सीमामा भारतको बखेडा

news

सरोज अधिकारी (इमेज)

काठमाडौं, कात्तिक २२ । भारतले नेपाली भूमि कालापानी, लिपुलेकसमेत आफ्नै भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि भारतको हेपाह प्रवृत्तिको विरोध भइरहेको छ ।

नेपालले पनि गएको फागुनमा संघीय संरचनासहित देशको नक्सा सार्वजनिक गरेको थियो । सो नक्सामा कालापानी र लिपुलेक समावेश थियो ।

लामो समयदेखि भारतले कालापानी र लिपुलेक आफ्नो दाबी गर्दैै नक्सामा नक्कली नदी बनाएरसमेत सीमा सार्ने प्रयत्न गरिरहेको थियो ।

दार्चुलाको कालापानी, नवलपरासीको सुस्तालगायतका क्षेत्रमा भारतले सीमामा बखेडा झिक्दै आएको छ ।

नेपाल संघीय संरचनामा गएपछि भूमि व्यवस्था मन्त्रालयले २०७५ फागुन २३ गते संघीय संरचनासहितको नक्सा सार्वजनिक गर्‍यो र त्यही नक्सालाई प्रयोगमा ल्याउन भन्यो ।

नेपालको नक्सामा कालापानी, लिपुलेक समावेश छ । जुन प्रस्टरुपमा देख्न सकिन्छ ।

त्यतिमात्र होइन, सो नक्सामा ठूला हिमाल, नदी र लोकमार्गसहित प्रदेशको नामसमेत उल्लेख गरिएको छ । त्यतिबेला भारतीय पक्षबाट पनि कुनै प्रतिक्रिया आएको थिएन ।

तर, त्यसको ८ महिनापछि भारतले एकाएक नयाँ नक्सा सार्वजनिक गर्दै कालापनी र लिपुलेकलाई आफ्नो क्षेत्रमा पार्‍यो ।

भारतले नक्सा सार्वजनिक गरेपछि सरकारले विज्ञप्तिमार्फत् विरोध त गर्‍यो । तर, कूटनीतिक तहबाट समस्याको समाधान हुने संकेत देखाएको छैन ।

नेपालमा तीव्र विरोध भएपछि भारतले पनि पत्रकार सम्मेलन नै गरेर सो नक्सामा आफ्नो अडान राखिरहेको छ । जसले गर्दा नेपाल–भारत सम्बन्ध फेरि तित्ततातर्फ उन्मुख छ ।

यो आजको समस्या होइन । यस्तै सीमा समस्याका कारण नेपाल–भारत सीमा कति किलोमटिर छ भनेरसमेत यकिन हुन सकेको छैन ।

पछिल्लो पाँच वर्षमा नेपाल–भारतबीच थुप्रैपटक उच्चस्तरीय भ्रमण तथा बैठकहरु भएका छन् । तरपनि यी विषय प्राथमिकतामा परेका छैनन् ।

भारतको हेपाह प्रवृत्तिको जनस्तरबाट विरोध भएपछिमात्र सरकार प्रतिक्रियामा जान्छ । अहिले पनि त्यही भएको छ ।

सरकारको मुख्य काम भनेकै मुलुकको अखन्डता रक्षा गर्नु हो ।  जुन कामका लागि सरकार बन्छ, त्यही कामलाई प्राथमिकतामा नराख्ने विषय राम्रो भन्न सकिन्न । यस्ता सीमा विवाद जतिसक्दो चाँडो कूटनीतिक माध्यमबाट टुंग्याउन जरुरी छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...