व्यक्ति हत्याबाट निःसृत माओवादी वैभव, नेतृत्वको स्खलन र विप्लवको दुःस्वप्न

news

राजन कुईंकेल 

२०५२–०६२ को दशक । हिंसालाई आधार मानेर सत्तामा पुग्ने एक मात्र लक्ष्य तय गरेका प्रचण्ड–बाबुराम समूहले आफूलाई माओवादी कम्युनिष्ट नामाकरण गरे । रोल्पा, रुकुम, गोर्खा, सिन्धुली लगायत जिल्लाका दूरदराजमा सल्काइएको हिंसाको झिल्को देशैभर डढेलोको रुपमा फैलियो । समस्या आफ्नै घाँटीमा नआइपुग्दासम्म काठमाडौंको सत्तालाई तातो लागेन । माओवादीले चर्काएको व्यक्तिहत्या र त्यसको नियन्त्रण नामको सरकारी प्रतिहिंसाले समाजलाई चकनाचूर बनायो । 

हत्याका निर्मम दृष्य श्रृंखलाहरुले मुलुकको अस्तित्वमाथि नै प्रश्न उठायो । आफ्नै दाजुभाईको हत्या गरेर शक्तिमा पुग्ने लालसामा धृतराष्ट्र बनेको माओवादी नेतृत्वका कारण एक दशकमा १७ हजारभन्दा बढी नेपाली मारिए । प्रत्यक्ष द्वन्द्वमा संलग्न नरहेका हजारौं दाजुभाई दिदीबहिनी सुराकी र दुश्मनलाई सघाएका नाममा काटिए । रेटिए । बलात्कृत गरिए । माओवादीको उदण्ड रोक्न भन्दै गाउँ गाउँ खटाइएका सुरक्षाकर्मीबाट भएका अत्याचार पनि कम थिएन । 

हजारौं नागरिक वेपत्ता बनाइए । दुबै पक्षबाट भिडन्तका नाममा कतिलाई गोली हानेर र त कतिलाई चरम यातना दिएर हत्या गरियो । हजारौंहजार सर्वसाधारणलाई आफ्नो थातथलोबाट उठिबास लगाइयो । सम्पत्ति कब्जा गरिए । सेना प्रहरीमा छोराछोरी जागीरे भएकै नाममा वृद्ध बाबुआमाहरुलाई रेटीरेटी हत्या गरिए । सुराकीको तथ्यहीन आरोपमा मनलाग्दी हत्या श्रृंखला मच्चाइए । बारुदी सुरुङ, बम विष्फोट, आगजनीमा कयौं निर्दोष मारिए । माओवादीलाई खाना खान र बस्न दिएको आरोपमा सेना प्रहरीले आम सर्वसाधारणमाथि गरेको धरपकड र यातना पनि कम्ति थिएन । 

भ्रष्टाचारले थिलथिलो बन्दै गरेको सिंहदरबारको सत्ता सरकार बनाउने र लडाउने दूर्गन्धित खेलमा लिप्त थियो । प्राडो पजेरो, सुत्केरी औषधि, सुरा सुन्दरी, सांसद किनबेचको विकृतिले संसदीय राजनीति पतनको भासमा जाकिँदो थियो । सिंहदरबार सत्ताको लहरो चुँडाल्न माओवादीले गाउँ गाउँमा जनसरकार घोषणा गर्दै थियो । कथित जनसरकारको उर्दीका नाममा निरापराध सर्वसाधारणको सम्पत्ति कब्जा, फरक विचार राख्नेलाई गाउँ निकालादेखि हत्यासम्मका श्रृंखला चलाइए । 

माओवादीको हिंसा अग्निमा सबैभन्दा बढी निर्दोष नागरिक पारिए । वैचारिक रुपमा नेपाली कांग्रेस, त्यसपछि एमाले, राप्रपाका समर्थकहरु प्रताडित बनाइए । माओवादीविरुद्ध त सरकार नै उत्रिएको थियो । उनीहरुमाथि सरकारी दमन उत्तिकै थियो । गाउँ गाउँका शिक्षित वर्ग भनिएका शिक्षकहरु दुबै पक्षको तारो थिए । माओवादी चरमपन्थमा आत्मसमर्पण गर्न नचाहनेहरुलाई मुक्तिनाथ अधिकारी जसरी हत्या गरिन्थ्यो । सुरक्षाकर्मीबाट गरिएका चरम मानवअधिकार उल्लंघनको उदाहरण मैना सुनुवारदेखि भैरवनाथ गणकाण्ड साक्षीका रुपमा छ । सूचना दिने कलमजिवीसमेत माओवादी र सत्ताको नाममा मारिए । 

नेताहरु भारतको दिल्ली र नोयडाका गल्लीमा बसेर गरीबी र बेरोजगारीको भट्टीमा पिल्सिएका युवाको हात हातमा बन्दुक थमाइरहेका थिए । राज्यसत्ता सर्लक्कै पल्टने र सबैका अघिल्तिर साम्यवादी स्वर्गको सपना देखाइएको थियो । पढ्ने उमेरका किशोर किशोरीहरु पढाई छाड्न बाध्य थिए । घर घरबाट आफ्ना छोराछोरीलाई कथित जनयुद्धमा पठाउनुपर्ने उर्दी थियो । नपठाए दुश्मनको मतियार भएको आरोप र बिल्ला भिर्दै माओवादी जल्लादहरुको हातबाट मर्न तयार हुनुपर्दथ्यो । हिंसा–प्रतिहिंसाको यो भट्टीमा भ्रष्ट र बेइमानहरु माओवादीलाई कुस्त चन्दा वा पैसा दिएर जोगिन्थे । मारिनेमा तिनका विचारसँग विमती राख्नेहरु, तिनले भनेजस्तो पैसा दिन नसक्नेहरु पर्दथे । गाउँका कांग्रेस–एमालेका कार्यकर्ता विचार राखेकै कारण मारिँदा केन्द्रमा भ्रष्टाचारमा लिप्त भएकाहरुसँग पैसा लिएर सौदा गरिन्थ्यो । 

प्रत्यक्ष भिडन्तमा सामेल भएका सयौं सयौंको शव र रगतले भीरपाखा, डाँडाकाँडा रंगिए । संसारका अघिल्तिर हामी आफ्नै बन्धु हत्या गरेर शक्ति हत्याउने नर पिपासुका रुपमा चिनिन थाल्यौं । विदेशीले यही बेला खेल्न थाले । सरकार र माओवादी दुबैलाई उक्साउने काम भए । तालिम, हतियारदेखि सेल्टरसम्म प्रदान गर्न उनीहरु तम्सिए । 

समयले कोल्टे त्यतिबेला फेर्न थाल्यो । सिंहदरबारको सत्ताको साँचो राजा वीरेन्द्रको पारिवारीक विनाशपछी ज्ञानेन्द्रको हातमा पुग्यो । नयाँ राजा बनेर आएका ज्ञानेन्द्रको सत्ताकांक्षाले संसदीय फाँटका दलहरु किनारामा पारिए । माओवादी स्वयं पनि हिंसाको दलदलमा फस्दै थियो । त्यस आहालबाट बाहिरिन खोज्ने माओवादी र सत्ताविमुख संसदवादी सात दलको हात मिलाउन देशी विदेशी शक्ति केन्द्रहरु जुटे । मुलुक एउटा कहालीलाग्दो कालरात्रिबाट शान्तिको बाटोमा आउने भरोसा पलायो । सात दल र माओवादीले दिल्ली सम्झौता गरे । राजतन्त्र फालियो । संविधानसभाको निर्वाचनको बाटो हुँदै मुलुक गणतन्त्रको बाटोमा यात्रारत छ । 

जुन विचारको खोल ओढेर पुष्पकमल दाहाल प्रचण्ड–बाबुराम भट्टराईले दशौं हजारको रगतमा होली खेले । लाखौंलाख मानिसले अनाहकमा पीडा खेप्न पर्यो । आज त्यही माओवादी नामको पार्टीको अस्तित्व प्रचण्ड बाबुरामले विलिन पारिदिए । बाबुरामले माओवादी विचार नै गलत रहेछ भन्दै आफू कम्युनिष्ट नरहेको घोषणा गरे । नयाँशक्ति हुँदै उनी उपेन्द्र यादवको संघीय समाजवादीको झण्डा समाउन पुगेका छन् । प्रचण्डले माओवादी पार्टीलाई एमालेमा विर्सजन गराइदिए । उनी अहिले एमालेका विचारक मदन भण्डारीको वैचारिक मार्गका सारथि बनेका छन् । एमालेमार्गमै पुग्नुथियो भने दशौं हजार नागरिकको रगतको होली किन खेलियो ? प्रश्नहरु स्वाभाविक छन् ।

हिजो संसदीय विकृतीलाई अनेकानेक कारण देखाउनेहरु आज कुन गर्तमा जाकिएका छन् ? ६० को दशकको भन्दा विकृत खेलमा दलहरु फसिरहेका छन् । हिजो भ्रष्टाचार गर्दा कम्तिमा लाज मान्थे । जनताले देख्लान् भन्ने हुन्थ्यो । आज खुलेआम भ्रष्टाचार भइरहेको छ । लाख र करोडमा होइन अरबमा भ्रष्टाचार भइरहेको छ । नीतिगत भ्रष्टाचारले जनताको पसिनाबाट संकलित करको धज्जी उडाइएको छ । नेताहरु दलाल, विचौलिया, ठेकेदार, भ्रष्टहरुबाट घेरिएका छन् । राज्यका सम्पत्तिहरु आफूनिकटका व्यापारी/व्यवसायी पोस्नका लागि प्रयोग गरिएको छ । सत्तामा रहेका नेताका छोराछोरी र तिनका आसेपासेले गरेको शक्तिको दुरुपयोग र हर्कत नांगो बन्दै छरपष्ट छन् । 

भ्रष्टाचार र शक्ति दुरुपयोगका दृष्टिले इतिहासमै यो कालखण्ड सबैभन्दा कलंकित बन्दैछ । हिंसाको जगबाट आर्जन गरिएको शक्ति सीमित नेताको सत्ताकांक्षा पूरा गर्ने लिस्नो मात्र बन्यो । आज पनि दशक लामो हिंसामा दुबै पक्षबाट प्रताडित बनेका नागरिक न्यायका लागि भौतारिएका छन् । पीडितले न्याय पाउने कुनै विश्वास छैन । पीडक पीडकले घाँटी जोडेका छन् । चरम मानवअधिकार उल्लंघन र ज्यादती गरेका र व्यक्तिहत्याका दोषीहरु फटाफट राज्य सञ्चालनको निर्णायक तहमा लगिएका छन् । न्याय, कानुन, विधि र विधान नसक्ने रैतीका लागि मात्र बनाइएको प्रतीत हुन थालेको छ । 

यही मौकामा माओवादी हिंसाकै अर्का उपज नेत्रविक्रम चन्द विप्लव हिंसाको राजनीतिक निरन्तरतामा जुटेका छन् । हिंसाको सहारामा शक्ति आर्जन गर्ने उनको ध्येय आफ्नै गुरु प्रचण्ड मार्ग कै निरन्तरता देखिन्छ । एकातिर ०५२–०६२ को दशकमा मच्चाइएको माओवादी ताण्डवबाट मुलुकले अझै त्राण पाइसकेको छैन । फेरि विप्लव त्यही व्यक्ति हत्या र हिंसालाई सत्ताप्राप्तिको भर्‍याङ बनाउन चाहन्छन् ।

उनले उठाएका कतिपय विषयहरु जायज होलान् । भ्रष्टाचार र सत्ताको विकृति खपिनसक्नु भएको छ । तर त्यसको समाधान हिंसा हुन सक्दैन । सिंहदरवारदेखि गाउँ तहसम्म फैलिएको विकृतिको लहरोलाई देखाएर हिंसालाई जायज मान्न सकिन्न । जसरी उनका कार्यकर्ता चन्दा आतंक सृजना गर्न थालेका छन् । विकासका संरचनामाथि गरिएका विध्वंस होस् वा विभिन्न बहानामा गरिएका बम विष्फोटको आतंक, कुनै हालतमा पनि जायज ठहरिन्न । फरक विचारवाला माथि प्रहार गर्ने शैली पुरानै माओवादीको भन्दा भिन्न छैन । यसले नेत्रविक्रमको नेत्रचेत दशक लामो माओवादी हिंसाकालभन्दा फरक नभएको पुष्टी हुन्छ । त्यसैले अहिले यत्ति भन्न सकिन्छ, विनाशको बाटोमा नहिंडून् विप्लव !

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...