१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


संसद् कामविहीन बन्दा ५५ वटा विधेयक अलपत्र

मन्त्रिपरिषद् विस्तारपछि गति लिने सत्तापक्षको तर्क

0
Shares

Samsad-baithak-3rd-Saun2078

अक्कल कुँवर
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको दुई साता बितिसक्दा पनि न विधेयकहरू अघि बढ्न सकेका छन्, न त जनताले अनुभूति गर्ने गरी काम नै गर्न सकेको छ ।

सरकारले काम दिन नसक्दा २ पटक मृत्युशय्यामा पुगेर ब्यूतिएको प्रतिनिधिसभा गतिहीन बनेको छ । प्रमुख प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद मोहन बानियाँ सरकारकै कारण प्रतिनिधिसभा प्रभावहीन भएको टिप्पणी गर्नुहुन्छ ।

‘कुहिराको कागजस्तो अल्मलिएको सरकारले मन्त्रिपरिषद्समेत विस्तार गर्न सकेको छैन,’ उहाँ भन्नुहुन्छ, ‘आफ्नै व्यवस्थापनमा रुमल्लिएको सरकारसँग सदनलाई दिने समय नै छैन ।’ पेश भएका विधेयकहरूमा छलफल हुनुपर्नेमा त्यो पनि नभएको उहाँको भनाइ छ ।

संसद्लाई क्रियाशील बनाउन सांसदहरूले गरेको पटक–पटकको प्रयास सफल भएका छैन । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडुको प्रतिक्रिया सुन्दा लाग्छ, संसद अझै केही समय अलमलमै रहन्छ । मन्त्रिपरिषद्ले पूर्णता पाउनेबित्तिकै सदन राम्रोसँग अघि बढ्न उहाँको भनाइ छ ।

चालु अधिवेशनको पहिलो बैठकमा १४ वटा अध्यादेश पेश भएका थिए । दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुभयो । त्यसयताका बैठकमा सांसदहरूले शून्य र विशेष समयमा बोल्ने अवसर पाएपछि विधेयकका सम्बन्धमा कुनै कामकारबाही हुन सकेको छैन ।

संघीय संसदमा विभिन्न प्रक्रियामा हाल ५५ वटा विधेयकहरू छन् । ती मध्ये २६ वटा प्रतिनिधिसभामा र १९ वटा राष्ट्रियसभामा छन् । दर्ता र वितरण भएका मात्रै विधेयकको संख्या १७ छ । सदनमा पेश भएका विधेयकको संख्या २० र विषयगत समितिमा विचाराधिन विधेयकको संख्या १५ वटा छन् ।

आम चासो र जनजीविकासँग जोडिएका तीन तहको अधिकार क्षेत्र, नेपाल नागरिकता ऐन संशोधन, संघीय निजामती सेवा गठन, लोकसेवा आयोगलगायतका विधेयकहरु लामो समयदेखि संसदमा विचाराधिन छन् ।