
सन्तोष राउत
सोलुखुम्बु । स्थानीयले असन्तुष्टि जनाएपछि जिल्लाको महाकुलुङ गाउँपालिकाले निशान छाप (लोगो) परिमार्जन गरेको छ ।
लोगो समावेशी नभएको भन्दै नेपाल शेर्पा संघ महाकुलुङले केही समय अघि असन्तुष्टि जनाएपछि शेर्पा समुदायको मागअनुसार गाउँपालिकाले लोगो समावेशी बनाइएको हो ।
अघिल्लो वर्षदेखि कार्यान्वयनमा ल्याएको लोगो समावेशी नभएको भन्दै महाकुलुङका शेर्पा समुदायको प्रतिनिधित्व गर्दै महाकुलुङ शेर्पा संघले पटक–पटक परिमार्जनको आवाज उठाएका थियो ।
यसअघि चिण्डो, विनायो, ढोलक, अल्लो, मयूर, हिमाल, तालतलैया र नेपालको झण्डालाई समावेश गरेर तयार गरेको लोगोमा परिमार्जन गरी बुद्धको तस्वीर समावेश गर्दै केही परिवर्तन गरिएको छ ।
परिमार्जित निशाना छापले कुलुङ समुदायको अपनत्व झल्किएको स्थानीय फुरलाक्पा शेर्पाले बताउनुभयो । माग सम्बोधन भएपछि महाकुलुङ शेर्पा संघले स्थानीय सरकारले जनभावनाअनुसार काम गरेकाले स्थानीय सरकारलाई धन्यवाद दिएको छ ।
कुलुङ जातिको बाहुल्यता रहेको महाकुलुङमा शेर्पा, खस, आर्य र दलित समुदायका मानिस बसोबास गर्दै आएकाले त्यसअनुसार लोगो हुनुपर्ने मागसहित शेर्पा संघको स्थानीय कार्य समितिले असन्तुष्टि जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्