बुबा हुदाँहुँदै हामीलाई टुहुरा बनाइयो

news

-दुर्गा आचार्य

बुबा शिक्षक हुनुहुन्थ्यो । जिल्लाका धेरैवटा विद्यालयमा बुबाले पढाउनुभयो । जालपा माविमा लामो समय पढाउनुभयो । घरबाट अलि टाढा रहेको र उमेर पनि अलि बढ्दै गएकाले बुबालाई आउन जान समस्या थियो । त्यसैले बुबाले गाउँकै स्कुलमा सरुवाका लागि पहल गर्नुभयो । सरुवा पनि मिल्यो । म कक्षा ६ मा पढ्थें । बुबाले  साइन्स पढाउनुहुन्थ्यो । धेरै पढ्न पाइन बुबासँग । आफ्नै बुबालाई सर भन्नुपर्दा कस्तो–कस्तो लाग्थ्यो । खुशी, लाज संकोच तर त्यो धेरै दिन टिक्न पाएन । बुबा सरुवा भएर आएको गाउँका केही मान्छेलाई मन परेको थिएन । मान्छेले त्यो व्यक्त नगरेपनि सरुवाको विरोध भित्र भित्रै भइरहेको थियो । केही दिनमा त्यो बाहिर देखियो । सरुवा भएर आएको केही दिनपछि विद्यालयका विद्यार्थी उचालेर विरोध सुरु भयो ।

गुपचुप रुपमा गाउँमा माओवादी छन् भन्ने सुनिन्थ्यो । तर त्यो प्रत्यक्ष देखिएको थिएन । माओवादी जिन्दावाद भन्दै गाउँमा रात परेपछि राँके जुलुस निस्कन्थ्यो । भारतीय विस्तारवाद मूर्दावाद ! अमेरिकी साम्राज्यवाद मूर्दावाद ! यस्तै नारा घन्किन्थे । ती मान्छे नै हुन् या अरु केही मेरो बाल मष्तिस्कले छुट्टयाउन सक्दैनथ्यो । मान्छे भए राति त डर लाग्नुपर्ने नि यस्तो ख्याल आउँथ्यो मनमा । तर डरले मुखबाट आवाज निस्कदैनथ्यो। एकदिन बुबा घरमा नै हुनुहुन्थ्यो । राती ‘यज्ञ प्रसाद मुर्दावाद !’ भन्दै नारा लाग्यो । त्यो भैसेबाट निस्केर स्कुलमा आएर समाप्त भयो । न घरमै आउने हुन् कि भन्ने चिन्ताले सबैलाई खाएको थियो । तर त्यो जुलुस त्यही सकियो ।  बुबालाई कतिबेला  के हुने हो मनमा एक तमासको डर थियो । राति घन्किने त्यो नारा विद्यालयमा पनि लाग्यो । मेरा आफ्नै साथीहरुपनि नारा लगाउन सामेल थिए । कोही साथी, साथी लागेन । सबै शत्रुजस्तो लागे । आफ्नै गाउँ, कक्षाका साथीहरु मेरो बुबाको विरुद्ध नारा लगाइरहेका थिए । आफ्ना केटाकेटीलाई बजार पठाउने । अनि आफू गाउँको स्कुलमा पढाउने ? राम्रो पढाउने भए त आफ्ना सन्तान यही पढाइहाल्थ्यो नि भनेर भाषण पनि गर्थे । रिस, डर वा बाध्यता सबै गाउँलेले यज्ञप्रसाद अयोग्य शिक्षक हो भनेर नामावली संकलन गरी हस्ताक्षर गरेका थिए । पछि यज्ञ प्रसादलाई मार्नुपर्छ भनेर हस्ताक्षर गरेका थिए, भन्ने पनि सुनेको थिएँ ।

दाई पढाईमा कमजोर थियो । त्यतिबेला लामोसाँघुको सेतीदेवीको पढाई जिल्लामा अब्बल मानिन्थ्यो । त्यसैले दाइले त्यहाँ भएपछि पढ्छ कि भन्ने आशाले दिदी र दाईलाई कक्षा ६ देखि लामोसाँघु पढाउन राखिएको थियो । बजारको विद्यालय भएपनि त्यो बोर्डिङ थिएन । सरकारी विद्यालय थियो । सबै आमाबुबाले आफ्नो छोराछोरीको राम्रो नै सोच्छन् । बुबाले त्यही सोच राख्नुभयो। तर दाईले पढ्न सकेन उसको बारे लेख्न थाले अर्को छुट्टै कथा बन्छ । यद्यपि दाई अहिले यो संसारमा हुनुहुन्न ।

यही कुरालाई कारण बनाएर अयोग्य शिक्षक राजिनामा दे भन्दै दिनरात गाउँमा नारा लाग्न थाल्यो । त्यो नारा बुबा अयोग्य भएर होइन । पानीको विषयमा गाउँमा भएको झगडाको रिसीइवी साँध्न बुबा माथि अनेकौ लाञ्छना लगाइएको थियो । गाउँले र केही विद्यार्थी त्यसमा प्रयोग भएका थिए । प्रयोग भए बापत उनीहरुले के पाए उनीहरुलाई थाहा होला तर मेरो बुबाले गाउँबाट विस्थापित हुनुपर्‍यो । म लगायत मेरा बहिनीहरुले बुबाको प्रत्यक्ष मायाबाट वञ्चित हुनुपर्‍यो । भन्ने हो भने बुबा हुदाँहुदै हामीलाई टुहुरा बनाइयो । माओवादीको माथिल्लो नेताहरुमा पनि बुबाका बारेमा नराम्रा भ्रम फैलाइएको थियो । बुबा सरकारको ‘सिआइडी’, ‘शोषक’, ‘सामान्ती’ भनेर भ्रम फैलाइएको थियो । उनीहरु त्यसैलाई वास्तविकता सम्झिरहे । बुबालाई गाउँबाट जान धम्कीपुर्ण पत्र प्राप्त भयो । बुबाले गाउँ छाड्नुभयो । गाउँलेहरु कोही माओवादीले सुनौले बिहानी ल्याउने आशामा , कोही डर र त्रासमा, लोभ र लालचमा नारा लगाउन थाले । लाग्थ्यो त्यो सुनौलो बिहानी मेरो बुबाले छेक्नुभएको छ । तर खै आज २० वर्षपछि पनि त्यहाँ सुनौलो बिहानी कहिले आएन । गाउँलेका दुःखका दिन कहिले गएनन् । खै कसले छेकेको छ कुन्नि ?

३१ वर्षसम्म अध्यापन गराउनुभएको मेरो बुबा गाउँको स्कुलमा आएर अयोग्य हुने कुरै थिएन । बुबाले गाउँ छाडेपछि हामीसँग कोही बोल्न छाडे, हामी देख्नासाथ सामान्तीका सन्तान आए भन्न थाले । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद मूर्दावाद भनेर तिनीहरुका छोराछोरीले ठूलाठूला स्वरमा नारा लगाउन थाले । उनीहरुपनि बच्चै थिए । बच्चै भएपनि प्रशिक्षित थिए । बहुत पिडा हुन्थ्यो । न कहिले भारत जानेको न कहिले अमेरिका तर त्यहाँ हामीलाई तिनीहरुको एजेन्ट भन्थे । एकदिन आमा र म मल लिएर खेतमा जाँदै थियौं । बाटोमा आमालाई मैंले सोधे–‘आमा गाउँले हामीसँग किन बोल्दैनन् ?’ पहिला आमाले वरिपरी वातावरण हेर्नुभयो अनि भन्नुभयो “तेरो बुबाको कारण । तेरो बुबा खराब होइन तर नराम्रो काम सहनुहुन्न अहिले माओवादीले तारो बनाएका छन् । कमजोर भएपछि को बोल्छ र हामीसँग ? सबै बलेको आगो ताप्ने त हुन ।” हामी किन कमजोर भयौं ?  के कारण कमजोर भयौ ?  केही बुझ्न सक्दिनथे । तर जे गरेर भएपनि आफ्नो बुबालाई मार्न दिन्न भन्ने चाहि लाग्थ्यो । मलाई त्यो स्कुल, त्यो गाउँ, त्यो ठाउँ केही राम्रो लाग्थेन । कोही नबोल्नु भन्ने उर्दीका कारण कोही नबोलेको भन्ने सुनिन्थ्यो ।

बुबालाई सदरमुकाम छेउको विद्यालय सुरक्षाको दृष्टिले ठिक हुन्छ भनेर मेलचौर सरुवा गरिदिएछ । उहाँले केही समय त्यहाँ पढाउनुभयो । तर त्यहाँपनि सुरक्षित थिएन । सबैको सल्लाह बमोजिम शिक्षक पेशा नै छाड्नुभयो । बुबा खाडिचौरमा पसल गरेर बस्न थाल्नुभयो । व्यापार व्यवसाय पनि राम्रै थियो । तर माओवादी धम्की रोकिएको थिएन । कहिले चन्दा त कहिले ज्यान मार्ने धम्कीका पत्रहरु आइराख्थे ।

पढ्न जान पटक्कै मन हुन्थेन । बाल मष्तिस्कमा मानसिक असर परेको थियो । देख्नासाथ सामान्ती आए भन्ने त छदै थियो । खै सामान्ती भन्या के हो म भने त्यो सम्म बुझ्दिनथे । २०५५ साल तिरको दिउँसोको समय थियो ५,७ जनाको एक हुल स्कुलभित्र पसे । उनीहरुको साथमा बन्दुक थियो । कम्मरभरि बम बाँधिएका थिए । ती आर्मी पुलिस थिएनन् । स्कुलमा सबै विद्यार्थी भएका बेला हातहतियार सहित उनीहरु भित्र प्रवेश गरेका थिए । मैलेचाहि पहिलोपल्ट आफ्नो गाउँमा त्यस्तो मान्छे देखेको थिए । हुन् त त्यतिबेला मांखा भनेपछि माओवादीको किल्ला मानिन्थ्यो । त्यहाँबाट धेरै व्यक्तिहरु माओवादीमा गएका थिए । स्कुलमा आउनासाथ उनीहरुले यज्ञ प्रसाद आचार्यलाई हामी छाड्दैनौं । तपाइको दाई (काका प्रधानध्यापक हुनुहुन्थ्यो) ले गाउँमा पुलिस पठाउने, जनमुक्ति सेनाका परिवारलाई दुःख दिने, आफु पढाउन नसक्ने अनि ठूला कुरा गर्ने यस्तै के के भने । म त्यति बुझ्ने थिइँन । मैंले ‘यज्ञ प्रसादलाई हामी छाड्दैनौ’ भनेको सुने । केही समय अघि जिल्लाकै इन्चार्ज अग्नि सापकोटाले पठाएको पत्र मैले पनि सुनेको थिए । त्यसमा धेरै कुरा थिए “तेरो व्यवहार सुध्रिएन भने किराफट्याङग्राको जुनी हुनेछ” । यो कुरा के भनेको मैले बुझिन । अनि आमालाई सोधें, त्यो भनेको मारेर गाडेपछि किराफट्याङग्राको आहारा हुन्छ भनेको आमाले भन्नुभयो । केही समय अघि घरमा बुबाको नाममा यस्तो पत्र थियो । आज स्कुलमा यस्तो भन्छन् । मेरो दिमागले केही सोच्न सकेन । किन मेरो बुबालाई यस्तो भने ? मेरो बुबालाई किन मार्न चाहन्छन् ? मनमा अनेक प्रश्न उब्जिएको थियो । त्यसको समाधान कसले दिने थाहा थिएन् ।

घरमा म नै ठूली थिए । अरु दिदी दाई खाडीचौरमा बुबासँगै बसेर पढ्दथे । आमालाई नि थाहा भएछ स्कुलको कुरा । मेरो सात्तो गएको थियो । लगलग काँपेर बसेको थिए । यिनीहरुले यज्ञ प्रसादको छोरी म नै हुँ भन्ने थाहा पाए भने मलाई मारिदिन्छन् होला । काका स्कुलको प्रधानध्यापक हुनुहुन्थ्यो उहाँलाई त झागल झुगल पारिरहेका थिए बुबाको बारेमा कुरा गर्दै । म कसरी स्कुलबाट बाहिर जाने केही सोच्नै सकिन । स्कुलमा आमा बोलाउन जानुभएछ । अनि आमासँग श्वास पनि नफेरि घर आए । घर आउनासाथ घरको ढोका बन्द गरे । अनि स्कुलमा बुबाको बारे भनेको कुरा आमालाई सुनाए । आमाले पनि थाहा पाइसक्नुभएछ । आमाले तँ खाडिचौंर बुबालाई सुरक्षित रहन भन्न जा भन्नुभयो । घरबाट एक घण्टा भन्दा बढी लाग्थ्यो खाडिचौर जान । म कहिले एक्लै हिडेको थिइन । मलाई एक्लै हिड्न डर लाग्थ्यो । वनको बाटो थियो ।  तर त्यो दिन केही डर लागेन म आधा घण्टामा खाडिचौर पुगे । बुबा लाई भेट्नासाथ एकैसाथमा भने गाउँमा माओवादी आएका थिए । तपाइलाई मार्ने भन्दैछन् आमाले भन्या तपाइ सुरक्षित रहनु रे । यतै सुरक्षित बस्नु रे ।  त्यति भनि नसक्दै म रुन थालेछु । बुबाले केही हुदैंन भन्दै उल्टो सम्झाउनुभयो ।

गाउँबाट बुबा मात्रै होइन रामहरि नेपाल, आइतमान तामाङ पनि विस्थापित थिए । गाउँमा जान प्रतिबन्ध थियो । उनीहरुलाइ नि बुबाले सुरक्षित रहन भन्नुभयो । भोलिपल्ट गाउँमा पुलिस गयो । पुलिस फेरि पठायो भनेर बुबामाथि झन दबाब बढ्यो । तीनवर्ष जति हाम्रो घरमा न चाडपर्व आयो न खुशी नै । कतिपटक बुबा घर आएको समयमा भैसी फुपाइदिने, झ्याल, ढोकामा ढकढक गर्ने क्रम भइरहे । सँधै एउटा त्रासमा जीवन बाँच्नुपर्‍यो । हामीले मात्रै होइन सम्पुर्ण नेपालीले त्रासमा जीवन बाँच्नुपर्‍यो । देशमा शान्ति प्रक्रिया भयो र आज मेरो बुबा म सँग हुनुहुन्छ । तर कतिका बुबा आतंकारी, सिआइडी, सामान्ती र शोषकका नाममा सफाया गरिए त्यसको हिसाब छैन ।

१० वर्षको अवधिमा यो धर्ती १७ हजार मानिसको रगतले सिञ्चित भयो । १५ सय जति अझै नै बेपता छन् । धेरैका सिन्दुर पुछिए, काख रितिए, टुहुरो बनाइए । धेरै भौतिक सम्पतिको क्षति भयो । १० वर्ष धेरै कष्टले बाँचे । मुलुक ५० वर्ष पछि भयो विकासको गतिमा । त्यो समयमा अहिलेको समयको कल्पना कोही कसैले सायदै गरेन ।

माओवादीको शसस्त्र द्धन्द्धले शान्तिपुर्ण राजनीतिक अवतरण गर्‍यो । तर जुन सपना बाँडेर ‘जनयुद्ध’ प्रारम्भ गरिएको थियो । तिनीहरुको सपना पक्कै पनि देशको आजको अवस्था थिएन । त्यो सुनौलो बिहानी मेरो गाउँमा मात्रै होइन कहीं कतै आएन । मानिसहरु फेरिए तर दुखहरु फेरिएनन् । सपनाहरु देखे हकिकत भएन । रहरहरु देखाइए साकार भएन । रगतहरु पोखिए त्यसको सही सार्थकता प्राप्त भएन । जीवनहरु अन्त्य भए तर सुनौला दिन आएनन् ।

जीवनको आहुति दिनेको परिवार राप, ताप र अभावको जीवन बाँचिरहेको छ । उनीहरुका बालबच्चाले उचित शिक्षा पाएका छैनन् । साधारण जीवनयापन गर्न आधारभूत कुराहरुको पुर्ति समेत गरिएन । मारिएका र बेपता पारिएकाको आत्माले शान्ति नपाउँदैं देश अर्को गृहयुद्धको संघारमा छ ।

विप्लव समूहको नेकपालाई प्रतिबन्ध लगाउँदैं सरकारले इन्काउन्टरका नाममा निर्दोषहरुको एकपछि अर्को हत्या गर्दैछ । युद्धकालागि तिनका परिवारलाई उस्काइरहेको छ र अर्को गृहयुद्धको तयारीमा सरकार आफैं लागेको भान हुन्छ । देश टुक्राउनेहरुसँग सहमति गर्न सक्ने सरकार राजनीतिक मागहरु राख्नेहरुमाथि बन्दुकको शक्ति देखाउँदै छ । सरकार भनेको सबैको समान रखवाल गर्ने ‘जिनिस’ हो । न कि नारी निमोठेर जोरी खोज्ने । सरकारले अभिभावक बनेर देशमा आइपर्ने समस्याहरुको विश्वासिलो माध्यमबाट समाधान गर्नुपर्दछ ।

हाम्रा भौतिक सम्पति, हाम्रा आफन्तको क्षति गरेर हामी ‘जनवादी’ शासन कदापि ल्याउन सक्दैनौं । शान्ति त प्रेमबाट प्राप्त हुन्छ न कि विध्वंशबाट । त्यसैले हामी युद्ध चाहदैनौ शान्ति चाहन्छौं । हाम्रो इतिहाँस साक्षी छ विध्वसं गर्ने शक्तिलाइ पनि वार्ता र संवादबाट शान्ति प्रक्रियामा ल्याएको । आज शान्तिप्रति विश्वास गरेर तत्कालिन अवस्थामा हतियार उठाएका व्यक्तिहरु सरकारको नेतृत्वमा छन् । र पनि किन यस्तो अलोकप्रिय हर्कतहरु भइरहेछ । यसमा सरकारले पुर्नविचार गर्न जरुरी छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...