हस्तकला मेलामा ८ करोड बराबरको कारोबार

news

काठमाडौं, मंसिर १६ । १७औं हस्तकला व्यापार मेला तथा १५औं हस्तकला प्रतियोगिता उत्साहजनकरुपमा सम्पन्न भएको आयोजकले जनाएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, निजी क्षेत्रका छाता संगठनलगायतको संयोजन तथा नेपाल हस्तकला महासंघको आयोजनामा बिहीबारदेखि राजधानीमा भएको प्रदर्शनीको ७५ हजार बढीले अवलोकन गर्दा ८ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएका हुन् ।

मेलाको समापन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वदेशी उत्पादन प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने र यस क्षेत्रका कालिगढ एवं कलाकर्मीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ महासंघले हरेक वर्ष यस्तो मेला एवं प्रतियोगिता गर्दै आएको अध्यक्ष सुरेन्द्रभाइ शाक्यले बताए ।

मेलामा ८ ‘पभेलियन’सहित २०० कक्ष रहेका थिए ।

मेलामा विभिन्न जिल्लामा उत्पादित हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका थिए ।

मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायत मुलुकका पनि २० ओटा स्टल राखिएका थिए ।

नेपालको हस्तकला हाल विश्वका अधिकांश मुलुकमा निर्यात हुँदै आएको छ । गत वर्ष साढे पाँच अर्ब बराबरको नेपाली हस्तकलाका उत्पादन निर्यात भएको तथ्यांक छ ।

आन्तरिक बजार र पर्यटकले व्यक्तिगत तवरमा खरिद गरी लगेका सामग्रीको हिसाब गर्दा १२ अर्ब बराबरको कारोबार भएको अध्यक्ष शाक्यले बताए ।

छिमेकी मुलुकहरुले दिएकाजस्ता सुविधामात्रै दिएपनि निकासीमा वृद्धि गर्न सकिने उद्योगी–व्यवसायीले बताएका थिए ।

महासंघले उत्कृष्ट प्रदर्शक, उत्पादक र उत्कृष्ट वस्तु तथा उत्कृष्ट कलाकारलाई पुरस्कृत पनि गरेको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...