मूर्ख बिना परिवर्तन हुँदैन !

news

-लाओस राई

विचार र सिद्धान्तको चर्चा गर्दा ग्रीक (एथेन्स)पहिलो स्थानमा आउँछ । त्यसैले ग्रिकलाई दार्शनिकहरुको देश भन्ने गरिन्छ । त्यहींबाट ब्यक्तिको व्यक्तिगत अभिब्यक्ति, सत्ताको मुलस्रोत जनता हुन् । जनता नै सबै भन्दा शक्तिशाली हुन् । जनता नै शासन सत्ता निर्माण गर्छन र जनता नै सत्ता भत्काउंछन् भन्ने मान्यताको थालनी भएको मनिन्छ । त्यसैले एकातिर जनता नै  शासकीय शक्तिको निर्माण र बिनासको स्रोत हो भन्दै वकालत गर्ने समूह ठूलै थियो । अर्कोतिर पुरानो मान्यता, दैबी शक्ति र देवत्वको आडमा शक्तिशाली बनेका शासकहरु यी बिचारलाई दबाउन कुनै कसर बाँकी राख्दैन थिए ।

यसरी हेर्दा परम्परागत बिचार र शासनप्रणालीको बिपरित नयाँ र स्वतन्त्र बिचार बिकसित भईरहेको थियो । तिनै बिचारलाई प्रबाह गरेकै निहुँमा सुकरातलाई बिष खुवाइयो । एउटा स्वतन्त्रताको अगुवा, संवाहकलाई समाप्त पारे । जुन स्वतन्त्र बिचारलाई दार्शनिक सुकरातले अगुवा गरेका थिए । उनी लगायत हेरिडोटस, डेमोक्रेटस, एरिस्टोटल जस्ता दार्शनिकहरु पनि तिनै स्वतन्त्र विचारको पक्षपाति थिए । स्वतन्त्र विचारको अभिव्यक्तिको माध्यामबाट ब्यक्ति, परिवार, समाज र देश रुपान्तरण हुन्छ । यी कुराहरु ब्यक्ति र उनीहरुको स्वतन्त्र र संगठित बिचारबाट मात्र सम्भव छ । यी सबै इसापूर्ब ६२५ वर्ष पूर्वका कुराहरु हुन् । इसापुर्ब ६२५ मा ग्रीकका नागरिकहरु प्रजातन्त्रको खुल्ला बहस र छलफल गर्थे । त्यसैबेला युरोप, अमेरिका लगायत अफ्रिकी मुलुकका अधिकांश देशहरु बास-गाँस कपासको ब्यबस्थापनमा कसरी गर्न सकिन्छ सन्दर्भमा नै ब्यस्त थिए भन्ने इतिहाँसले देखाउंछ । बिचार, वौद्धिकता र तर्कशिलता मानव मनबाट उत्पन्न हुने विशिष्टम गुण हुन् । यिनै बिचारको माध्यमबाट ब्यबस्थित समाज स्थापनादेखि आजको आधुनिक युगसम्म पुगेको हो ।

व्यक्ति, परिवार समाज, देशका, साथसाथै बिश्वलाई नियन्त्रण, अन्तरघुलन र  पक्ष बिपक्षमा उपस्थित हुनुपर्ने बाध्यात्मक अवस्था पनि यिनै बिचारले सृजना गरेको हो । यति हुँदाहुँदै बौद्धिकता र विचारले मात्र परिवर्तन हुन धेरै समय लाग्ने रहेछ भन्ने उदाहरण युरोपकै देश ग्रीस र जर्मनलाई लिन सकिन्छ । ग्रीस जस्तो ज्यादा दार्शनिक र विचारक कहाँ थियो र ? तर ग्रिस, मेसोदोनिया र एथेन्सले जर्मनले जस्तो भौतिक भब्यताको सान दिन सकेन । त्यसकारण विचार र दार्शनिक भन्दा पनि योजनाको कार्यान्वयन मुख्य पक्ष रहेछ भन्ने कुरा यी दुई देशको बिकासको अनुपातलाई हेरेर भन्न सकिन्छ । यसलाई यसरी पनि भन्न सकिन्छ जर्मनमा दार्शनिकको दर्शनले निर्माण गरेको योजनालाई हुबहु लागु गर्ने मुर्ख जोसिला युवाहरु वा जनशक्ति भएर भौतिक भव्यता सम्भव भयो । ग्रीसमा सबै दर्शनका कुरा मात्र गरि समय ब्यतित गर्ने ब्यक्तिहरुको जमात ज्यादा हुनाले जर्मन जस्तो विकसित हुन सकेन् ।

अर्को कुरा जर्मनमा हिटलर जस्तो मूर्ख शासक भएर यो ठाउँमा पुगेको हो भन्ने भनाइ पनि छ । किनकी उनको शासनकालमा जति मानवीय तथा भौतिक संरचनाको क्षति भयो । त्यो नराम्रो र कहालीलाग्दो थियो । त्यो अबधि मुर्खतापूर्ण, बर्बर दमन र नरसंहारको युग थियो भन्नु पर्दछ जर्मनको लागि । तर त्यसै समयदेखि जर्मनले विकासको गति लिएको कुरा पनि सत्य भन्न पर्दछ । त्यसकारण मूर्खतापूर्ण अभियानले पनि विकासको ढोका खुल्न सक्छ भन्ने उदाहरण जर्मन बिकासलाई लिन सकिन्छ । त्यसैले भन्न सकिन्छ कि हरेक ठाउँमा बठ्याँई र बौद्धिकता उपयुक्त हुँदैन । मुर्ख र मुर्खतापूर्ण निर्णय आवश्यक पर्दछ ।

मंगोलियाका चंगेज खानले करोड, मेसोडोनियका सिकन्दरले त्यसकै हाराहारीमा मान्छेहरुको प्राण लिए । मान्छे मार्ने शासकहरुमा भारतका औरंजेब पनि उस्तै थिए । जसले लाखौं हिन्दुहरुलाई निर्ममतापूर्वक मारे । यद्यपी, ति ब्यक्तिहरुलाई हत्यारा, नरसंहारकारी, हिंस्रक इत्यादि उपनामले अलाप्नु पर्ने थियो । तर ती पात्रहरुलाई त्यसो नभनी महान, सम्राट र सफल शासक भनिए ।

त्यसको ठिक उल्टो बिचारले मानव समाज, सस्कृति, राजनीति ब्यबस्था जस्ता महत्वपूर्ण पक्ष एवम सत्ता परिवर्तन गर्न सकिन्छ भन्ने सुकरात र जिसस जस्ता धार्मिक दार्शनिकहरुलाई मृत्युदण्ड दिइयो । यस्तो घटना, परिघटनाहरु किन घट्यो भन्ने बिषय भन्ने कौतुहलताको बिषय बनिरह्यो । किन मुर्खहरुको राजलाई पनि महानताको नामले पुकारियो ? १६८० तिर भारतमा मुगला मराठी आ–आफ्नो साम्राज्य बिस्तार गर्दै थिए । पराजित मराठी सेनापतिले मराठी द्वारा बन्दी बनाइएको राजकुमारको अवस्था बुझ्न चतुर, निडर र साहसी जासुसको खोजी गर्दै थिए । त्यतीकैमा सेनापतिले एक पूर्व सिपाहीलाई पुनः सेवामा आउनु अनुरोध गरे । सिपाहीले ‘म आफैं कामका लागि तपाइँ समक्ष आउने सोचमा थिएँ । तपाईं आफै आउनुभयो । यो मेरो लागि धेरै खुसीको कुरा हो,’ भन्दै कुरा थपे-‘म जे पनि गर्न सक्छु, सल्लाहकारको काम गर्नु सक्छु, अरुअरु लेखापढीको काम गर्न सक्छु ।’ सिपाहीको जवाफ सुनेर सेनापतिले हाँस्दै भने–‘म मुन्सीको होइन सिपाहींलाई लिन आएको हुँ’ सेनापतिको उत्तर सुनेपछी सिपाहीले भने–पहिले म सिपाहीं थिएँ, अब म रगत होइन विचार प्रचार गर्न चाहन्छु ।’

सिपाहीको जवाफ सुनेर सेनापतिले कडा स्वर पार्दै भने,– ‘मसीमा डुबेको तरवार राम्रो हुँदैन खुनमा डुब्नु तरवारको फितरत (स्वभाव) हो । साथै तकदिर पनि हो । तिमी स्वभाव बदल्न सक्छौ तर तकदिर बदल्न सक्दैनौ ।’ सेनापतिको त्यस्तो जोसिलो कुरा सुनी सुनेर सिपाही जोखिम मोल्न तयार भए । तिनै सिपाहीको हिम्मत र साहसले निर्माण गरेको युद्दले मराठी राजाले मुगल सल्तनतसंग डटेर मुकाबिला गरे । तिनै मराठीले भारतलाई खण्डित हुनबाट बचाए ।

यस्तै यथार्थ घटनाहरु विश्वमा धेरै छन् । जहाँ मुर्खहरुको सहभागिता नभएको होस् । त्यसैले भन्न सकिन्छ मुर्खबिना परिवर्तन र बिकास हुन असम्भव जस्तै छ । त्यसकारण मुर्ख ब्यबस्थापन प्रमुख जिम्मेवारीको रुपमा स्वीकार्नु पर्दछ, शासक हुन खोज्नेहरुले । दमन गरेरै ठिक लगाउँछु भन्ने हो भने त्यसले झन् नयाँ नयाँ खालको समस्याहरु पैदा गरिहने गर्छ । यहाँ भन्नेहरुले जे जे भने पनि समयको अन्तरसंगै विभिन्न खाले शासन व्यवस्थाहरु अस्तित्वमा आए गए । त्यसको उल्लेख इतिहाँसमा राम्रै गरेको पाउँछौँ । यो एक निरन्तर चलिरहने प्रक्रिया हो । यसको आयाम मात्र फरक हो । अन्यथा त्यसको बिषेशता भने एकैखाले जस्तो देखिन्छ । त्यसैले त्यस्ता परिवर्तनका चरणहरु वा अभियानहरुको हामीलाई राम्रै ज्ञान छ ।

नेपालको घटनालाई स्मरण गर्ने हो भने तात्कालिन समयमा जंगबहादुर कुँवरले गरेको कोतपर्व मुर्खतापूर्ण थियो भन्नेहरु पनि थियो । त्यही हत्याकाण्डको जगबाट निर्मित शासनले सिंगो देश नेपाल १०३ वर्ष बन्दी नै बनायो । वि.स.२००७ सालमा नेपाली कांग्रेसले निरंकुश शासनको बिरोध गर्‍यो । राणाहरुले त्यसलाई मुर्खतापूर्ण काम भने । त्यसै बेलाको एक ऐतिहासिक निर्णयले प्रजातन्त्र ल्यायो । वि.स. २०५२ सालमा माओबादीले जनयुद्को सुरुवात गरे । त्यसलाई पनि तत्कालीन नेपाली कांग्रेसको सरकारले गलत र मुर्खतापुर्ण निर्णय भन्यो । पछि माओबादीसंगै शयुक्त आन्दोलन गर्नपर्ने परिस्थिति निर्माण भयो ।

त्यसकारण निर्णय जे जस्तो होस गर्नु पर्दछ भन्ने पाठ यिनै ऐतहासिक घटनाले देखाउंछ । विश्वको मात्र होइन नेपालका यी र यस्तैखाले निर्णय, संघर्ष, आन्दोलनहरुलाई कतिपय परिस्थितिमा ‘मुर्खता’ भनियो । मुर्खताले परिवर्तन आउँदैन भनियो । परिवर्तनका लागि गोला बारुद, सडक संघर्ष, ढुंगा मुढा बर्षाइयो । टियर ग्यास र फोहरा हानियो । यी सबै कामलाई मूर्खता र ज्यादती भनियो । सामान्यतः सोच्दा र मनन गर्दा वास्तवमा यस्ताखाले संघर्षका चरणहरुलाई मुर्खता भन्नु अनुचित नदेखिए पनि मुर्खतापूर्ण अवस्थाले सिर्जना गरेको परिस्थितिबाट भएका निर्णयले परिवर्तन संभव गराएको छ । र अन्त्यमा छातीमा हात राखेर भन्नैपर्छ मुर्ख बिना परिवर्तनले गति लिन गार्‍हो छ । जय मुर्ख !(लेखक–नेपाली कांग्रेसका युवा नेता तथा विश्लेषक हुन्)              

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...