विराटनगरमा ‘महाभोज’ मन्चनको तयारी

news

काठमाडौं । प्रदेश सरकार, प्रदेश नं १ को सहयोगमा र स्थानीय आरोहण गुरुकुल अनि लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा चर्चित नाटक ‘महाभोज’ विराटनगरमा मन्चन गरिनेभएको छ ।

मण्डला थिएटर नेपालले महाभोजलाई आगामी २०७६ माघ २२ र २३ गते  बिराटनगरमा मञ्चन गर्न लागेको हो ।

भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालय (नेशनल स्कुल अफ ड्रामा) द्वारा हरेक वर्ष आयोजना गरिने एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय नाट्य महोत्सव ‘भारत रंग महोत्सव २०२०’ मा जानुपूर्व नाटक महाभोजलाई बिराटनगरमा मञ्चन गरिने भएको हो ।

प्रसिद्ध भारतीय लेखिका मन्नु भण्डारीद्वारा लिखित नाटक महाभोज पछिल्लो समयको अत्यन्तै चर्चित र प्रशंसित नेपाली नाटक हो ।

अनुप बराल निर्देशति नाटक महाभोजमा रमेश बुढाथोकी, शेखर चापागाइँ, दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, बिजय बराल, विप्लव प्रतीक लगायतको अभिनय रहेको छ ।

के छ नाटकमा ?

लगभग ४० वर्ष अगाडि लेखिएको ‘महाभोज’लाई तीन ‘पी’मायत्नपूर्वक बुनिएको छ – प्रेस, पोलिटिक्स र पुलिस । राजनीति, प्रहरी र आमसञ्चार कसरी एकअर्कासँग जोडिएका छन् र त्यसको चक्रब्यूहभित्रजनता कसरी कैद छन् भन्ने कुरा हिन्दूस्तानी साहित्यकार मन्नु भण्डारीले बडो कुशलतापूर्वक यस कथानकमा प्रस्तुत गरेकी छिन् ।

कुनै अमुक गाउँमा घटेको हिंसात्मक घटनाको फिलिङ्गो सल्किदै शहर पुग्छ, अखवारको सम्पर्कमा आउँछ र राँकिएर त्यसले राजनीतिको केन्द्र र प्रहरीलाई तताउँछ । सल्किएको घटनाको आगो कसरी निभ्छ ? निभ्छ वाप्रश्नको पुतपुतिएको कोइला बन्छ ?त्यसको जवाफ नाटकमै भेटिने छ । 

महाभोज मूलतःउपन्यास हो । मन्नु भण्डारीले आफैंले लेखेको उपन्यासलाई नाटकको रुपमा पुर्नलेखन गरेकी हुन् । यसको पहिलो प्रदर्शन भारतको राष्ट्रिय नाट्य विद्यालयमा सन् १९८२ मागरिएको थियो । त्यसयता भारतमै विभिन्न समुहद्वारा यो नाटकको मञ्चन गरिसकिएको छ ।

मण्डला नाटक समूहको निर्माणमा यो नाटकलाई नेपालीभाषामा उल्था गरी काठमाडौंस्थित मण्डला नाटकघरमा मञ्चन गरिसकिएको छ । चर्चित रंगकर्मी अनुप बरालको निर्देशनमा मञ्चन गरिएको नाटकलाई चर्चित कवि विप्लव प्रतीकले अनुवाद गरेका हुन् । यो नाटकको उत्पादन तथा मञ्चन यसै वर्षको भदौ र असोजमा गरिएको थियो ।

बिराटनगरका पुराना तथा चर्चित रंगकर्मीहरु रमेश बुढाथोकी, शेखर चापागाईंलगायत २७ जना अन्य कलाकारहरुले यस नाटकमा अभिनय गरेका छन् । प्रदेश नंं. १ को विभिन्न स्थानबाट काठमाडौं आएर कलाकर्म गरीरहेका अधिकांश कलाकारहरु यस नाटकमा देख्न पाइन्छन् ।

जसमध्ये चर्चित अभिनेता दयाहाङ राई भोजपुरबाट आएका हुन भने सृजना सुब्बा उर्लाबारी, मोरङ स्थायी घर भएकी कलाकार हुन् । बिराटनगरबाटै आफ्नो कलायात्रा शुरु गरेकी सुष्मा निरौला यस नाटकमा वरिष्ठ कलाकार रमेश बुढाथोकीको विपरित भूमिकामा देखिदैछिन् । नाटकका अर्का प्रमुख कलाकार र नाटकका संयोजक एवं सहायक निर्देशक सोमनाथ खनाल पनि मोरङ बेलबारीबाट आएका हुन् ।

नाटकका अन्य कलाकारहरुमा विप्लव प्रतीक, राजन खतिवडा, बुद्धि तामाङ, बिजय बराल, उमेश तामाङ, बिकास जोशी, आर्जेश रेग्मी, चक्र विष्ट, देविन चौधरी, घनश्याम जोशी, कविराज राई, मिलन कार्की,  प्रदीपकुमार चौधरी, प्रमिला खनाल, राज न्यौपाने, रन्जना ओली, रिजन परियार, सविन घलान, सागर  दाहाल, सन्दीप श्रेष्ठ, सपना चौधरी लगायत छन्  ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...