धनुषासहित तराईका जिल्लामा नक्कली चुरोटको बिगबिगी, प्रशासन भन्छ हामीलाई थाहा छैन

news

- नविन सिंहको/ ईमेज 

 जनकपुर । नेपाल–भारत सीमा जोडिएका धनुषासहित तराईका जिल्लाहरुमा नक्कली चुरोटको खुलेआम बिक्री भइरहेको छ ।

प्रहरीले बेलाबखत छापा मारेर यस्तो कारोबार गर्नेहरुलाई पक्राउ गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन । प्रदेश २ अन्तर्गत नेपाल–भारत सीमा क्षेत्रमा अहिले नक्कली चुरोटको बिगबिगी छ ।

जनकपुरका बजार क्षेत्रमा पनि नेपाली ब्राण्डका सूर्य, खुकुरी र शिखर चुरोटको नक्कली ब्रान्डको बिगबगी बढेको हो । बाहिर बट्टा हेर्दा उस्तै देखिए पनि भित्र भने भारतीय चुरोट राखेर बिक्री वितरण भइरहेको छ ।

यसरी खुलेआम नक्कली चुरोटको बिक्री भइरहेपनि कारवाही गर्ने निकायको उदासिनताका कारण समस्या बढ्दै गएको स्थानीय उपभोक्ता बताउँछन् । नक्कली चुरोटको समस्या प्रदेश २ का आठै जिल्लामा रहेको छ ।

जनकपुर भन्सार कार्यालयले धनुषाको गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा केही समय अघि छापा मारेर १ लाख १४ हजार रुपैयाँ भन्दा बढी मूल्यको खुकुरी र शिखर ब्रान्डको नक्कली चुरोट बरामद समेत गरेको थियो । तर अनुगमनले निरन्तरता नपाउँदा त्यो प्रभावकारी हुन सकेको छैन ।

नक्कली चुरोटका कारण मासिक रुपमा ५ देखि ६ करोडको राजश्व घाटा भैरहेको जनकपुरस्थित सूर्य टोबाकोका डिलर शंकर साहले बताए । सम्बन्धित जिल्ला प्रशासन, भन्सार र प्रहरी कार्यालय सबैलाई जानकारी गराइसके पनि कारवाही नहुंदा आफूहरु मारमा परेको साह बताउँछन् ।

यता,जनकपुर भन्सार कार्यालयका प्रमुख रामेश्वर मिश्र भने स्थानीय सरकारले पनि बजार अनुगमनमा गम्भीरता पूर्वक लाग्न सुझाव दिन्छन् । पक्राउ परेकाहरुलाई जरिवाना तिराएर छाडिने गरेको छ ।

सामान बरामद गरेर मात्रै नपुग्ने भन्दै कारबाही प्रक्रिया अगाडि नबढेसम्म नक्कली चुरोटको बिक्रिमा कमी नआउने व्यापारीहरुको भनाइ छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंडेल भने बजारमा नक्कली चुरोट बिक्रीबारे आफूलाई जानकारी नै नभएको प्रतिक्रिया दिन्छन् ।

सीमावर्ती क्षेत्रबाट महिनामा ५ करोड बराबरको नक्कली चुरोट अबैध रुपमा भित्रिने गरेको स्वदेशी उत्पादकको भनाइ छ ।

धनुषाको यदुकोहा, सबैला, भठियन, भररिया, गोदार महोत्तरीको जलेश्वर, मटिहानी, सम्सी, गौशाला र सर्लाहीको मलंगवा हरिपूर्वालगायत स्थानमा छ्याप्छ्याप्ती नेपाली ब्राण्डका भारतीय नक्कली चुरोटको बिक्री वितरण भइरहेको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...