हामी यस्तै त हो नि ब्रो !

news

-संजिव कार्की 

हामी नेपाली खराब नै मात्र पनि छैनौं । असल र सहयोगी निष्ठा र नियमका परिपालक र आदर्शका प्रतिमूर्ति अनि वीरता र सुरताका लडाकु पनि छौं । इमानका पहाड र स्वधर्म परिपालक पनि छौं । हामीमा थुप्रै दुर्गुणहरु छन् अनि सद्गुणहरु पनि । यद्यपी, हाम्रो जिन्दगी, जीवन जिउने शैली र राज्यको चल्ने प्रणाली विरोधाभाषपूर्ण छ । हामीमा अलमल धेरै छ । गन्तव्यमा हिंडेका छौंं तर बाटो क्लियर छैन । समाजवाद उन्मुख राज्यप्रणाली भनेर राज्य कल्याणकारी हुनुपर्छ संबिधानमा कोरेका छौं तर शिक्षा र स्वास्थ्य जस्तो अति संवेदनशील जीवन र मरणको सबाल राख्ने क्षेत्रलाई निजीकरण गरेर व्यापार ब्यबसाय कुस्त सम्पति आर्जन गर्ने उद्योग र कलकारखानाको रुपमा विकास गरेका छौं ।

शिक्षा सर्वसुलभ र सर्वसाधारण सबै नागरिकको पहुचमा हुनुपर्ने राज्यको अवधारणा हो । राज्यको मूल नीति हो । तर पनि गरिबको पहुँचमा शिक्षा छैन । स्वास्थ्य यति महँगो छ कि सामान्य चेकजाँच गर्न पनि घरखेत बेच्नुपर्ने स्थित छ । मुश्किल छ मध्यम बर्गलाई, निम्न र निम्न मध्यम बर्गले नियतिलाई दोष दिएर बस्नुको विकल्प राज्यले दिन सकेको छैन ।

अर्थशास्त्रमा अर्थको कारण भएको बर्ग बिभाजन शिक्षाको कारण पनि विभाजित छ । शिक्षाले बर्ग विभाजन गरेको छ । बर्गीय शिक्षाले समाजवाद कहिले र कसरी भेट्टाउने हो अत्तोपत्तो छैन । मेडिकल कलेज डाक्टरी लाइसेन्स बेच्ने थलो भएका छन् । पैसा हुनेका लागि मेडिकल शिक्षा छ, गरिब तथा जेहेन्दार बिद्यार्थी पैसा नभएको कारण डाक्टर बन्ने स्थिति छैन । अरु फ्याकेल्टिले पनि शिक्षामा प्रमाणपत्र दिन्छ तर परिस्थितिको जटिलतालाई सामना गर्न सिकाउँदैन । हाम्रो शिक्षाले भाग्न, छलिन र उम्कन सिकाएको छ तर जटिल परिस्थितिमा कसरी डटेर सामना गर्ने भन्ने तरिका र साहस सिकाएको छैन । प्रतिकुलतालाई अनूकुलतामा परिवर्तन गर्ने धैर्य र उपाए  देखाएको छैन । नाफा घाटाको गणित सिकाएको छ तर जिन्दगीको समस्या सामाधानका शुत्रहरु पढाएको छैन ।

फूल फुलेपछि झर्नुपर्छ, झर्छ, मान्छे जन्मेपछि मर्नुपर्छ मर्छ यो सत्य जानिएको छ तर मृत्युको भय सँधै कायम छ । मृत्यु प्रकृतिको अनिवार्य अन्तिम सत्य तर यसलाई कसरी सहज मान्ने र भयरहित भएर मृत्युको सामना गर्ने हाम्रो धर्म र शिक्षाले सिकाएको छैन । प्रमाणपत्र दिन्छ सीप र साधना दिदैंन । उद्यमी बनाउन सिकाउदैन दास बन्न र जागिरे बन्न मात्रै प्राथमिकतामा राख्छ । मुलुक कृषि प्रधान छ, देशभित्र नै कृषिमा अथाह सम्भावना छन् तर हाम्रो शिक्षाले कृषिमा जान लजाउने शैक्षिक बेरोजगार जन्माउँँछ । देशमा कुटो कोदालो गर्न लाज मान्नेहरु बिदेशमा जे पनि गर्न र जस्तो पनि जोखिम मोल्न सक्ने बनाउँछ । स्वदेशमा आफ्नो बारी बाँझो राखेर बिदेशमा केही पैसाको लागि गुलाम बन्न र दास बन्न राजी छ हाम्रो मनस्थिति । खेतबारी बाँझो राखेर मोदीले लसुन प्याज, साग र आलु रोकिदियो भनेर स्वाभिमानको नारा लगाउछ हाम्रो चेतना ।

भारतलाई गालीगलौज गर्दै परनिर्भरता चीन तिर सारेर गौरव गर्छ हाम्रो आत्मनिर्भरता । बैदिशिक रोजगारको नयाँ नयाँ गन्तव्यको ढोका खोलेर स्वदेशमा रोजगारी सिर्जना भएको र देशको प्रतिव्यक्ति आय बढेको घोषणा सरकार गर्छ । विनोद चौधरीलगायत दुई चारजना धनी र ब्यापारीको पैसा सबै नेपालीको कागजी एकाउन्टको तथ्यांक देखाएर नेपाल धनी भएको पर क्यापिटा इन्कम बढेको भनेर गर्वले छाती फराकिलो बनाउछन राजनीतिक दलहरु ।

राजनीतिमा हरुवा चरुवा बनेर, भएर आफ्नो विवेक बन्दक र लिलाम गर्छ राजनीतिक दलको कार्यकर्ता । प्रतिनिधित्वको नाममा समावेशी र समानुपातिक सिद्दान्तको आडमा राज्य संयन्त्रमा कमशल र निर्धाहरुको उपस्थिति बाक्लियो । शासक र उच्च जातिको बिल्ला बोक्ने प्रतिभाशालीको प्रतिभा अपहरणमा पर्‍यो । नीति नियम र संगतिका कुरा गर्‍यो भने हिजो पनि यस्तै थियो, उसका पालामा पनि यस्तै हो आज मात्रै होइन नि। हामी सबै यस्तै त हो नि ब्रो को जबाफ सबैको ओठमा झुन्डिएको छ ।

बाटोको छेउमा मकै बेच्ने बुढी आमाको स्वाभिमान र कर्मको प्रसंसा गरेर इज्जत र आदर गर्दै प्रोत्साहन दिनुपर्ने करोडौंको कार चढ्ने सुट्धारी भलाद्मी व्यक्ति बीस रुपैयाको मकै महँगो भएको भनेर बीस चोटी बार्गेनिङ गर्दै होटलमा पाँच सयको टिप्स छोडेर घिरौंला भन्दा ठूलो नाक पार्छ । बाचुन्जेल एक धरो राम्रो कपडा दिन नसक्ने छोरो मरेपछि महँगो कात्रो र महंगा सामान दान गरेर सामाजिक, धार्मिक कर्मको दायित्व पुरा गर्छ । सबैभन्दा निर्धो, कुरूप पात्र शक्तिशाली बोक्साबोक्सी भनेर गाउँ निकालिनेमा पर्छन । कुपोषणको शिकार भएर मरेका व्यक्तिको लागि गाईदान गर्ने हाम्रो सामाजिक रित र परम्परा छ ।

यतिबेला सामाजिक संजालमा चर्चित यो भनाइ उदृत सान्दर्भिक छ भुइमा सुतेर चिसोको कारण हजुरबा बितेपछि पण्डितलाई खाट किनेर दान दिनुपर्ने संस्कार र संस्कृतिका मान्छे हामी । परम्परा भनेर जे पनि मान्ने तर्क र कारण नबुझ्ने बनेका छौं । जसले हतियारमा धार लगाउन सिकायो, पाइन हाल्न पारङ्गत बनायो उसैको गर्धन रेटेर धार परीक्षण गर्ने प्रशिक्षार्थी उत्पादन गर्ने कारखाना बनाउने जमात भएको देश हो हाम्रो । छोरीको मुताबिक हिड्ने जुवाइ असल, ब्यबहारिक र समझदारहुने अनि बुहारीको आज्ञापालक छोरो हुतिहारा र जोइटिग्रे उपाधिले विभूषित गर्ने डबल स्ट्याण्डर्ड र मापदण्ड राख्ने सामाजिक चेत छ हाम्रो । सेना व्यापार गर्छ, ठेक्का गर्छ, भीभीआर्इपी र भीआइपीहरुको घरमा घरेलु नोकर बन्छ तर सीमामा बस्ने व्यक्तिले घरेलु हतियार बोकेर देशको रक्षा गर्नु परेको बिडम्बना युक्त देश बनाएका छौं हामीले ।

सत्तरी वर्षे भक्ति थापाले अनेकन अवसर र प्रलोभनलाई लत्याए थुके छि छि गरेर आफ्नो रगत देशलाई चढाए तर अहिले एकथान छात्रवृत्तिको लागि र्याल चुहाएर देशको अस्मिता किस्ता किस्तामा सुक्रिबिक्रीको गर्न हाम्रा पार्टी र नेताहरुको लुछाचुँडी छ । चरित्रहीन हुने कुकर्म नारी पुरुषको समान सहभागिता बिना असम्भव छ तर चरित्रहीनको चिनारी र पगरी महिलाको लागि मात्र सुरक्षित छ । लान्छना, बदनाम र अपहेलना नारीको भागमा मात्रै पर्छ । इश्वरको अस्तित्व छैन भन्नेहरु मन्दिरको पुजारी बन्न हतारो गर्छन । कुरूप यथार्थलाई भ्रमका मलमल युक्त कपडाको पर्दा लगाएर विरोधाभाषपूर्ण जिन्दगी हाम्रो संस्कार, संस्कृति भएको छ । बन्दुक बोक्ने, बम पड्काउने पक्रन सकिदैन तर गीत गाउने पक्रन सजिलो हुन्छ त्यसैले गीत गाउने पक्रेर बहादुरी प्रदर्शन गर्ने प्रहरी पालेको छ राज्यले ।

हिन्दु राज्यको वकालत गैर हिन्दुको माग र नारा भएको छ तर स्वयं हिन्दुहरु आफ्नो धर्म संस्कृति र पहिचान मेटाउने सारथी र सुयोग्य पात्र भएका छन । जोगीको घरबार र कम्युनिष्टको दरबार आमचरित्र र उदाहरण बनेको छ । पुजारी, जोगी, ब्यापारी  र राजनीतिज्ञ भेष फरक, आवरण फरक भएका समान चरित्र र प्रवृति भएका बिभिन्न रुपधारी अन्तर्य एकै भएका पात्रहरु हुन । स्वार्थ अनुकुलका ब्याख्याहरु सिद्दान्त बनेका छन् । सर्वमान्य सिद्दान्त र आदर्शले डस्टबिनको बास बस्नुपरेको विषम परिस्थति छ । सही मान्छे गलत कारण देखाएर परित्यक्त छ गलत मान्छे गलत आचरणको कारणनै सही कहलिने बातावरण प्रयाप्त छ ।

बहालवाला कर्मचारी पार्टीको झन्डा बोक्न र चुनाव प्रचारप्रसारमा हिड्ने योग्यता राख्दछ तर रिटायर्ड कर्मचारील स्वतन्त्र नागरिकको हैसियतमा हुन्छन तर पनि  सरकारको बिरोध गरेको कारण पेन्सन सुबिधाबाट बन्चित गर्ने धमास खप्न र उस्तै परे बन्चित रहने स्थितिमा छन । नागरिक सरकारको आलोचना गर्न पहाड फोर्छ तर रचनात्मक काम गर्न सिन्को भाँच्न सक्दैन तर पनि कर्तव्य उसैले बढी सम्झाउछ, लेख्छ, बोल्छ । हामी जे छौ, जस्तो बन्दैछौं । जताततै विरोधाभाषको दलदलमा छौं । डबल स्ट्याण्डर्डमा छौं, बोल्छौ एक, गर्छौ अनेक आिचरण एक, रुप अनेक । नियम एक, छिद्र अनेक ।  नाकाबन्दीको बेला मौन रहेको शेरबहादुर देउवाको राष्ट्रवाद अहिले डाँडाकाँडा ढाकेर निस्किएको छ ।

शायद देशको माया सत्ताको सिजन अनुकुल र प्रतिकुल भैदिन्छ । अनि सजिलोसँग भन्छौं आफू अनुकुल कुरा गर्छौ, प्रतिकुलता देखियो ,भयो भने भन्छौ हामी यस्तै त हो नि ब्रो । तिमी उस्तै, म पनि उस्तै, दुवै दुरुस्तै । हामी एकै त हो नि । अनुकुलता प्रतिकुलता दुवैलाई मिल्ने जबाफ र कारण हामी यस्तै त हो नि ब्रो ।  

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...