चिया-पर्यटनको अभ्यास : कन्याममा ‘देउराली हाइकिङ’को मजा

news

काठमाडौं । नेपालमा विस्तारै चिया पर्यटन(टी एन्ड टुरिज्म)को अवधारणा अनुरुप प्रवद्र्धनका कामहरु हुन थालेका छन् ।

विशेषगरी इलाम र धनकुटामा चिया पर्यटनको अभ्यास सुरु भएको हो ।

इलाम सदरमुकामस्थित चिया बगानभित्र रेलिङ तथा पोखरी निर्माण भइसकेको छ । कन्याममा पनि रेलिङ तथा विसौनी निर्माण भइसकेको छ । 

‘टी टेष्टिङ’ का कार्यक्रमको निरन्तरता तथा चियाबारी भित्र होटल तथा रिसोर्टहरु खुल्नेक्रम सुरु भएको छ । 

यसै सिलसिलामा पूर्वको चर्चित पर्यटकीय स्थल कन्याम चिया बगान भित्र ‘देउराली सर्ट हाइकिङ’ सुरु भएको छ ।

चियावारी भित्र छोटो दुरीको हाइकिङ पहिलो पटक कन्याममा सुरु भएको हो ।

‘प्रथम सूर्योदय पर्यटन महोत्सव–२०१९’को अवसर पारेर औपचारिक रुपमा हाइकिङ सुरु गरिने सूर्योदय पर्यटन महोत्सव अन्तर्गत कन्याम क्षेत्रका क्षेत्रीय संयोजक टेकराज गिरीले जानकारी दिए । महोत्सव यही मंसिर १४ देखि १८ गतेसम्म संचालन हुँदैछ । 

‘हामीले चिया बगानभित्रको पुरानो रुटलाई पहिचान गरी करिब दुई किलोमिटर हाइकिङ रुट तयार पारेका छौं, हाल अभ्यासको चरणमा छौं’, उनले भने, ‘चिया पर्यटनको अवधारणा अनुरुप पर्यटक भूल्याउने हाम्रो प्रयास हो ।’

कन्यामको हुरहुरे भन्ज्याङ वा हर्कटे आसपासको क्षेत्रबाट सुरु गर्नेगरी चिया बगानको डाँडैडाँडा हाइकिङको रुट पहिचान गरिएको छ ।

मेची राजमार्ग नजिकै चिया बगानको ताप्लोबाट करिब दुई किलोमिटर हाइकिङ गर्न सकिने ब्यवस्था छ ।

कन्याम पुगेका पर्यटकहरुका लागि जातीय पहिरन, घोडचढी, फोटो सेसनसहित हाइकिङको अवधारणा विकास गरिएको संयोजक गिरीको भनाई छ ।

‘हामीले पहिचान गरेको हाइकिङ रुटबाट पर्यटकले नेपाल र भारत दुवैतर्फका समथर फाँटहरुको अवलोकन गर्न पाउनेछन् साथै कन्चनजंगालगायत हिमश्रृंखलाको मनोरम दृश्यमा रमाउन पाउनेछन’, स्थानीय अगुवा लेखनाथ दाहालले भने,‘कन्यामलाई महोत्सवमार्फत पृथक तरिकाले चिनाउने प्रयासमा छौं ।’

हाइकिङ बाहेक पर्यटकले कन्याममा शहीद पार्क, मिर्मिरे र देउराली डाँडाबाट सूर्योदय, चिया कारखानाको अवलोकन, मौलिक परिकारको स्वाद लिने गरेका छन् ।

चीन, जापान, केन्या, श्रीलंका, भारतलगायतका देशहरुमा चिया पर्यटनको अवधारणा अनुरुप, टी–टेस्टिङ सेरोमनी, टि गार्डेन हाइकिङ, चियाबारी भित्र पार्क तथा कटेज निर्माण, चिया रोपाइ, टिपाइ, प्रशोधन, किसानको जीवनशैली आदी बुझ्न बर्षेनी हजारौं पर्यटकले भ्रमण गर्ने गरेका छन् । –युवराज गौतम(ईमेज)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...