टै सत्र सञ्चालन गरी बालबालिकाको पढाइ र सिकाईको स्तरलाई उकास्न सकिन्छ ।

रेडियोः जुन ठाउँमा इन्टरनेटको सेवा सुविधा लगायत टेलिभिजनको सेवा पुगेको छैन त्यस्तो ठाउँमा रेडियो मार्फत केन्द्रिकृत पढाइको सत्र सञ्चालन गर्न सकिन्छ । रेडियोले विशेषतः विपद्को समयमा सुरक्षा, शिक्षा, खाद्य, सामाजिक शिक्षा लगायतका विषयको ज्ञान प्रदान गरिन्छ । बालबालिकालाई दैनिक रूपमा सिकाउनु पर्ने कुराहरू दैनिक तालिका तयार गरी सोही बमोजिम रेडियो मार्फत कक्षाहरू सञ्चालन गर्नु पर्दछ । 

स्थानीय एफ. एमः विपद्को समयमा स्थानीय सरकार र प्रदेश सरकारसँग मिलेर स्थानीय एफ. एम. मार्फत कक्षाहरू सञ्चालन गर्न सकिन्छ । यस्ता कक्षाहरू विशेषतः बालबालिकाको मनोविज्ञानको आधारमा तयार गरी सञ्चालन गर्दा राम्रो हुन्छ ।

इन्ट्रानेटः विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी र स्कलरहरूको लागि विश्वविद्यालयले तयार गरेको आफ्नै सिकाइ व्यवस्थापन केन्द्र (Learning Management Center) मार्फत पढाउनुपर्ने भएकाले त्यो अवस्थामा इन्ट्रानेटको माध्यमबाट सिकाइलाई निरन्तरता दिइन्छ । हाल कतिपय संस्थागत विद्यालयले इन्ट्रानेटमार्फत कक्षाहरू सञ्चालन गरिरहेका छन् ।

माथि उल्लेखित विभिन्न प्रकारका माध्यमबाट सिकाइलाई निरन्तरता दिनको लागि सरकारले सूचना र प्रविधि, शिक्षकको वृति विकास, Online Learning Materials लगायतका विषयमा ठूलो लगानी गर्नुपर्ने देखिन्छ । माथि उल्लेख गरिएका विभिन्न माध्ययम बाट विपद् र आपतकालीन समयमा बालबालिकालाई अध्ययन र सिकाइमा संलग्न गराउन सकिन्छ । बालबालिका मात्र नभएर उच्च शिक्षाका शिक्षार्थीहरू, विद्यालय तहमा अध्यापन गराउने शिक्षक, उच्च शिक्षामा प्रध्यापन गराउने प्राध्यापकहरू लगायत अभिभावकले पनि सिकाइ र पढाइको प्रक्रियामा समावेश हुनु जरुरी छ । दूर शिक्षा र यसको सफलताको लागि विद्यार्थीहरूमाथि मात्र नभएर शिक्षक र अभिभावकहरूको दायित्वमा समेत निर्भर रहन्छ ।

विपद्को समयमा बालबालिकालाई प्रभाव पार्ने विभिन्न प्रकारका मनोवैज्ञानिक असरलाई हटाउने पढाइ र सिकाइलाई निरन्तरता दिनु आवश्यक छ । बालबालिका मात्र नभएर वयस्कमा उत्पन्न हुने नकरात्मक सोचलाई पनि पढाइ र सिकाइले कम गर्दै लैजान्छ । विपद्को समयमा हुने बालहिंसा लगायका कुरामा समाज र परिवारको ध्यान जानु जरुरी छ ।

COVID-19 जस्ता विपद् समय–समयमा आउने भएकोले यस्तो समयमा बालबालिकाको उचित व्यवस्थापनको लागि सरकार सधै तयारीका साथ रहनुपर्दछ । नेपाल सरकारले विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीको लागि कक्षागत रूपमा राष्ट्रिय पाठयक्रमको आधारमा Digital Learning Materials तयार गरी त्यसलाई राष्ट्रिय प्रसारण लाइनमार्फत पढाउन सकियो भने त्यो नै अति उत्तम तरिका हुन्छ ।

प्रतिक्रिया दिनुहोस्