सुरुङमार्गमा जग्गा अधिग्रहण हुनसकेन

news

काठमाडौं, मंसिर १७ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी भइरहँदा आवश्यक जग्गा अधिग्रहण हुनसकेको छैन ।

निर्माणाधीन सुरुङमार्गको धादिङतर्फको जग्गामा व्यक्तिको स्वामित्वपत्र नहुँदा अधिग्रहण गर्न नसकिएको हो ।

धादिङको धुनिबेंसी नगरपालिकामा झन्डै २५ रोपनी जग्गा अधिग्रहण गर्न समस्या रहेको सडक विभाग, विकास समन्वय कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।

उनकाअनुसार सुरुङमार्ग निर्माणस्थलमा जग्गाको पुर्जा भएका व्यक्ति मुआब्जा लिइरहेका छन् भने पुर्जा नभएको जग्गामा समस्या देखिएको छ ।

झन्डै २० व्यक्तिले आफ्नो जग्गा भनी दाबी गरेपनि उनीहरुसँग प्रमाण नभएको उनले बताए ।

उनले भने–‘जग्गाको समस्या कसरी समाधान गर्न सकिन्छ भनेर हामी नियमित छलफलमा छौं ।’

जग्गाको अधिग्रहण गर्न बाँकी रहेकाबाहेक सुरुङमार्ग निर्माणमा अरु किसिमको अवरोध नभएको प्रमुख थापाले बताए ।

निर्माणका लागि तोकिएको अवधि ४२ महिनामा जग्गा खाली गराउनेदेखि निर्माण सम्पन्न भइसक्ने उनको दाबी छ ।

त्यससँगै बलम्बुमा ‘फ्लाई ओभर’ निर्माण गर्नका लागि जग्गा अधिग्रहण गर्न बाँकी रहेको बताइएको छ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको गत ४ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

झन्डै डेढ दशकपहिले कल्पना गरिएको भएपनि आर्थिक व्यवस्थापनलगायतका कारणले सुरुङमार्ग निर्माणको योजना बन्नसकेको थिएन ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले आर्थिक र प्राविधिक सहयोग गर्ने भएसँगै सरकारसँग गत महिना निर्माण सम्झौता भएको थियो ।

गत महिना सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेसनबीच सुरुङमार्ग निर्माणका लागि सम्झौता भएको थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...