१८ लाख नगदसहित वीरगन्जबाट तीनजना भारतीय समातिए

news

पर्सा, कात्तिक २२ । हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले शुक्रबार बिहान तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका–१६, रजतजयन्ती चोकबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित प्रहरीले उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेहरुमा भारत, बिहारको सुगौलीबजार बस्ने २२ वर्षीय बिक्की कुमार, भारत, रक्सौल, नागारोड बस्ने २६ वर्षीय सुधीरकुमार र सोही ठाउँ बस्ने ३० वर्षीय सहिद आलम छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त चोकमा चेकजाँच गर्नेक्रममा उनीहरु समातिएका हुन् ।

पक्राउ परेकाहरु रक्सौलबाट बीआर०५एस ३७९२, बीआर०५बी १४४४ र बीआर०६एआर ३७८९ नम्बरका मोटरसाइकलमा वीरगन्जतर्फ आउँदै थिए ।

चेकजाँचकाक्रममा उनीहरुको साथमा सो रकम फेलापरेको थियो । तीनओटै मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...