मुद्दा लगाउनुपर्ने कुनै काम गरेको छैन, ‘फिस’ तिरेर मुद्दा लड्नसक्ने मेरो अवस्था छैन : जोशी

news

काठमाडौं, माघ २४ । पूर्वमन्त्री चन्द्रदेव जोशीले आफूविरुद्ध मुद्दा लगाउनुपर्ने कुनैपनि किसिमको काम आफूले नगरेको दाबी गरेका छन् ।

काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणबारेको कुरा आफूलाई थाहा नभएको उनले बताएका हुन् ।

‘किन मुद्दा लगाइयो, थाहा छैन । मैले मुद्दा लगाउनुपर्ने कुनैपनि काम गरेको छैन’–जोशीले बिहीबार इमेज समाचारसित भने–‘म ललिता निवासकान्डको महाभारतबाट परिचित छैन । यसका पात्रहरुसँग पनि म परिचित छैन । कहिलेदेखि भएको हो भन्ने त्यो पनि थाहा छैन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा उनीसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गएको बुधबार मुद्दा दायर गरिएको हो ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्मा जोशी भूमिसुधारमन्त्री थिए । सोही समयमा भएको भनिएको निर्णयविरुद्ध अख्तियारले उनीमाथि मुद्दा चलाएको हो । उनी तत्कालीन नेकपा संयुक्तको तर्फबाट मन्त्री बनेका थिए ।

तर, जोशीले भने आफू त्यस्तै कुनै कार्यमा संलग्न नभएको जिकिर गरेका छन् । उनले आफूबाट गलत निर्णय नभएकोसमेत दाबी गरे ।

आफूले मन्त्रालय सम्हाल्दासम्म गलत निर्णय नभएको उनको भनाइ छ ।

उनले वकिलहरुको खर्च तिरेर मुद्दा लड्ने आफ्नो अवस्था नभएको पनि सुनाए ।

‘ठूल्ठूला वकिलहरु राखेर, वकिलहरुको फिस तिरेर मुद्दा लड्नसक्ने मेरो अवस्था छैन । यदि, तपाइँले एक करोड, दुई करोड धितो राख्नुपर्‍यो भन्यो भने मैले त्यो धितो राख्नसक्ने मेरो अवस्था छैन’–उनले भने ।

विस्तृत भिडियोमा हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...