संयन्त्रको अभावमा बजेटमात्रै खर्च भयो : उपाध्यक्ष कँडेल

news

काठमाडौं, कात्तिक २३ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले सबै प्रदेश तथा स्थानीय तहमा आवश्यक संयन्त्र नबन्दा बजेटको एकतिहाइ खर्च पूर्वाधारमा भएपनि समस्या ज्यूँकात्यूँ रहेको बताएका छन् ।

प्रदेश नम्बर–३ सरकारले विकाससँग सम्बन्धित विषयमा शनिबार राजधानीमा विज्ञहरुसँग गरेको छलफलमा उपाध्यक्ष कँडेलले संयन्त्रको अभावमा कुल बजेटको एकतिहाइ बजेट प्रदेश र स्थानीय तहमा गएपनि खर्च गर्नसक्ने क्षमता कम भएको बताए ।

कतिपय प्रदेशले योजना नै नबनाएको त कतिपय प्रदेशले सार्वजनिकसमेत गरिसकेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

आवश्यक संयन्त्रको अभावमा कतिपय राष्ट्रिय गौरवको आयोजनामासमेत अन्योलता बढेको भन्दै उनले सबै प्रदेश, स्थानीय तह र संघीय सरकारले आफ्नो कमजोरी पहिचान गर्ने समय आएको पनि बताए ।

प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले तीव्र विकासका लागि महत्वपूर्ण एजेन्डा ल्याएको दाबी गरे ।

सबैभन्दा धेरै जनसंख्या रहेको प्रदेश नम्बर–३ को विकासका लागि आधारपत्र तयार भइसकेको भन्दै उनले कुन क्षेत्रमा कति लगानी गर्ने सो पक्षमा प्रदेश सरकारले ध्यानकेन्द्रित गरेको बताए ।

प्रदेश सरकारले पूर्वाधार, कृषि, विशिष्टिकृत सेवा र मानवस्रोतको विकास, उद्योग, सम्पदामैत्री पर्यटनलाई प्रदेशको प्रमुख विकासको स्रोत बनाएको जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...