
कञ्चनपुर । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन’ को खतरा बढेकाले कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकामा उच्च सतर्कता अपनाइएको छ ।
दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन’ भारतमा पनि देखिन थालेपछि कञ्चनपुरका सीमानाकाहरुमा सर्तकता अपनाइएको हो । भारतमा ओमिक्रोनको संक्रमण फैलिए सबैभन्दा बढी जोखिममा कञ्चनपुर तथा कैलालीमा पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको छ ।
दक्षिण अफ्रिकासहित अन्य देशहरुमा ओमिक्रोन’ को खतरा बढेसँगै पश्चिमी सीमा नाकबाट भित्रिने सबैको स्वास्थ्य परीक्षण गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयका अनुसार ओमिक्रोन फैलन नदिन सीमानाकामा कोरोना परीक्षण गर्ने र नाकामै खोप लगाउने व्यवस्था गरिएको छ ।
उता, नाकामा गरिएको स्वास्थ्य परीक्षणमा तिहारसम्म संक्रमितको संख्या न्यून देखिएपनि पछिल्लो समय भने बढ्न थालेको छ । भारतबाट आउने नागरिकहरुमा देखिएको संक्रमण कोरोनाको पुरानै संक्रमण हो अथवा ओमिक्रोन’ हो भन्ने परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताले काठमाण्डौ पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो । तर महाकाली अस्पतालले भने आफूहरुलाई त्यस्तो खालको कुनै निर्देशन नआएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्