उखु कृषकलाई दिइएको भाका सकियो, बक्यौताको आधा पनि पाएनन् किसानले

news

प्रकाश मैनाली (इमेज) 

सर्लाही, माघ ७ । सरकारले चिनी उद्योगलाई उखु किसानको बक्यौता भुक्तानी गर्न दिएको समयसीमा मंगलबार सकिएको छ ।

तर, म्यादभित्र सबै बक्यौता तिर्न नसक्ने भन्दै उद्योगीहरुले उद्योग मन्त्रालयमा लाचारी प्रदर्शन गरेका छन् ।

चिनी उद्योगीहरुले मन्त्रालयसमक्ष किसानलाई क्रमिकरुपमा रकम दिइरहेको तर सबै रकम समयसीमाभित्र दिन नसक्ने जानकारी गराएका हुन् ।

चार वर्षदेखिको उखुको पैसा नपाएका किसानहरुले पुसको पहिलो साता काठमाडौंमा आएर आन्दोलन गरेका थिए ।

किसानहरुले चरणबद्ध आन्दोलन थालेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगी राकेश अग्रवाल र वीरेन्द्र कनोडियालाई मन्त्रालयमा झिकाएर बक्यौता तिर्ने माघ ७ गतेको समयावधि तोकिदिएको थियो ।

दुवै उद्योगीले मन्त्रालयमा गरेको प्रतिबद्धताअनुसार माघ ७ गतेसम्म सबै बक्यौता रकम किसानलाई तिर्नुपर्ने थियो ।

उद्योगीहरुले सरकारलाई गरेको प्रतिबद्धताअनुरुप नै सरकारले उखु किसानलाई ७ माघको ‘डेटलाइन’ दिएपछि खुसी भएर घर फर्किएका किसान आफ्नो पूरा रकम नपाएपछि पुनः निरास बनेका छन् ।

समायावधि सकिन एक दिन बाँकी रहँदासम्म महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख, अन्नपूर्णले तीन करोड ९० लाख र इन्दिरा सुगर मिलले ७४ लाख रुपैयाँ भुक्तानी गरेको विवरण मन्त्रालयमा दिएका छन् ।

अब इन्दिरा र अन्नपूर्णले किसानलाई २१ करोड ३८ लाख तथा महालक्ष्मी सुगर मिलले १० करोड ९० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

उता, उखु उत्पादक महासंघ नेपालका अध्यक्ष कपिलमुनि मैनालीले अन्नपूर्ण र इन्दिराका सञ्चालक राकेश अग्रवालले २१ करोडभन्दा बढी र श्रीराम मिल सञ्चालन गर्ने गोल्छा समूहले २५ देखि २६ करोड रुपैयाँ अझै तिर्न बाँकी रहेको बताउँछन् ।

मैनालीले रकम उठ्ने वातावरण भएन भने किसानहरु पुनः आन्दोलनमा उत्रिने चेतावनी दिन्छन् ।

वर्षौंदेखि नगदेबाली उखुखेती गर्दै आएका किसानले समयमै भुक्तानी नपाउँदा उनीहरुलाई परिवार पाल्नै समस्या हुन थालेको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...