विश्वविद्यालयपछिको अध्ययन संस्थान : टेलिभिजन

news

लक्ष्मण हुमागाईं, प्रसारण विज्ञ ।

आज विश्व टेलिभिजन दिवस । विश्वभरका टेलिभिजनकर्मीका लागि अविश्मरणीय दिन । सन् १९३६ नोभेम्बर २१ तारिकमा ‘बीबीसी’ले टेलिभिजन प्रसारण गरेको अवसरको रुपमा संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा नोभेम्बर २१ तारिकलाई विश्व टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । त्यसयता विश्वभर आजको दिनलाई टेलिभिजन दिवसको रुपमा मनाउने चलन छ ।

के हो टेलिभिजन ?

सामान्य भाषामा भन्दा सूचना, मनोरञ्जन र शिक्षा प्राप्त गर्ने सञ्चारको एक सशक्त र प्रभावकारी माध्यम हो, टेलिभिजन । यो रेडियोपछिको अर्को प्रभावकारी साधन हो । आमसञ्चारका क्षेत्रमा अहिलेसम्मकै प्रभावकारी साधनको रुपमा टेलिभिजनलाई लिने गरिन्छ ।

टेलिभिजन शब्दको प्रयोग सन् १९०० मा रुसी वैज्ञानिक पर्सेस्क्युले पहिलोपटक पेरिसमा भएको सम्मेलनमा गरेका थिए । चलचित्रको विकास भइसकेको र टेलिभिजनको कल्पनामात्र गरिएको थियो । ध्वनिरहित चलचित्रमा ध्वनि भर्न थालिएको समय सन् १९२७ पछि टेलिभिजनको विकास सम्भव भएको हो ।

‘टेलि’को अर्थ टाढाको र ‘भिजन’को अर्थ दृष्यको रुपमा टेलिभिजनलाई टाढाको दृष्य हेर्न वा देखाउन सकिने साधनको रुपमा लिने गरिन्छ ।

टेलिभिजनको विकासको चरण 

टेलिभिजनको विकास निरन्तरको प्रयासपछि मात्र भएको पाइन्छ । एकातिर रेडियोको विकास सन् १९०५/६ मै भएको भएको र लुइस ब्रदर्शले सन् १८९५ मा चलचित्रको प्रदर्शन पेरिसमा गरिसकेको अवस्थामा टेलिभिजनको सम्भावना देखिएको थियो । तर, श्रव्य र दृष्यलाई सँगसँगै लान नसकेका कारण त्यसवेलाका चलचित्र प्रभावकारी बन्न सकेका थिएनन् ।

रेडियोले आफ्नो नियमित प्रसारण सन् १९२० मा प्रारम्भ गरेको थियो । एकातिर अमेरिकालगायतका देशमा चलचित्र निर्माणले तीव्रता पाएको अवस्था थियो भने अर्कोतर्फ रेडियोको माग विश्वभर बढिरहेको थियो । सन् १९३० को दशकमा रेडियो विश्वभरका जनताले अत्यधिक मन पराएको वस्तु वा साधन बन्न पुग्यो । जसलाई आमसञ्चारका क्षेत्रमा रेडियोको स्वर्णयुग भन्ने गरिन्छ ।

रेडियोले आफ्नो स्वर्णयुग मनाइरहेकै वेला त्यतिवेला विश्वभर चर्चामा रहेको बीबीसीले नै टेलिभिजनको प्रारम्भ गर्‍यो, सन् १९३६ को नोभेम्बर २१ तारिकमा ।

पहिलो विश्वयुद्ध समाप्त भएपछि रेडियोले नियमित प्रसारण थालेको थियो । रेडियोको व्यापाक दुरुपयोग पहिलो विश्वयुद्धमा भएको थियो । टेलिभिजन दोस्रो विश्वयुद्ध प्रारम्भ हुँदाको वेला सुरु हुन पुग्यो । सन् १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धले टेलिभिजनको विकासमा अवरोध पुर्‍यायो । तैपनि, दोस्रो विश्वयुद्ध समाप्त हुँदाको वेलासम्म अर्थात् सन् १९४९ सम्ममा टेलिभिजन प्रसारण एसियामा जापानलगायत विश्वका १९ मुलुकमा पुगेको थियो ।

टेलिभिजनको स्वर्णयुग 

टेलिभिजनको व्यापक रुपमा विकास र विस्तार भने सन् १९५० को दशकमा मात्र हुनसक्यो । दोस्रो विश्वयुद्ध समाप्त भएको, संयुक्त राष्ट्रसंघको स्थापना भएको र भय र त्रासबाट मुक्त समाजमा शान्ति र मनोरञ्जनको स्वाभाविक चाहनाका कारण टेलिभिजनको विस्तार भएको हो । त्यसै अवधिमा एक सहरबाट अर्को सहरमा टेलिभिजन प्रसारण गर्न कोक्साइल केबलको विकास भयो भने प्रत्यक्ष प्रसारणमात्र हुने टेलिभिजन कार्यक्रम रेकर्ड गर्न र पुनः प्रसारण गर्न सकिने भयो । अझ सन् १९६२ मा विकास भएको सेटेलाइटले त टेलिभिजन प्रसारणलाई विश्वव्यापी बनाइदियो । साथै, त्यही अवधिमा टेलिभिजन रंगीन भयो । विश्वभर टेलिभिजनको माग ह्वात्तै बढ्यो ।

नेपालमा टेलिभिजन 

विश्वमा टेलिभिजन स्थापनाको करिब ५० वर्षपछि नेपालमा टेलिभिजनको स्थापना भएको हो । सन् १९८५ मा नेपाल टेलिभिजनको स्थापना हुनुपूर्व नेपालमा भारतीय टेलिभिजन हेर्ने चलन थियो । घरका छानामा ठूला–ठूला ‘डिस्क’ राखेर टेलिभिजन हेर्ने गरिन्थ्यो ।

नेपालमा टेलिभिजनको स्थापना पञ्चायती निरंकुश शासनकै वेला भएको हो । भारतीय टेलिभिजनको बढ्दो प्रभाव, तत्काली राजाहरुको विदेश भ्रमणमा जाँदा टेलिभिजन क्यामेरा नहुनु र २०३६ सालको जनमतसंग्रहमा बहुदलको पक्षमा भएको व्यापक मतदानको कारण रेडियो नेपालले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै नेपाल टेलिभिजनको स्थापना भएको हो । हुन त २०२८ सालमै टेलिभिजनको सम्भाव्यता अध्ययन गर्ने योजना तत्कालीन सरकारले बनाएको थियो ।

लामो छलफल र व्यापक विरोधका बाबजुद् नेपालमा २०४१ सालमा नेपाल टेलिभिजनको स्थापना हुनपुग्यो । निरंकुश शासन व्यवस्थाका कारण निजी क्षेत्र सञ्चारमा लगानी गर्न इच्छुक थिएन । २०४६ सालको परिवर्तन र २०४७ सालको संविधानले प्रेसमाथिको नियन्त्रण हटाएपछि मात्र निजी क्षेत्र यस क्षेत्रमा आकर्षित भएको हो ।

हालको अवस्था 

नेपालमा टेलिभिजनको क्षेत्रमा व्यापक परिवर्तन भएको छ । प्रसारण ऐन २०४९ र नियमावली २०५१ ले निजी क्षेत्रले समेत रेडियो र टेलिभिजन सञ्चालन गर्न पाउने व्यवस्था गरेसँगै अहिले देशमा करिब ८०० रेडियो र झन्डै १६० टेलिभिजनले प्रसारणको अनुमति लिएका छन् । झन्डै ७० वटा टेलिभिजन प्रसारणमा आइसकेको र अन्य आउनेक्रममा रहेका छन् । करिब ७०० रेडियो देशभर सञ्चालनमा छन् । यो व्यापकतालाई हेर्ने हो भने देशमा रेडियो र टेलिभिजनको बाढी नै आएको भन्न सकिन्छ । ३ करोड जनतालाई यति धेरै टेलिभिजन र रेडियो भन्ने प्रश्न एकातिर उब्जेको छ भने बजारविना खुलेका यस्ता सञ्चारमाध्यमले समाजमा ल्याउनसक्ने विकृतिको आँकलन हुन बाँकी छ ।

चुनौती र समाधान 

अहिलेको मुख्य चुनौती भनेको आवश्यकताभन्दा बढी रेडियो र टेलिभिजन खुल्नु । बजार र सम्भाव्यताको अध्ययनविना नै जथाभावी खुलेका रेडियो र टेलिभिजनका कारण समाजमा विकृति देखापर्न थालिसकेको छ । त्यसले व्यापकता लिन बाँकी छ । खासगरी न्यूनतम् जनशक्तिविना रेडियो र टेलिभिजन सञ्चालन गर्न सकिँदैन । त्यसका लागि निश्चित आम्दानीको आवश्यकता पर्दछ । त्यस्तो आम्दानी हुन नसकेको खण्डमा सञ्चार क्षेत्र दुरुपयोगको शिकार बन्नसक्छ । त्यसतर्फ ध्यान नदिई जथावाभी रेडियो र टेलिभिजन खुल्न दिने नीतिका कारण यसले विकराल रुप लिनसक्ने देखिन्छ ।

अर्को महत्वपूर्ण विषय रेडियो र टेलिभिजनको नियामक निकायको अभाव हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नै यसको नियमनको काम गर्दै आएको छ । तर, व्यावसायिक व्यक्तिको संलग्नतामा स्वतन्त्र र स्वायत्त नियामक निकायले मात्र यस्तो समस्याको समाधान गर्नसक्छ । त्यसतर्फ लामो अवधि भइसक्दा पनि कुनै प्रयास नहुनुले अर्को समस्या ल्याउनसक्छ ।

सरकारले हालै आमसञ्चार प्राधिकरणलाई यसको नियामक निकायको रुपमा तोक्ने गरी प्रक्रिया अघि बढाएको छ । आमसञ्चार प्राधिकरण स्वतन्त्र र स्वायत्त निकाय हुने र त्यसले प्रसारण क्षेत्रको नियमनसमेत गर्ने हो भने एक हदसम्म यस क्षेत्रको समस्या समाधान हुने देखिन्छ । भविष्यमा बन्ने आमसञ्चार प्राधिकरण कस्तो हुने हो त्यो भने हेर्न बाँकी छ ।

विश्वमा टेलिभिजनको चुनौती 

सञ्चार क्षेत्रमा इन्टरनेटको प्रवेशसँगै टेलिभिजन क्षेत्रमा पनि त्यसको प्रभाव परेको छ । टेलिभिजनको नियमित प्रसारणभन्दा ‘भिडियो अन डिमान्ड’ (VOD) लाई प्राथमिकता दिन थालिएको छ । प्रसारण प्रविधिमा प्रयोग हुने खर्चिला उपकरणहरु कम हुँदै प्रविधि सहज र सरलमात्र होइन, सुपथसमेत हुन थालेको छ । सूचनाको विकल्पको रुपमा अनलाइन सञ्चारमाध्यमतर्फ निर्भरता बढेको र टेलिभिजनतर्फ घटेको भएपनि मनोरञ्जको सशक्त साधन टेलिभिजनलाई विस्थापित गर्ने क्षमता भएका अन्य माध्यम अझै देखापर्न सकेको छैन । ‘प्लेटफर्म’ भने परिवर्तन भएको छ । नियमित प्रसारणको सट्टा चाहेको वेला हेर्ने प्रचलनको कारण उत्पादनको व्यवस्थापन र उपलब्धतामा सोच्नुपर्ने भएको छ ।

परम्परागत स्रोता वा दर्शक समाजको सट्टा अब ‘नेटवर्क’ समाज बनेको छ । कुनै कार्यक्रम लोकप्रिय वा चासोको विषयको भयो भने अर्कोलाई पठाउन वा हेर्न लगाउन सकिने भएको छ । जहाँसुकैबाट जहिलेसुकै हेर्न सकिने भएको कारण टेलिभिजन प्रसारणसमेत सीमाविहीन बन्दैछ । रुचिअनुसारको मात्र कार्यक्रम हेर्ने सकिने अवस्था उत्पन्न भएकाले विविधतामा ध्यान दिनुपर्ने अवस्था उत्पन्न भएको छ ।

परम्परागत प्रसारण र विज्ञापनमा मात्र आधारित टेलिभिजन उद्योग अब प्रतिहेराइबाट प्राप्त गर्ने रकमतर्फ उन्मुख हुँदैछ । परम्परागत सोचको सट्टा नयाँ सोच र शैलीका साथ चल्नुपर्ने, आफ्ना उत्पादनलाई जनतासम्म पुग्ने गरी व्यवस्थापन गर्नुपर्ने र आमजनताले हेरेवापत् आम्दानी गर्ने वातवरणको सिर्जना अहिलेको टेलिभिजन उद्योगका चुनौती र अवसर बन्दै आएका छन् । समग्रमा टेलिभिजन हामी सबैको सूचना, मनोरञ्जनको साथीमात्र होइन, विश्वविद्यालयपछिको अध्ययन संस्थान बन्दै छ र बनिरहने क्षमतको विकास गर्नु आवश्यक छ । सबैलाई विश्व टेलिभिजन दिवसको शुभकामना ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...