दलाई लामालगायत विशिष्ट ब्यक्ति बास बसेको दुई सय ५० बर्ष पुरानो घर जीर्ण

news

- दीपक घिमिरे /ईमेज

भैरहवा । बुद्धजन्मस्थल लुम्बिनीको खुनगाइमा अवस्थित २ सय ५० वर्ष पुरानो घर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

ऐतिहासिक र प्राचीन कलाका दृष्टिले समेत महत्वपूर्ण मानिएको घरमा तत्कालीन समयमा लुम्बिनी आउने उच्चपदस्थ अधिकारीलाई बस्ने गर्दथे ।

बुद्ध जन्मस्थल लुम्बिनीको दक्षिण गेट खुनगाई चोक । खुनगाई चोकको ५ सय मिटर दक्षिण पुर्वमा एउटा गाँउ । हिन्दु र मुस्लीम समुदाय बसोबास गर्ने उक्त गाँउको बीचमा एउटा पुरानो घर ।

२ सय ५० वर्ष पुरानो उक्त घर देख्दा संग्रहालयजस्तै लाग्छ । तर, संरक्षणको अभावमा घर दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । छानो कतै भत्किएको छ भने कतै झार उम्रिएको छ ।

झण्डै एक बिगाह क्षेत्रफल जग्गाको एक छेउमा रहेको घर सो क्षेत्रमा रहेका घरमध्ये सबैभन्दा पुरानो हो । त्यतिबेला लुम्बिनीको संरक्षण र सम्बद्र्धन त्यहीँका चौधरी बंशले गरेका थिए ।

लुम्बिनीको दर्शन गर्न आउने स्वदेशी र विदेशी उच्चपदस्थ पाहुनाहरु त्यही घरमा आएर बस्ने गर्दथे ।  लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीका अनुसार आफू १२/१३ वर्षको हुँदा दलाई लामा लुम्बिनी भ्रमणमा आएका र त्यतिबेला उनी सोही घरमा बसेको सम्झना छ ।

तत्कालीन समयमा लुम्बिनीको मायादेवी मन्दिर र उक्त घरको निर्माण शैली एकै प्रकारको थियो । आफ्ना जिजु बाजेले आफ्नो घरको आकारअनुसार मायादेवी मन्दिरको जिर्णोद्धार गरिएको नगरप्रमुख चौधरीको भनाइ छ ।

मायादेवी मन्दिरको भवन र चौधरी परिवारको घरको निर्माण शैली एउटै रहेको र पछि अर्कै स्वरुपको बनाइएको अध्येता भोला गुप्ताको भनाइ छ । लुम्बिनी राज्यको संरक्षणमा नआउँदासम्म यसको संरक्षण चौधरी वंशले नै गरेको थियो ।

लुम्बिनी बिकास कोषका पूर्व सुरक्षा प्रमुख रामचन्द्र्र सिंह लुम्बिनीको बिकासका लागि चौधरी परिवार कोशेढुंगा रहेको टिप्पणी गर्छन् । ऐतिहासिक महत्वको उक्त घरको संरक्षणका लागि भने अहिलेसम्म खासै पहल हुन सकेको छैन ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...