कृषि विकास बैंकका ६ कर्मचारीसहित ८ जनाविरुद्ध १९ करोडको मुद्दा दायर

news

काठमाडौं, पुस २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकका ६ जना कर्मचारीसहित ८ जनाविरुद्ध १९ करोड रुपैयाँ बढीको मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

कृषि विकास बैंक न्यूरोड शाखाका तत्कालीन प्रबन्धक प्रेमहरि ढुङ्गेल, बैंकको सोही शाखाकी टेलर सहायक दिपीका रेग्मी, ऋण शाखा प्रमुख गोपाल गिरी, ऋण शाखा प्रमुख महेश्वर मरहट्टा, तत्कालीन ऋण अधिकृत सलिल रेग्मी, बैंककै कर्मचारी तारानाथ पाण्डेविरुद्ध मुद्दा दायर गरिएको छ ।

यस्तै, नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रमेशराज विष्ट र दुर्गा ज्वेलर्सका सन्चालक प्रकाश घतानीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो ।

बैंकमा विभिन्न व्यक्तिहरुको नाममा प्राप्त भएका ‘अकाउन्टपेयी’ चेकहरु सम्बन्धित व्यक्तिहरुको खातामा जम्मा गरिसकेपछि सोही चेकहरुमा भएका विवरण सच्याएर पुनः प्रयोग गरी चार करोड २४ लाख १३ हजार ६११ रुपैयाँ ठगी गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

बैंकको न्यूरोड शाखाकी कर्मचारी दिपीका रेग्मी र तत्कालीन प्रबन्धक प्रेमहरि ढुङ्गेललगायतको सल्लाहमा बैंकको मुख्य शाखा कार्यालय, न्यूरोडबाट अनधिकृत रकम निकाली बैंकलाई हानि–नोक्सानी पुर्‍याएको जिकिर अख्तियारले गरेको छ ।

अख्तियारले दिपीका रेग्मी, प्रेमहरि ढुंगेल र रमेशराज विष्टबाट जनही चार करोड २४ लाख रुपैयाँका दरले असुल गर्न माग गरेको छ ।

यस्तै, गोपाल गिरीबाट दुई करोड ६१ लाख, सलिल रेग्मीबाट एक करोड १० लाख, महेश्वर मरहठाबाट ६७ लाख, दुर्गा ज्वेलर्सका प्रकाश घतानीबाट दुई करोड ६७, तारानाथ पाण्डेबाट चार लाख रुपैयाँ असुल गर्न माग गरिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...