साख जोगाउन र साख बढाउन धौ धौ रहेको उपचुनाव

news

आम मान्छेहरुको बुझाइ रहेको छ मान्छे चुनावमा जित्ने उदेश्यले उमेद्वार बन्छ । यो धारणा सत्य हो तर सत्यहरु अर्धसत्यको मान्यता लिएर उदाइरहेको हुन्छ  ।

मान्छेहरु चुनावमा जित्नको लागि मात्रै उमेद्वारी राख्दैनन् कसैलाई हराउन र कसैलाई जिताउन पनि उमेद्वारी दिने चलन चलेको छ  । छुट्टै संदेश प्रवाहित गर्नको लागि पनि चुनावमा उमेद्वारी दर्ता गरिन्छ । जित्ने सम्भावित उमेद्वारसँग बार्गेनिङ गरेर आर्थिक लाभ लिने अवसरको रुपमा पनि चुनावलाई उपयोग गर्नेहरु छन् ।  सबैले चुनावमा उमेद्वार बन्ने बित्तिकै, पार्टीले टिकट दिने बितिकै जित्ने क्षमता राख्दैनन् ।

पुराना र स्थापित पार्टीलाई जितको मोह बढी हुन्छ र चुनावमा प्राविधिक जितको अपेक्षा गर्छन । त्यस्तै रणनीति बनाउछन । तर नयाँ—नयाँ पार्टीहरु जितको अभिष्ट भन्दा पहिले पार्टीलाई स्थापित गराउन, पार्टी चिनाउन, पार्टीको नाम सुनाउन पनि चुनावको उपयोग गरेर चुनावी प्रतिस्पर्धामा भाग लिन्छन र राजनीतिक सन्देश दिन चाहन्छन ।

जस्तो विगतको स्थानीय चुनावमा विवेकशील नेपाली दलले काठमाडौं महानगरपालिकामा रन्जु दर्शनालाई आफ्नो उमेदवार बनाएर चुनावमा मेयरको प्रतिस्पर्धामा पठायो , चुनावमा पराजय पायो तर राजनीतिमा सम्भावना खोज्यो । नयाँ सम्भावनाको ढोका खोल्न जनमत बन्दैछ भन्ने सम्भावना मुखरित गर्यो । हारमा पनि जनताले दिने राजनीतिक सन्देशको अर्थ खोज्छन र जनतालाई आफ्नो पक्षमा आफ्नो संगठनमा गोलबद्ध बनाउन योजना बनाउँछन ।

हाम्रो देश अहिले उप चुनावको  संघारमा छ । यतिबेला सत्ता पक्ष अर्थात नेकपा आफ्नो लोकप्रियता र दुई तिहाईको शक्ति सहित जनतालाई आफूले दिएको सुशासन र कामको प्रचार गरेर मत माग्दैछ भने प्रमुख प्रतिपक्ष कांग्रेस दुई तिहाईको सत्ता र शक्ति भए पनि जनताको काम गर्ने ल्याकत नभएको सरकार भनेर सत्ता पक्षको कमजोरीको फेहरिस्त बोकेर मैदानमा छ ।

सत्ताले काम गर्न सकेन भनेर विपक्षको आलोचना जरुरी छैन । किनकी सत्ता पक्षकै नेता कार्यकर्ता सरकार असफल भएको निस्कर्षमा छन् । प्रधानमन्त्री स्वयंले आफ्ना मन्त्रीहरुसँग सन्तुष्ट बन्न नसकेर असक्षमको बिल्ला दिएर छ जना मन्त्रीहरु गल्हात्येर नयाँ पजनी गरे । यसर्थ सत्ताले आफ्नो ल्याकत प्रमाणित गर्न नसकेको तथ्य घाम जत्तिकै छर्लगं छ ।  आफ्नो इज्जत डोकोले छोपेर भोट माग्दैछ सत्ता पक्ष ।

पार्टीहरु एजेन्डा बोकेर मात्र हैन व्यक्तिगत कमीकमजोरी, क्षुद्रता र उमेरको बहस गरेर पनि मतदातालाई आफ्नो पक्षमा तान्न अभ्यष्त छन् । राजनीतिमा विरासतको विषय देखि,  विगतका असक्षमता अनि नयाँ पार्टीका खुट्टी पनि देखियो भन्ने सम्मका प्रचार गरेर आफ्नो पार्टी अब्बल, आफ्नो उमेदवार सक्षम , आफ्नो इतिहास गर्विलो र आफ्नो काम प्रख्यात, पुरानालाई हेरियो अब नयाँलाई जिताउनुस जस्ता नारा र ब्यानर बोकेर जनताको घर घरमा छन् । धनबल , जनबल र डनबल सबै किसिमका तिकडम लगाएर चिसो मौसम तताउँदै छन् पार्टीहरु ।

संघिय संसददेखि , प्रदेश संसद हुँदै महानगर प्रमुख, उपप्रमुख देखि गाउँपालिका प्रमुख, उपप्रमुख हुँदै वडा प्रमुख देखि वडा सदस्य सम्मको विभिन्न  ५१ पदका लागि ३७ जिल्लाका एक सय ५४ वडामा उपनिर्वाचन हुदैछ । विभिन्न तहमा कतै ११ वटा दल, कतै १२ वटा, कतै १५ वटा दल र स्वतन्त्र उमेद्वार सहित तीन सय ३३ उमेदवार आफ्नो भाग्य परिक्षण गर्दैछन् । 

 मूलतः मुख्य प्रतिस्पर्धामा काँग्रेस नेकपा रहेका छन् भने समाजवादी पार्टी र राजपाको कहिकाही प्रतिस्पर्धा देखिन्छ । यद्दपि प्रमुख लडाइका पात्र नेकपा र काँग्रेसकै उमेदवार हुन् । मिनी जनमतको परिक्षाले यी दुवै पार्टीको आगामी दिनको संकेत र रणनीतिमा प्रभाव राख्ने छ । जो प्रतिस्पर्धी छन् चर्चा तिनैको हुन्छ । आज नेकपा र काँग्रेसलाई साख जोगाउन र साख उठाउन यो चुनावले संकेत प्रदान गर्दछ तसर्थ पनि यी दुईलाइ यो चुनाव अरुलाई भन्दा बढी लाग्नु स्वाभाविक नै हो ।

चुनाव गर्माएको छ नेताहरुको व्यस्तता र धपेडी हेर्न लायक नै छ । चुनावको मुखमा या चुनाव आएपछि जून व्यस्तता र धपेडी, जनताको कुरा सुन्ने ध्यान चुनाव सकेपछि कम्तिमा पाँच प्रतिशत मात्रै कायम राखे पनि जनताले ठूलो राहत महशुस गर्न सक्थे । चुनाव जित्ने मात्रै होइन हार्नेको पनि जनतासँग सामिप्यता रहन्थ्यो । हाम्रो दुर्भाग्य पार्टीहरु जनतालाई चुनावको बेला मात्र भगवान सम्झेर पुज्छन । चुनाव सकिएको भोलिपल्ट नमस्ते फर्काउने फुर्सद पनि मिलाउन सक्दैनन् ।  तरपनि जनता आलोपालो काँग्रेस कम्युनिष्टलाई विश्वास गर्छन ।  विकल्प तिर भनेजति रहर गर्दैनन जसको कारण नयाँ सम्भावना बोकेका पार्टीलाई असाध्यै दुरुह चुनौती छ स्थापित हुनलाई ।

जित्ने सम्भावनालाई भोट दिन्छन् । तर हारेर पनि राजनीतिक सन्देश दिने पार्टीलाई भोट गर्न हिच्किचाउँछन् । कमैले मात्र हार्ने देखेर पनि भोट गर्छन । जसले हार्ने निश्चित हुँदाहुँदै पनि नयाँलाई भोट गर्छन तिनीहरुले विकल्प खोजेका हुन् । राजनीतिमा नयाँको स्पेस बनाउन योगदान गरेका हुन् ।   राजनीतिक चेत देखाएका हुन् । यो मिनी जनमत संग्रहमा जित्नुपर्ने कसले हो ?  उत्तर सजिलो छैन किनकी सत्ता पक्षको कामगर्ने शैली र विपक्षको रचनात्मक विरोध र भूमिका दुवै सन्तोषजनक छैनन् ।   

वर्षौ सम्म एकछत्र जस्तै सत्ताको चास्नीमा फसेको काँग्रेस अकस्मात सत्ताच्युत बन्दा होस्  सम्हाल्न अझै सकिरहेको छैन  । यति बलियो र तागत भएको सरकार छ तर जनतालाई बलियो सरकारको अनुभूति सत्ता बलियो छ भनेर दिनु बाहेक उलेख्य केही गर्न सकेको छैन ।  यो चुनाव जित्दा उसलाई अरु सहजता थपिदैन सजिलो मार्ग बन्दैन जे छ उसलाई काम गर्न प्रयाप्त छ ।  त्यसैले सत्ता पक्षको लागि हामी लोकप्रिय नै छौ अझै भनेर धाक जमाउने भन्दा अर्को संख्या वृद्धिले खासै अर्थ राख्दैन । विपक्षी काँग्रेसले पनि जितेर कुनै उल्कापात गर्दैन कारण काँग्रेस सुध्रेको कुनै प्रमाण र सन्देश काँग्रेसले यो अवधिमा दिन सकेको छैन ।  तंग्रिन नसकेको स्थिति छ कांग्रेसको पनि । त्यसैले काँगेसलाई भोट दिनुको औचित्य साबित हुने कुनै कारण छैन । 

राजपा, समाजवादी पार्टी, विवेकशील साझा र विवेकशीलले जित्ने चुनावी क्षेत्र कमै छन् ।  हार्नेलाई भए पनि मत दिएर काँग्रेस कम्युनिस्टको विकल्प जनताले खोज्ने मनोविज्ञान बनिसकेको छैन । अहिलेलाई विकल्पहीन विकल्प भनेकै काँग्रेस र कम्युनिस्ट हुन भन्दा देशको वर्तमान राजनीतिको विश्लेसण एकपक्षीय हुदैन पक्कै पनि । काँग्रेस कम्युनिस्टको कार्यशैली जनताको चित्त बुझाई भित्र पर्दैन तर विकल्प छान्ने जनताको मनस्थिति छैन । त्यसैले यो मिनी चुनाव काँग्रेस कम्युनिस्टको हिजोकै प्रतिस्पर्धाको निरन्तरता भन्दा भिन्न विल्कुल हुने देखिन्न । 

नयाँ सम्भावना र नयाँलाई मौका नदिने परिस्थिति र मनस्थिति भए पछि सधै जाँचिएका, क्षमता नभएका, योग्यता विहिनलाई रास्ट्रको जिम्बेवार भूमिकामा पठाउनु भनेको त्यो दोष नेपाली जनताको आफ्नो पनि हो । पटकपटक प्रायस्चित गर्दै पुन् तिनैलाई रोज्नु देशको यो हविगतको दोष जनताको आफ्नो मर्जिको कारण पनि निम्तिएको हो । विजेताको  देश बनाउने योग्यता नपुग्नु उसको कमजोरी होइन । त्यस्तालाई चुन्ने सधै जिताउने हाम्रो कमजोरी र मुर्खता हो । बाघको झम्टाइ ठिक भएन भनेर भालुको चिथोराइमा पुग्ने नेपाली मत र अभिमतले अहिल्यै नयाँपन भित्र्याउदैन यसर्थ यसको राजनीतिक महत्व दुरगामी सन्देश दिने  खालको अभिमत नहुने निश्चित छ ।

अकारण भित्र कारण खोजेर निर्विकल्प विकल्प काँग्रेस र नेकपा कसको पल्ला भारी बनाउने ? एउटा निर्दयी सत्य भन्नै पर्ने हुन्छ कोही मन पराउनु भन्दा पनि कोही कसैलाई थोरै भए पनि सचेत गराउन सत्ताको उन्मादलाई साइजमा राख्न र भोलिको परिणाम तर्सेर राम्रो काम गर्न दवाब दिने हेतु प्रकट गर्दा सत्ताधारीलाई यो चुनाव सबक सिकाउने माध्यम बनाउन जरुरि छ ।  ताकि आजको पराजय भोलिको लागि असल कर्म गर्ने नकारात्मकता भित्रको सकारात्मक परिणति बनोस  । आज काङ्ग्रेसले जितेर कुनै तात्विक भिन्नता आउँदैन तर नेकपा पराजयले नेकपाको घट्दो लोकप्रियताको ग्राफ सच्याउने अवसर हुनेछ ।

जितको उन्माद र अहंकार सच्चिनु जरुरि छ ।  अन्यथा अहंकारले दुर्घटना निम्त्याउँछ । सकिन्छ नवीन विकल्पमा जानुपर्छ सकिन्न नो भोट को प्राबधान छैन । त्यसैले मुलुकको हित खातिर पनि जनताले सच्चिने सुध्रने र सचेत गराउने विकल्पलाई छान्दा प्रजातन्त्र बलियो हुन्छ  । अत्यधिक शक्तिको मादकता घातक र निरंकुशताको दिशा उन्मुख हुनेछ । जन अभिमत कसैलाई जिताउन , हराउन होइन आफूलाई बलियो बनाउन केन्द्रित हुनुपर्छ ।

देशलाई जिताउन पद्दति बलियो बनाउन सबैको भूमिका प्रवद्र्धन गर्न सहयोगी बनोस । चुनावमा मतदान गर्ने चार लाख ५४ हजार मतदातालाई शुभकामना । चुनाव उत्सव हो भय र त्राश होइन ।   उत्सवमय चुनावको चाहना राख्दै सहभागी बनेर मतदान गरौ । कसको साख जोगाउने कसको घटाउने जनताको मर्जी । काँग्रेस कम्युनिस्टलाई धौ धौ छ यतिखेर अस्तित्व जोगाउन । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...