
दाङ, पुष १४ । कोरोना भाइरको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न दाङमा पूर्व तयारी थालिएको छ ।
रुपैडिया, कृष्णनगर तथा कोइलाबास नाका हुँदै दाङ आउनेहरुको संख्या बढी हुने गरेकाले पनि दाङमा संक्रमणको जोखिम रहेको छ । हाल जिल्लामा विभिन्न नाकाबाट नेपाल आउनेको विवरण राखेर एन्टिजेन परीक्षण गर्न गरिएको छ ।
नाकामा निरीक्षण गर्ने स्वास्थ्य र सुरक्षाको टोलीहरूलाई सर्तक रहन निर्देशन दिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभएको छ ।
त्यस्तै जिल्लामा स्थल मार्ग भन्दा पनि तेस्रो मुलुकबाट आउने व्यक्तिलाई पनि निगरानीमा राखेको उहाँले जानकारी दिनुभएको छ । यता, जिल्लामा ६२ प्रतिशत भन्दा बढी नागरिकलाई पहिलो डोज खोप लगाइ सकिएको र ४० प्रतिशतलाई दोस्रो डोज खोप लगाएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभएको छ ।
हाल जिल्लामा बालबालिकालाई पनि खोप लगाउने काम भइरहेको छ । जिल्लामा हालसम्म ९ हजार ३३१ जनालाई कोरोना संक्रमण भएको छ । तीमध्ये २ सय १८ जनाले ज्यान गुमाएका छन् । पहिलो चरणको कोरोना महामारी भन्दा दोस्रो चरणमा जिल्लामा धेरैले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्