‘साग’को पोखरामा औपचारिक उद्घाटन

news

पोखरा, मंसिर १६ । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)को सहआयोजक सहर पोखरामा सोमबार सागको औपचारिक उद्घाटन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार काठमाडौंमा सागको भव्य उद्घाटन गरेकी थिइन् ।

सोमबार पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले औपचारिक उद्घाटन गरे ।

उद्घाटनका क्रममा पोखराका विभिन्न स्थानबाट आएको झाँकीसहितको र्‍याली पोखरा रंगशाला पुगेको थियो ।

सातै राष्ट्रका खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीहरु ‘मार्चपास’मा सहभागी भए ।

समारोहमा गण्डकी प्रदेशका स्थानीय झाँकी, संस्कृतिलगायत समेटिएको सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

उद्घाटनमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, गण्डकी प्रदेशका मन्त्रीहरुलगायतको उपस्थिति रहेको थियो ।

१३औं सागका २८ मध्ये पोखरामा ८ खेल हुँदैछन् । पोखरामा महिला फुटबल, महिला क्रिकेट, ह्यान्डबल, आर्चरी, ब्याडमिन्टन, विच भलिबल, भारोत्तोलन र ट्रायथलनका खेल हुनेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...