एअरपोर्टमा ठोक्किए दुई जहाज

news
फाइल तस्वीर ।

काठमाडौं, कात्तिक २२ । साँघुरो पार्किङ । त्यसमाथि एअरलाइन्सको जथाभावी पार्किङका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान अस्तव्यस्त बनेको छ ।

प्रतिस्पर्धी एअरलाइन्सको होडबाजी तथा व्यवस्थापनको लापरबाहीका कारण दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । त्यसको उदाहरणकोरूपमा शुक्रबारै दिउँसो दुई जहाज ठोक्किएको घटनालाई लिन सकिन्छ ।

आन्तरिक उडानका दुई ठूला वायुसेवा प्रदायक कम्पनी यती एअरलाइन्स र श्री एअरलाइन्सका जहाज आपसमा ठोक्किएका छन् ।

श्री एअरलाइन्सको सीआरजे ७०० जहाजले अवतरणपछि पार्किङतर्फ लैजानेक्रममा पार्किङमा रहेको यती एअरलाइन्सको एटीआर–७२ जहाजलाई ठक्कर दिएको हो ।

श्रीको जहाजको दायाँतर्फको पखेटाले रोकिरहेको यतीको जहाजको पछाडितिर ठक्कर दिएको थियो । सामान्य मर्मतपछि जहाज सन्चालनमा आउने विमानस्थलले जनाएको छ ।

यो घटनालाई एअरलाइन्सका सन्चालकहरु साँघुरो व्यवस्थापनले गर्दा समस्या आएको बताउँछन् ।

तर, विमानस्थलको प्रशासनले जहाजको चाप बढे पनि उडान व्यवस्थापनलाई सहज र प्रभावकारी बनाइएको जिकिर गरेको छ ।

श्री एअरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले साँघुरो पार्किङमा जथाभावी जहाज पार्किङ गरेका कारण विमानस्थलको आन्तरिक उडान अव्यवस्थित बनेको बताए ।

विमानस्थल र एअरलाइन्सका प्राविधिकले ठोक्किएको जहाजको निरीक्षण गरी आवश्यक मर्मत गरिसकेको बताइएको छ ।

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले श्री एअरको जहाजले अवतरणपछि पार्किङमा लैजानेक्रममा पार्किङमै रहेको यतीको जहाजको पछाडि सामान्य ठक्कर दिएको र मर्मतपछि सन्चालनमा आउने बताए ।

विमानस्थलको आन्तरिकतर्फ पार्किङमा १८ देखि २० ओटा जहाजको क्षमता रहे पनि ३० ओटाभन्दा बढी जहाज पार्किङ गरिँदै आइएको छ ।

विमानस्थलको चाप न्यूनीकरणका लागि क्षेत्रीय विमानस्थलमा जहाज रहने विमानस्थलले निर्णय गरे पनि त्यो प्रभावकारी लागू भएको छैन ।

आन्तरिकतर्फ बिहान ६ बजेदेखि राति ९ बजेसम्म उडान हुने गरेको छ । आन्तरिकमा अहिले १० हेलिकोप्टरसहित २० ओटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...